मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुर अस्पतालमा बिरामीको चाप उच्च

मङ्गलबार, २९ पुस २०८२, १३ : ४९
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको संख्याले नयाँ रेकर्ड कायम गरेको छ, जसमा एकै दिन ३,११९ बिरामीले ओपीडी सेवा लिए।
  • अस्पतालका अनुसार, स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु परिवर्तन र बीमा अवधि सकिनुले बिरामीको संख्या बढेको हो।
  • अस्पतालका अनुसार, व्यवस्थापन राम्रो हुनु र बीमा बन्द हुने हल्लाले गर्दा बिरामीको चाप बढेको हो।

चितवन । गर्मी महिनामा बिरामीको चाप बढी हुने चितवनको भरतपुर अस्पतालमा यस पटक जाडो महिनामा पनि बिरामीको सङ्ख्याले रेकर्ड कायम गरेको छ। अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन्। जाडो महिनामा बिरामीको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको अस्पतालले जनाएको छ।

कुल बिरामीमध्ये दुई हजार ४७७ जना स्वास्थ्य बीमाका रहेका छन् भने ६४२ जनाले नगदमा सेवा लिएका हुन्। अस्पतालको सेवा लिनेमा ७५ प्रतिशत बिरामी स्वास्थ्य बीमाका रहेका छन्। यसअघि २०८० असोज ४ गते तीन हजार दुई जनाले सेवा लिएको तथ्याङ्क नै सबैभन्दा उच्च थियो। गत वर्ष पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए भने त्यसको अघिल्लो वर्ष सोही दिन यो सङ्ख्या दुई हजार ३५७ रहेको थियो।

एकाएक बिरामीको चाप बढ्नुमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु परिवर्तन हुनसक्ने आशङ्का, पुस महिनामा धेरैको बीमा अवधि सकिनु र काठमाडौँका कतिपय अस्पतालले बीमा सेवा बन्द गरेको हल्लाले प्रभाव पारेको अस्पतालका स्वास्थ्य बीमा इन्चार्ज लिलाधर पौडेलले बताए। त्यस्तै विद्यालयहरूमा हिउँदे बिदा हुनुले पनि बिरामीको सङ्ख्या बढाएको हुनसक्ने उनको भनाइ छ। भरतपुर अस्पताल स्वास्थ्य बीमाका लागि देशकै उत्कृष्ट अस्पतालमध्येमा पर्दछ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले उच्चतम व्यवस्थापनका कारण बिरामीको विश्वास बढेको र त्यसैले चाप पनि उच्च भएको बताए। उनले बीमा बन्द हुने हल्लाले गर्दा पनि धेरै मानिस जाँचका लागि आएको हुनसक्ने उल्लेख गरे। भरतपुर अस्पतालमा एक वर्षमा झण्डै साढे चार लाख पटक बीमा सेवा लिने बिरामी आउने गरेका छन्। उनीहरूलाई सेवा दिएवापत बीमा बोर्डले अस्पताललाई ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप