बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा अनलाइन ठगीको भयावह अवस्था, ६ महिनामा साढे १० करोड ठगी

बुधबार, ३० पुस २०८२, ०९ : ५९
बुधबार, ३० पुस २०८२

सारांश

  • कास्कीमा अनलाइन ठगी बढेको छ, चालु आर्थिक वर्षमा १० करोडभन्दा बढी ठगी भएको छ।
  • प्रहरीका अनुसार, सामाजिक सञ्जाल र डिजिटल वालेट प्रयोग गरी ठगीका घटना बढेका छन्, जसमा महिलाहरू धेरै पीडित छन्।
  • प्रहरीले रकम फिर्ता गराउन नसकेको र सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।

पोखरा । कास्कीमा अनलाइन मार्फत हुने ठगीको अवस्था भयावह देखिएको छ । चालू आर्थिक वर्षको हालसम्म साढे १० करोड भन्दा बढी अनलाइन मार्फत ठगी भएको छ ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, साउनदेखि पुसको अहिलेसम्म १० करोड ६३ लाख ५३ हजार रुपैयाँ ठगी भएको उजुरी परेको छ । सबैभन्दा बढी कात्तिक महिनामा ठगी भएको छ ।

चाडपर्वको समय पर्ने कात्तिक महिनामा मात्रै विभिन्न प्लेटफर्म मार्फत ३ करोड १४ लाख ३३ हजार रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीले जनाएको छ । पुसमा पनि ठगीको ग्राफ उकालो लागेर २ करोड ४९ लाख पुगेको छ । यसअघि साउनमा १ करोड ५ लाख, भदौमा १ करोड ५० हजार र असोजमा १ करोड ८९ लाख रुपैयाँ ठगी भएको थियो। मङ्सिर महिनामा भने ठगीको रकम केही घटेर १ करोड ४ लाखमा सीमित भएको थियो ।

ठगीको तुलनामा प्रहरीले रकम फिर्ता गराउन भने पर्याप्त सकेको छैन । हालसम्म १ करोड ५५ लाख मात्रै पीडितले फिर्ता पाएका कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । सबैभन्दा धेरै मंसिरमा १ करोड २३ हजार रुपैयाँ फिर्ता भएको थियो । 

कात्तिकमा १ लाख ७० हजार रुपैयाँ मात्र फिर्ता भएको उनले बताए । त्यस्तै, साउनमा १९ लाख, भदौमा साढे १० लाख, असोजमा करिब ७ लाख र पुसको हालसम्म १६ लाख ११ हजार रुपैयाँ फिर्ता भएको छ ।

इन्स्टाग्राम र फेसबुक मुख्य हतियार

ठगी गर्ने गिरोहले सामाजिक सञ्जाल टिकटक र फेसबुकलाई मुख्य हतियार बनाएको तथ्यांकले देखाएको छ । ६ महिनामा दर्ता भएका ५ सय ८७ उजुरीमध्ये सबैभन्दा धेरै टिकटकबाट १ सय ५८ वटा ठगी भएका छन् । फेसबुकबाट मात्रै पनि १ सय ४४ वटा घटना फेसबुक मार्फत ठगी भएका छन् । इन्स्टाग्राममार्फत ४५, टेलिग्राम ४७, फोनबाट १८ र ओटिपी कोड मागेर २४ जना ठगीमा परेका छन् ।

आधा वर्षको अवधिमा सबैभन्दा बढी महिला पीडित भएका छन् । ३ सय २६ जना महिला र २ सय ६१ जना पुरुष ठगीको सिकार भएका बस्नेतले जानकारी दिए । महिनागत रूपमा हेर्दा मङ्सिर महिनामा सबैभन्दा बढी १ सय १९ वटा उजुरी परेका थिए भने भदौमा सबैभन्दा कम ७९ उजुरी दर्ता भएका थिए । अनलाइन कारोबारसँगै ई–सेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक खाताहरूको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेकाले सामाजिक सञ्जाल प्रयोग गर्दा र अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७ सय ५१ वटा उजुरी दर्ता भएकोमा ८ करोड ७९ लाख ठगी भएको थियो । २ करोड १९ लाख मात्रै पीडितले फिर्ता पाएका थिए । आर्थिक वर्ष २०७९/८० मा ४ सय २ वटा उजुरी दर्ता भएको थियो । ४ करोड ३५ लाख ठगी भएकोमा जम्मा ५७ लाख ५२ हजार फिर्ता गर्न सफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप