को हुन् रजा पहलवी ? जसले इरानीहरूलाई ‘सहर कब्जा गर्न’ उक्साउँदै छन्
सारांश
- इरानका पूर्व युवराजले सहरका मुख्य केन्द्रहरू कब्जा गर्न इरानी जनतालाई आह्वान गरेका छन्।
- इरानी सरकारले पहलवीको आह्वानलाई सशस्त्र आतंकवादी आक्रमणको संज्ञा दिएको छ र उनको आलोचना गरेको छ।
- पहलवीले ४० वर्षभन्दा बढी समयपछि सविनय अवज्ञाको वकालत छोडेर कठोर कदम चालेका छन्।
दशकौँसम्म रजा पहलवी निर्वासनमा रहेको इरानी विपक्षी समूहको एक भद्र अनुहारका रूपमा चिनिन्थे । पूर्वलडाकु पाइलट समेत रहेका उनले अमेरिकामा बसेर अहिंसात्मक प्रतिरोध र धर्मनिरपेक्ष लोकतन्त्रको वकालत गर्दै आएका थिए ।
तर, मयूर सिंहासनका ६५ वर्षीय उत्तराधिकारी तथा इरानका अन्तिम शाहका छोराको बोली र शैली यो सप्ताहन्तमा नाटकीय रूपमा परिवर्तन भएको छ । इरानी सरकारलाई ठाडो चुनौती दिँदै पहलवीले इरानी जनतालाई ‘सहरका मुख्य केन्द्रहरू कब्जा गर्न’ र आफ्नो आसन फिर्तीका लागि तयार रहन आह्वान गरेका छन् ।
यसलाई इरानी सरकारी सञ्चारमाध्यमले देशभर ‘सशस्त्र आतंकवादी आक्रमण’ भइरहेको संज्ञा दिएका छन् । आफ्नो ‘एक्स’ खातामा जारी गरेको विज्ञप्तिमा पहलवीले भनेका छन्, “हाम्रो उद्देश्य अब केवल सडकमा आउनु मात्र होइन । हाम्रो लक्ष्य सहरका मुख्य केन्द्रहरू कब्जा गरेर त्यसलाई नियन्त्रणमा लिनु हो ।”
उत्तराधिकारीदेखि निर्वासनसम्म
पहलवीको जन्म ३१ अक्टोबर १९६० मा तेहरानमा भएको थियो । त्यसको सात वर्षअघि मात्र अमेरिका र बेलायतले इरानका तत्कालीन निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेगविरुद्ध ‘कू’ (सत्तापलट) गराएका थिए । मोसादेगले सन् १९५१ मा एंग्लो-पर्सियन आयल कम्पनी (हालको बीपी आयल कम्पनी) को सम्पत्ति राष्ट्रियकरण गरेका थिए ।
सात वर्षको उमेरमा पहलवीलाई आधिकारिक रूपमा युवराज घोषणा गरिएको थियो । सन् १९७९ को क्रान्तिले क्षेत्रीय राजनीति उथलपुथल नबनाउँदासम्म उनको भविष्यको बाटो गद्दीतर्फ नै सोझिएको देखिन्थ्यो ।
१७ वर्षको उमेरमा उनी लडाकु विमानको तालिम लिन अमेरिकाको टेक्सासस्थित रिस एयर फोर्स बेस पुगे । उनी देशबाहिर रहँदा नै दमनकारी राजतन्त्र ढल्यो र वर्तमान राजनीतिक प्रणाली स्थापना भयो, जसले उनको स्वदेश फिर्तीमा रोक लगायो ।
पहलवीले आफ्नो तालिम पूरा गरे र पछि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाबाट राजनीति शास्त्रमा डिग्री हासिल गरे । सन् १९८० को दशकमा इरान–इराक युद्धका बेला उनले आफ्नो देशका लागि लडाकु पाइलटका रूपमा सेवा गर्ने प्रस्ताव राखेका थिए, तर तेहरानका अधिकारीहरूले त्यसलाई अस्वीकार गरिदिए ।
त्यसयता उनी पत्नी यास्मिन पहलवी र तीन छोरीहरूसँग अमेरिकामै निर्वासित जीवन बिताइरहेका छन् ।
‘फर्किने तयारी’
४० वर्षभन्दा बढी समयसम्म पहलवीले जनमत सङ्ग्रह र अहिंसात्मक परिवर्तनको वकालत गरे । तर, पछिल्ला दिनहरूमा उनको अभिव्यक्ति निकै आक्रामक बनेको छ ।
इरानका अन्तिम शाहका छोराले सविनय अवज्ञाको वकालत छोडेर अब सहरका मुख्य केन्द्रहरू कब्जा गर्न आह्वान गर्न थालेका छन्, जसका कारण इरान सरकारले उनीमाथि ‘आतंकवाद’ को आरोप लगाएको छ ।
शनिबार उनले यातायात, तेल र ग्यासजस्ता प्रमुख क्षेत्रका कर्मचारीहरूलाई राज्यको ‘आर्थिक लाइफलाइन काट्न’ देशव्यापी हडताल गर्न आग्रह गरे । उनले विशेष गरी ‘इम्मोर्टल गार्ड’ (पहिलेको शाही सेना) का युवाहरू र सुरक्षाकर्मीहरूलाई पक्ष परिवर्तन गर्न आह्वान गरे ।
“म पनि मातृभूमि फर्कने तयारी गर्दै छु, ताकि हाम्रो राष्ट्रिय क्रान्तिको विजयका बेला म तपाईंहरूसँगै हुन सकूँ,” उनले भने ।
वर्षौँपछि देखिएको सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शनको खबर आइरहँदा उनको यो आह्वान आएको हो । पहलवीले समर्थकहरूलाई १९७९ अघिको आफ्नो बुबाको शासनको प्रतीक मानिने ‘सिंह र सूर्य’ अंकित झण्डा फहराउन र साँझ ६ बजेदेखि सार्वजनिक स्थलहरू कब्जा गर्न आग्रह गरेका छन् ।
‘आतंकवादी’ को आरोप
तेहरानको प्रतिक्रिया निकै आक्रोशपूर्ण रहेको छ । आइतबार राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले प्रदर्शनलाई ‘असुरक्षाको नयाँ चरण’ र ‘आन्तरिक सशस्त्र युद्ध’ को संज्ञा दिए । तस्निम समाचार एजेन्सीले उद्धृत गरेको कन्जरभेटिभ पत्रिका ‘वतन–ए इम्रोज’ को रिपोर्टमा पहलवीको आह्वानलाई प्रहरी र बसिज फौजमाथि आक्रमण गर्न ‘आतंकवादी समूह’ लाई दिइएको कभर (बहाना) भनिएको छ ।
“भ्रममा नपर्नुहोस्; यो केवल दंगा होइन... यी सशस्त्र आतंकवादी हमलाहरू थिए,” रिपोर्टमा भनिएको छ । रिपोर्टमा दर्जनौँ सुरक्षाकर्मी मारिएको दाबी गरिएको छ ।
अधिकारीहरूले पहलवीको यो आक्रामकतालाई विदेशी हस्तक्षेपसँग जोडेका छन् । उनीहरूले विशेष गरी अमेरिका र इजरायललाई दोष दिँदै गत वर्ष मे महिनामा इजरायल र इरानबीचको १२ दिने युद्ध समाप्त भएपछि, हालको अशान्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ‘प्लान बी’ भएको दाबी गरेका छन् ।
‘विपक्ष विरुद्धको विपक्ष ?’
सडकमा पहलवीको लोकप्रियता बढे पनि विभाजित इरानी विपक्षी खेमाभित्रै उनको तीव्र आलोचना भइरहेको छ ।
इरान मामिला विज्ञ अलिरेजा नादेरले हालैको एक लेखमा पहलवीका राजनीतिक गतिविधिहरू विभाजनकारी बन्दै गएको तर्क गरे । आलोचकहरूका अनुसार पहलवीको समूहले नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी जस्ता अन्य प्रमुख असन्तुष्टहरूलाई ‘वामपन्थी’ वा ‘आतंकवादी’ भन्दै आक्रमण गर्ने गरेका छन् ।
“पहलवीले आफ्ना सल्लाहकारहरूबारे अरूको असन्तुष्टिका बाबजुद उनीहरूलाई नै च्यापेका छन्,” नादेरले लेखेका छन् । उनले प्रश्न गरेका छन्– के राजकुमार ‘विपक्ष विरुद्धको विपक्ष’ बनेका हुन् ?
यसमा चलखेलको चिन्ता पनि व्यक्त गरिएको छ । इरानी सरकारसँग जोडिएका साइबर–सेनाहरूले नै विपक्षीहरूबिच फुट ल्याउन पहलवीको अनलाइन समर्थन बढाइदिएको हुन सक्ने नादेरको तर्क छ । उनले “कसले कसलाई प्रयोग गरिरहेको छ” भन्ने प्रश्न उठाएका छन् ।
यी आन्तरिक विवादका बाबजुद, हालको अशान्तिको लहरमा पहलवी सबैभन्दा दृश्यात्मक नेतृत्वकर्ता बनेका छन् । ट्रम्प प्रशासनले ‘आफ्नो नेता छान्ने अधिकार इरानीहरूकै हो’ भन्दै हस्तक्षेप नगर्ने नीति लिएको र तेहरानका सडकहरू जलिरहेको अवस्थामा, निर्वासित राजकुमारले ४७ वर्षअघि गुमेको सिंहासन प्राप्त गर्न आफ्नो अन्तिम बाजी लगाइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण