बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनसीसी तालिम सम्पन्न: ५३१ विद्यार्थी दीक्षित

बुधबार, ३० पुस २०८२, २० : ५७
बुधबार, ३० पुस २०८२

सारांश

  • राष्ट्रिय सेवा दलको ५१औँ एनसीसी जुनियर डिभिजन तालिम धरानमा सम्पन्न भयो।
  • तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका ५३१ विद्यार्थी सहभागी थिए।
  • दीक्षान्त समारोहमा विद्यार्थीहरूले विभिन्न सीप प्रदर्शन गरे, जसमा शारीरिक र मानसिक कौशल झल्कियो।

धरान । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालय याङ्शिलामा सञ्चालन भएको ५१औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरण बुधबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ । पुस ११ गतेदेखि सुरु भएको यस तालिममा सहभागी विद्यार्थीहरूलाई दीक्षान्त समारोहमार्फत दीक्षित गरिएको हो ।

तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ वटा विद्यालयका कुल ५३१ जना विद्यार्थी सहभागी थिए । शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार सहभागी क्याडेटहरूलाई राष्ट्रियता र अनुशासनको भावना जागृत गराउन यो तालिम प्रभावकारी रहेको छ । दीक्षान्त समारोहमा विद्यार्थीहरूले तालिमका क्रममा सिकेका खुकुरी ड्रिल, तेक्वान्दो, पिटी, एरोबिक्स र विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष डेमो प्रदर्शन गरेर आफ्नो शारीरिक तथा मानसिक कौशल देखाएका थिए ।

समारोहका क्रममा प्रमुख सेनानी श्रेष्ठले दीक्षित भएका क्याडेटहरूलाई राष्ट्रिय झण्डा र सेवा दलको झण्डासहित शुभकामना सन्देश दिँदै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । राष्ट्रिय सेवा दलले विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी नेतृत्व क्षमता विकास र राष्ट्रिय एकताको भावना सुदृढ तुल्याउन यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप