तनहुँमा तीन जनाको बीभत्स हत्या : सुरक्षागार्डको पहिचान खुल्यो, अपराधी राजमार्गबाट भागेको आशङ्का
सारांश
- तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको शव फेला परेको छ।
- शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको छ, तर घटनाको कारण अज्ञात छ।
- प्रहरीले मृतकको पहिचानका लागि अनुसन्धान गरिरहेको छ, र घटनामा संलग्नहरूको खोजी जारी छ।
कास्की । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा शनिबार बिहान तीन जनाको शव फेला परेको घटना अझै रहस्यमय बनेको छ ।
शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरिएको देखिए पनि घटनामा संलग्न र कारणबारे प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले प्रविधि र तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको छ ।
शनिबार बिहान फेला परेका तीन शवमध्ये एक जनाको सनाखत भएको छ । मृतकमध्ये शुक्लागण्डकी–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विकको पहिचान खुलेको हो । उनी सोही प्रशोधन केन्द्रमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । घटनास्थलमा फेला परेका अन्य एक पुरुष र एक महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । उनीहरू फोहोर सङ्कलन गरेर गुजारा चलाउँदै आएको बुझिएको छ ।
घटनास्थलको प्रकृति अत्यन्तै बीभत्स देखिएको छ । दुई जना पुरुषको पेटमा धारिलो हतियार प्रहार गरी चिरिएको अवस्थामा शव भेटिएको थियो । तीमध्ये एक जना टेन्टभित्र र अर्को बाहिर मृत फेला परेका थिए ।
महिलाको शव भने पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७ सय मिटर तल खोलामा फेला परेको थियो । उनको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा हत्यामा प्रयोग भएको हतियार फेला नपरेकाले अनुसन्धान थप जटिल बनेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार प्रहरीको सम्पूर्ण संयन्त्र घटनाको अनुसन्धानमा केन्द्रित छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो । कुकुर शव भएको स्थानबाट फोहोर प्रशोधन केन्द्र, क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्म पुगेर अलमलिएको थियो । यसका आधारमा हत्यामा संलग्नहरू घटनापछि राजमार्गबाट गाडी चढेर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले शवको पोस्टमार्टम र फरेन्सिक जाँचका लागि पठाएको छ । मृतकहरूको पूर्ण पहिचान नहुँदा अनुसन्धानमा कठिनाइ भइरहेको डीएसपी विकले बताए । उनले कोही आफन्त वा चिनजानका व्यक्ति हराएको भए वा सम्पर्कविहीन भएको सूचना प्रहरीलाई दिन आग्रह गरेका छन् । घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान जारी राखेको बताए पनि ठोस सुराक भने हात लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण