शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस फुटेको प्रायोजित हल्ला : भ्रम र यथार्थ

बुधबार, ३० पुस २०८२, १० : ३१
बुधबार, ३० पुस २०८२

सारांश

  • नेपाली कांग्रेसमा विशेष महाधिवेशन भए पार्टी फुट्छ भन्ने हल्ला निराधार रहेको विश्लेषण गरिएको छ।
  • पार्टी फुट्ने हल्ला पदलोलुपहरूले फैलाएको र यसमा कार्यकर्ता अलमलिन नहुने बताइएको छ।
  • लेखमा कांग्रेसभित्रको गुटबन्दी, नेतृत्वको स्वार्थ र विधान उल्लंघनका विषयलाई औंल्याइएको छ।

अहिले नेपाली कांग्रेसमा एउटा जबर्जस्त भाष्य स्थापित गरिँदै छ– विशेष महाधिवेशन भए पार्टी फुट्छ। यो एउटा शिखण्डी कुरा मात्र हो। यसमा न कुनै आधार छ, न त कुनै कारण नै। केवल पदलोलुपहरूले उत्पातसाथ मच्चाएको हल्ला मात्र हो यो। कुनै पनि तर्कका लागि तथ्य जरुरी हुन्छ। तथ्यबिनाको कुरा हावादारी प्रचार मात्र हो। पार्टी फुट्ने र विरासत गुम्ने कुरा फगत हल्ला हो। जहाँ बिना लगानी स्वार्थको महल ठडिएको छ, त्यो महलको जग हल्लिएपछि पार्टी फुटको नियोजित हल्ला फिँजाइएको हो। यसबाहेक यो अरू केही पनि होइन।

यति मानौँ, कांग्रेस फुट्ने अहिलेको हल्ला कुनै दिन मुलुकको कुनै कुनाकन्दरामा साक्षात् देवता वा भगवान् प्रकट भए भने जस्तै हो। मानिसले विश्वास गरुन्जेल त्यस्तो ठाउँमा भिड लाग्छ, तर यथार्थ (तथ्य) खुलेपछि देवता उत्पत्ति भएको ठाउँमा जानेहरूको लर्को घट्छ। जानेहरूमध्येकै ठूलो जमातले भन्न थाल्छ– हामीलाई बेवकुफ बनाएछन्। कांग्रेस फुट्छ भन्ने बहुप्रचारित भाष्य पनि तथ्य खुलेपछि फगत त्यस्तै हल्ला साबित हुने निश्चित छ। यसमा अलमलिनुपर्ने कुनै कारण नै छैन।

यति भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले के बुझ्न जरुरी छ भने आखिर यो हल्ला कसले चलाइरहेको छ त ? यसमा कुनै पनि नेता वा कार्यकर्ता दुविधामा पर्नु पर्दैन। यो जनाधार नभएका मानिसहरूको दिमागको उपज हो। दिमाग खाली भएका ठूला भनिएका मानिसले गर्ने हल्ला यस्तै हुन्छन्।

वरिपरि आसेपासे राख्यो, अनि हल्ला चलायो। उनीहरूको खास धन्दा नै हल्लाको खेती गरेर सपनाको महलमा राज गर्ने हो, जुन स्वयंसिद्ध विषय हो। यसमा इमानदार, निष्ठावान् र आदर्शवान् कार्यकर्ता झुक्किने भुल गरे भने सैतानहरूको स्वार्थी सपनाले साकार रूप लिन्छ। सच्चा कांग्रेसीले बिना अलमल बुझ्नुपर्ने विषय हो यो। बाँकी कुरा 'कागले कान लग्यो' भन्ने कथा मात्रै हो। कान छाम्ने कि कागको छायालाई लखेट्ने, त्यो निर्णय गर्ने जिम्मा कांग्रेस नेता र कार्यकर्ताकै हो।

विधानमा व्यवस्था भएको विशेष महाधिवेशन गर्दा पार्टी फुट्छ भने किन दफा १७ (२) राखिएको त ? इमानदार कार्यकर्ताले फुटको हौवा फिँजाउनेहरूलाई यो प्रश्न गर्न निकै ढिलो भइसकेको छ। स्वार्थी समूहले चलाएको हल्लाको पछि यदि कर्मशील पंक्ति दौडियो भने कांग्रेस फुट्न सक्छ। किनकि, यतिबेला कांग्रेसमा स्वार्थ समूह हाबी छ।

त्यसको आकार, प्रकार, रूप र स्वरूप मात्र फरक हो। त्यो स्वरूपको अनुमान गर्ने, ठम्याउने र निक्र्योल गर्ने काम इतर पार्टीका नेता–कार्यकर्ताको होइन, स्वयं कांग्रेसकै नेता–कार्यकर्ताको हो। पार्टी फुटेको प्रायोजित हल्ला, भ्रम र यथार्थ बुझ्न नसक्नु चाहिँ कांग्रेस कार्यकर्ताको अक्षम्य गल्ती हुनेछ।

यति बुझ्ने कांग्रेसीले यो वा त्यो बहानामा कांग्रेस फुट्छ भन्दैन। जो बुझेर कांग्रेस भएको छ, उसलाई यो कुरा राम्रोसँग थाहा छ। यदि कोही आफ्नो मालिक कांग्रेस भएका कारणले कांग्रेस बनेको छ भने, उसको दुःख बुझ्न सकिन्छ। किनभने उ मालिकको दुःखमा दुःखमनाउ गर्छ र मालिकको खुसीमा खुसी मनाउँछ।

कोही कतै बहकियो भने पनि कांग्रेसलाई मजबुत बनाउन सकिन्छ; हिजो बनाइयो र भोलि पनि बनाइने नै छ। कांग्रेस व्यक्तिबाट शासित हुने पार्टी होइन, यो विधिले चल्ने पार्टी हो।

तर, बुझ्नुपर्ने कुरा के हो भने, कांग्रेसको इतिहास विवादरहित र सग्लो कहिल्यै रहेन। प्रजा परिषद् र राष्ट्रिय कांग्रेसदेखि यहाँसम्म आइपुग्दा कांग्रेस कहिल्यै विवादरहित छैन। इतिहास साक्षी छ– टंकप्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको जीवनको आखिरी क्षण कस्तो रह्यो भन्ने सबैका अघिल्तिर छर्लङ्ग छ।

मातृकाप्रसाद कोइरालालाई कसले हटायो ? सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कसले चुनाव हरायो ? लौहपुरुष गणेशमान सिंहले जीवनको अन्तिम दिनहरूमा के भन्नुभयो र के सहनुभयो ? संविधानका पिता सुशील कोइरालाको धारणा के थियो ? के कालान्तरमा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको सम्बन्ध सुमधुर रह्यो ? इतिहासका पानामा यी तथ्यहरू सुरक्षित छन् र सबै कांग्रेसजनलाई यसबारे थाहा छ।

कोही कतै बहकियो भने पनि कांग्रेसलाई मजबुत बनाउन सकिन्छ; हिजो बनाइयो र भोलि पनि बनाइने नै छ। कांग्रेस व्यक्तिबाट शासित हुने पार्टी होइन, यो विधिले चल्ने पार्टी हो। त्यसैले कांग्रेस बुझेका कार्यकर्ताका लागि टुटफुट र जुट सामान्य विषय हुन्। कांग्रेस फुट्दैमा आकाश खस्दैन, धर्ती भासिँदैन र कुनै अनिष्ट हुँदैन। तर, अहिलेकै विवादले मात्र कांग्रेस फुट्दैन भन्ने जगजाहेर विषय हो।

इतिहास बुझेका कांग्रेस कार्यकर्तालाई पार्टी फुट्ला कि भन्ने चिन्ताले सताउँदैन। जसले यो बुझेको छ, उसलाई खासै पिर छैन। पिर त उसलाई छ, जो मालिकको वरिपरि घुमेर गणेश बनेकै भरमा सांगठनिक र संसदीय सत्तामा विराजमान भयो। चाकडीकै भरमा पद हत्यायो र प्रतिष्ठा कमायो, त्यो गुम्ने डरले मात्र पार्टी फुटको हौवा फिँजाइएको हो। यसमा सबैभन्दा बढी डर नेताका पुत्र–पुत्रीहरूलाई छ। जेसुकै भए पनि कांग्रेसको रुखमा भोट हाल्ने हात र मस्तिष्कलाई कांग्रेस फुट्ने रत्तिभर डर र किञ्चित् भ्रम छैन।

कांग्रेसमा कतै गल्ती छ भने त्यो विधान नमान्ने गल्ती छ। विधानको दफा १७ (२) नमान्ने, अनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने ? यस्तो गल्ती गर्ने र आफैँ तथा आसेपासेलाई मनमौजी बोल्न लगाउने सोच नै कांग्रेस विभाजन गराउने सुप्त तर डरलाग्दो खेल हो। नियम मिचेर यो खेल जसले खेलिरहेको छ, त्यही तप्का कांग्रेस फुट्छ भनेर एकोहोरो कराइरहेको छ।

यो ज्योतिषी राजनीति सिङ्गो कांग्रेसका लागि सर्वथा अहितकर छ। नेपाली राजनीति सिद्धान्तभन्दा बढी स्वार्थबाट चल्छ। सही मार्ग गुमाएर अगाडि बढ्ने ज्योतिषी मार्ग नै नेपालको राजनीतिको लय बनेको छ। यो एक स्थापित कुसंस्कार पनि हो। पार्टी फुट्छ भनेर बलजफ्ती चिच्याइरहेको कांग्रेसको एउटा धार त्यही लयमा छ। खास कांग्रेसीले बुझ्नुपर्ने मुख्य विषय यही नै हो।

कांग्रेसको अहिलेको रुग्ण अवस्था पूर्वहरूको नचाहिँदो सम्मान र अनावश्यक स्पेसले सिर्जना गरेको हो। सँगै चुनाव लडेर उपविजेता बनेको व्यक्तिलाई दोस्रो मर्यादा क्रममा राख्न नसक्ने कांग्रेसले पूर्व पदाधिकारी बैठक गर्छ, अनि उदेकलाग्दा निर्णयहरू गर्छ। अनि भनिन्छ– विशेष महाधिवेशन भयो भने पार्टी फुट्छ।

फुटको हल्ला पनि नेतृत्व हत्याउन कुनै समूहले गरेको प्रायोजित प्रचार मात्र हो। पार्टी पद्धतिले चल्छ, प्रायोजित दुष्प्रचारले होइन।

त्यसैले कांग्रेसले अभ्यास गर्दै आएको यो गलत संस्कार सदाका लागि विधिवत् रूपमै अन्त्य गरिनुपर्छ। केन्द्रीय कार्यसम्पादन समिति र पूर्व पदाधिकारीको बैठकको निर्णयलाई नै सर्वेसर्वा मान्ने भयंकर कमजोरी गर्नु हुँदैन। यही कमजोरीका कारण कांग्रेसमा कलह झाँगिएको हो।

पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको माग र भावनालाई आत्मसात् नगर्नु, बरु कार्यसम्पादन समिति र पूर्व पदाधिकारीको निर्णयलाई अकाट्य ठान्नु नै कांग्रेस विभाजनको प्रमुख कारक बन्न सक्छ। विधानसम्मत विशेष महाधिवेशनको माग कांग्रेस विभाजनको कारण होइन र हुन सक्दैन।

यो त अनुहारमा हिलो लाग्यो भने अनुहार धुनुको साटो ऐना पुछ्ने कर्म मात्र हो। यही कर्मले कांग्रेसमा अकर्मण्यताको पहाड खडा गरेको छ। कांग्रेसलाई सग्लो र सबल बनाउने हो भने कस्तुरीले आफ्नै शरीरको बिना अन्यत्र खोजे जस्तो गर्नु हुँदैन। कांग्रेसको रूपान्तरण र नेतृत्व हस्तान्तरण गर्ने हो भने ५४ प्रतिशतभन्दा बढीको हस्ताक्षर र आत्मनिर्णयलाई बेवास्ता गर्न मिल्दैन।

थरीथरीका कांग्रेसले वर्तमानको प्रतिनिधित्व र भविष्यको नेतृत्व गर्न सक्दैनन्। मेरो एक थोपा नै पार्टी नेतृत्वका लागि काफी छ, अरूको रगत र पसिना दुर्गन्ध हो भन्ने संकीर्ण सोच कांग्रेस रूपान्तरणको प्रमुख बाधक हो।

फुटको हल्ला पनि नेतृत्व हत्याउन कुनै समूहले गरेको प्रायोजित प्रचार मात्र हो। पार्टी पद्धतिले चल्छ, प्रायोजित दुष्प्रचारले होइन। बोलीमा कांग्रेसको सुन्दर भविष्यको सपना सजाएर मात्र हुँदैन, व्यवहार पनि तदनुरूप हुनुपर्छ। अन्यथा, अहिले टालटुल पारेर चलाएको कांग्रेस निरन्तर चुहिरहन्छ।

निरन्तर चुहिएपछि भ्वाङ ठूलो हुन्छ र एक दिन कांग्रेस धराशायी हुन्छ। बगेको खोला फर्कँदैन, मौका आउँछ पर्खँदैन भनेझैँ अहिलेको महाधिवेशन कांग्रेस सुधार्ने अवसर छ। कार्यकर्ताको भावनाको सम्मान गर्न र पार्टी सुधार्न नेतृत्व अब चुक्नु हुँदैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र गौतम
राजेन्द्र गौतम
लेखकबाट थप