पुनर्जन्मको सत्य बिस्तारै सबै धर्मले मान्नेछन्
सारांश
- मृत्यु र जीवनपछिको धारणाबारे मानिसको जिज्ञासा युगौंदेखि रहेको छ, र पुनर्जन्म अब विज्ञानको अनुसन्धानको विषय बनेको छ।
- पूर्वीय धर्महरूले पुनर्जन्मलाई स्वीकार्छन्, तर अब्राहमिक धर्महरूले मान्दैनन्, तथापि वैज्ञानिक अध्ययनले यसको सम्भावनालाई उजागर गरेको छ।
- पुनर्जन्मको अवधारणाले आत्माको लिङ्ग नहुने र वर्तमान जीवनमा विगतका संस्कारहरूको प्रभाव पार्न सक्ने कुरालाई प्रकाश पार्छ।
नव जीवनको सबैभन्दा ठूलो रहस्य मृत्यु हो। के मृत्यु नै अन्त्य हो? वा मृत्युपछि पनि जीवनको अर्को अध्याय सुरु हुन्छ? यो प्रश्न युगौँदेखि मानव मनमा खेल्दै आएको छ। पुनर्जन्म पूर्वीय दर्शनको मात्र विषय नभएर अब आधुनिक विज्ञानको अनुसन्धानको विषय पनि बनेको छ। श्रीमद्भगवद्गीतामा भगवान् कृष्णले आत्माको अमरत्व र पुनर्जन्मको सिद्धान्तलाई स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ।
यो एक धार्मिक दृष्टिकोणको रूपमा रहेको ठानिएकोले यो विषय विश्वास र अविश्वासको द्वन्द्वमा परेको पनि छ। पुनर्जन्मको अवधारणा विशेष गरी पूर्वीय धर्महरूको आधारशिला हो। भारतीय उपमहाद्वीपमा उत्पन्न सनातन हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म र सिख धर्म-यी चारै वटा धर्मले पुनर्जन्मलाई पूर्ण रूपमा स्वीकार गरेका छन्। यी धर्महरूको मान्यता अनुसार, हिन्दु धर्मले ‘आत्मा कहिल्यै मर्दैन, यसले केवल शरीर परिवर्तन गर्छ’ भन्छ भने जैनीहरूले ‘आत्मा अन्तिम सत्य हो’ भन्छन्। यस्तै, बौद्ध धर्मले ‘पुनर्जन्ममा वासनाले जन्म गराउँछ’ भन्छ। हिन्दु धर्ममा ८४ लाख योनीहरूको चक्र पार गर्दै आत्माले विभिन्न शरीर धारण गर्छ भन्ने विश्वास गरिन्छ।
अर्कोतर्फ, अब्राहमिक धर्महरू (जस्तै: इस्लाम, इसाई र यहुदी धर्म) ले परम्परागत रूपमा पुनर्जन्मलाई स्वीकार गर्दैनन्। उनीहरूको मान्यतामा यो जीवन एक पटकका लागि मात्र हो र मृत्युपछि 'कयामत' (जज्मेन्ट डे) को दिनमा फैसला हुन्छ। यद्यपि, सुफी परम्परा र केही रहस्यवादी सम्प्रदायहरू (ग्नोस्टिकहरू) मा पुनर्जन्मका सङ्केतहरू पाइन्छन्, जसले गर्दा यो विषय केवल हिन्दुहरूको मात्र नभएर विश्वव्यापी चासोको विषय बनेको छ।
पुनर्जन्मको अर्को रोचक पक्ष भनेको आत्माको लिङ्ग (Gender) नहुनु हो। आत्मा न पुरुष हो, न स्त्री हो। आत्मा भनेको शुद्ध चेतना हो।
कुनै समय पुनर्जन्मलाई केवल अन्धविश्वास वा धार्मिक कल्पना मानिन्थ्यो। तर, आजको वैज्ञानिक युगमा यसलाई प्रमाणको आधारमा हेर्न थालिएको छ। विज्ञानका अनेकौँ विधाहरूको विकाससँगै क्वान्टम थ्योरीको विस्मयलोकसम्म आइपुग्दा विश्वास, अन्धविश्वास हुँदै आत्माको विषय वैज्ञानिक अनुसन्धानसम्म आइपुगेको छ। जसरी ग्यालिलियोले पृथ्वी गोलो छ र सूर्यको परिक्रमा गर्छ भन्दा तत्कालीन पश्चिमी धार्मिक समाजले अस्वीकार गरेको थियो, त्यसरी नै सुरुमा पश्चिममा पुनर्जन्मको कुरालाई नकारिन्थ्यो। तर आज विज्ञान जीवनको यो अन्तिम सत्यलाई खोज्ने जमर्कोमा छ। आज पश्चिमी जगतमा पुनर्जन्मबारे "सिस्टमेटिक" (व्यवस्थित) अध्ययन भइरहेको छ।
विशेष गरी अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा पुनर्जन्मबारे गहिरो अनुसन्धान भएको छ। त्यहाँका वैज्ञानिकहरूले संसारभरबाट करिब २२ सय भन्दा बढी यस्ता घटनाहरूको अभिलेख राखेका छन्, जसले आफ्नो पूर्वजन्मबारे स्पष्ट प्रमाण दिएका छन्। यो विभागले बालबालिकाहरूले सुनाएका पूर्वजन्मका घटनाहरूको सत्यता जाँच्न वैज्ञानिक विधिहरू प्रयोग गरेको छ। यसले के पुष्टि गर्छ भने पुनर्जन्म अब केवल मन्दिर वा गुम्बाको विषय रहेन, यो विश्वविद्यालयको प्रयोगशालाको विषय बनिसकेको छ।

मुम्बईका एक पारसी भावनगरीको परिवारमा एक दुखद घटना घटेको थियो। उनका छोराहरूको सडक दुर्घटनामा मृत्यु भएपछि, उनकी आमा खोर्शिद भावनगरीले आफ्ना मृत छोराहरूसँग एक माध्यम मार्फत सम्पर्क स्थापित गरिन्। टेलिप्याथी र 'अटो राइटिङ' जस्ता माध्यमबाट उनी स्वयंले आत्मिक जगतबाट सन्देशहरू प्राप्त गर्न थालिन्। आफ्नो ‘जीवात्मा जगत के नियम’ पुस्तकमा चेतनाले कसरी मृत्युपछि पनि सूक्ष्म लोकको अस्तित्वबाट गुज्रिनुपर्छ भन्ने कुरालाई देखाइएको छ।
पुनर्जन्मको अर्को रोचक पक्ष भनेको आत्माको लिङ्ग (Gender) नहुनु हो। आत्मा न पुरुष हो, न स्त्री हो। आत्मा भनेको शुद्ध चेतना हो। शरीर केवल एउटा वस्त्र हो। यसको अर्थ, कोही व्यक्ति यो जन्ममा पुरुष छ भने ऊ पूर्वजन्ममा स्त्री पनि हुन सक्छ र कोही यो जन्ममा स्त्री छ भने अर्को जन्ममा पुरुष पनि हुन सक्छ। यो परिवर्तन कर्म र संस्कारको आधारमा निर्धारण हुन्छ। समाजमा देखिने कतिपय स्वभावहरू-जस्तै कुनै पुरुषलाई महिलाको जस्तो शृङ्गार गर्न मन पर्ने वा कोमल स्वभाव हुने-यसको कारण उसको पूर्वजन्मको संस्कार हुन सक्छ। यदि कोही व्यक्ति पूर्वजन्ममा लामो समयसम्म स्त्री थियो र अहिले पुरुषको शरीर पायो भने, उसका पुराना बानीहरू नयाँ शरीरमा पनि प्रकट हुन सक्छन्। तर सामान्यतया स्त्री स्त्री भएर र पुरुष पुरुष नै भएर जन्मिन्छन्।
पुनर्जन्म जीवनको निरन्तरताको सिद्धान्त हो। जसरी हामी पुराना लुगा फुकालेर नयाँ लुगा लगाउँछौँ, त्यसरी नै आत्माले जीर्ण शरीर त्यागेर नयाँ यात्रा सुरु गर्छ।
पश्चिममा धर्महरूले पुनर्जन्मलाई स्वीकार गर्दैनथे। आज तिनै देशका मानिसहरू 'पास्ट लाइफ रिग्रेसन' थेरापीतिर आकर्षित भइरहेका छन्। मानिसहरू आफ्नो वर्तमान समस्याको कारण यो जन्ममा नभेटाएपछि त्यसको कारण खोज्न अवचेतनमा प्रवेश गर्ने क्रममा पूर्वजन्मको स्मृति खोलिएको पाएका छन्। डा. ब्राइन वेस, डा. माइकल न्युटन जस्ता क्लिनिकल मनोवैज्ञानिकहरू मनको बुझ्न नसक्ने गुत्थीहरू सुल्झाउन मनका अचेतनमा गडिएका स्मृतिहरू खोतल्ने क्रममा सयौँ सेवाग्राहीका पूर्वजन्मका स्मृतिसँग ठोकिएका थिए। धार्मिक विश्वासका रूपमा सीमित नभएर आज पश्चिमका मानिसहरूले यसलाई मनोवैज्ञानिक उपचार र खोजको विषय बनाएका छन्।
पुनर्जन्म जीवनको निरन्तरताको सिद्धान्त हो। जसरी हामी पुराना लुगा फुकालेर नयाँ लुगा लगाउँछौँ, त्यसरी नै आत्माले जीर्ण शरीर त्यागेर नयाँ यात्रा सुरु गर्छ। "म को थिएँ?", "म कहाँबाट आएँ?"-यी प्रश्नहरूले धेरै साधक र जिज्ञासुहरूलाई सताउने गर्छ। पूर्वजन्म जान्ने उत्सुकता मानव स्वभाव हो। तर के पूर्वजन्म सम्झनु सधैँ राम्रो हुन्छ? के यसले हाम्रो वर्तमान जीवनलाई सहज बनाउँछ कि अझ जटिल?
_Tboz8OJeyQ.png)
हामी सोच्छौँ कि पूर्वजन्म सम्झनु एउटा अद्भुत वरदान हो। तर व्यावहारिक रूपमा यो एउटा श्राप पनि हुन सक्छ, कसैलाई आफ्नो पूर्वजन्म याद आयो भने उसको मानसिक स्थितिमा ठूलो उथलपुथल आउन सक्छ।
कल्पना गर्नुहोस्, एउटा बच्चा गरिब परिवारमा जन्मियो, तर उसलाई याद आयो कि ऊ पूर्वजन्ममा कुनै राजा वा धनी व्यापारीका रूपमा जन्मेको थियो। उसले आफ्ना वर्तमान आमाबुवालाई भन्न सक्छ, "तिमीहरू मेरो बुवाआमा होइनौ, मेरो घर त फलानो ठाउँमा छ, मलाई त्यहीँ लैजाऊ।" उसले अहिलेको घरको गरिबी, खाना र वातावरणलाई अस्वीकार गर्न सक्छ। त्यो बच्चाको हालत के होला? ऊ न यताको हुन्छ, न उताको। यस्तो अवस्थामा बच्चाको बाल्यकाल नै बर्बाद हुन सक्छ। त्यसैले प्रकृतिले दया गरेरै हामीलाई विगत बिर्साइदिएको हो, ताकि हामी नयाँ जीवनलाई ताजा रूपमा जिउन सकौँ।
पूर्वजन्मको स्मृति वा संस्कारले वयस्क मानिसको व्यवहारमा पनि अनौठो प्रभाव पार्न सक्छ। आत्माको कुनै लिङ्ग हुँदैन र मानसिक अवस्था, उद्देश्य र कर्मका कारणले एक जन्मबाट अर्कोमा जाँदा पुरुष वा महिला बन्न सक्छ। यो स्मृतिले कहिलेकाहीँ असामान्य व्यवहार हुन सक्छ। यसलाई नबुझ्दा व्यक्तिले आफ्नो वर्तमान पहिचानसँग सङ्घर्ष गर्नुपर्ने हुन्छ। यो पूर्वजन्मको मनोवैज्ञानिक प्रभाव हो।
तर जब व्यक्ति साधनाको एक उचाइमा पुग्छ तब स्मृतिका ढोकाहरू खोलिएर स्वतः आफ्ना विगतका जन्महरूको झलक आउन सक्छ।
कयौँ व्यक्तिहरू कौतुहलवश आफ्नो पूर्वजन्म देख्न पाए हुन्थ्यो भन्ने कामना गर्छन्। प्रकृतिले हाम्रो चेतनालाई जोगाउन एक किसिमको “सुरक्षात्मक भल्भ” जस्तो व्यवस्था गरेको छ। त्यसैले धेरै मानिसलाई अघिल्ला जीवनका दृश्य वा घटनाहरू स्पष्ट याद हुँदैनन्। यदि ती सबै स्मृति खुला भए, पुराना पीडा, डर, अपराधबोध र सम्बन्धका गाँठाहरूले मनलाई अस्थिर बनाइदिन्थ्यो र वर्तमान जीवन चलाउनै गाह्रो पर्थ्यो। यो जीवनको आफ्नै उद्देश्य छ: अहिलेका अनुभवबाट सिक्ने। यदि हामी विगतमा अल्झियौँ भने ध्यान वर्तमानबाट हट्छ, ऊर्जा पछाडि तानिन्छ र विकास रोकिन्छ।
त्यसैले प्रकृतिले पूर्ण स्मृतिभन्दा पनि सङ्केत, प्रवृत्ति वा रुचिको रूपमा मात्रै आवश्यक कुरा सतहमा ल्याइदिन्छ, ताकि हामी अतीतमा फस्न होइन, वर्तमानमा बढ्न सकौँ।
तर जब व्यक्ति साधनाको एक उचाइमा पुग्छ तब स्मृतिका ढोकाहरू खोलिएर स्वतः आफ्ना विगतका जन्महरूको झलक आउन सक्छ। तब मात्र पूर्वजन्मका स्मृतिहरू बाधा बन्दैनन्, तिनले वैराग्य पैदा गर्न मद्दत गर्छन्। यो मेरो आफ्नो अनुभव हो। जबसम्म मलाई पूर्वजन्मको खुलदुली थियो त्यसको बोध भएन। जब साधनाले एक गहिराइ लियो, पूर्वजन्मका रहस्यहरू पर्दाहरू झैँ आफैँ उठ्न थाले र त्यसले कुनै विसङ्गति पैदा गरेन। साधनामै मद्दत गर्यो।
जसरी पश्चिमी धर्महरूले “पृथ्वी नै केन्द्र हो, सूर्यले पृथ्वीको चक्कर लगाउँछ” भन्ने मान्दथे तर प्रमाण, तर्क र समयसँगै “पृथ्वी सूर्यको वरिपरि घुम्छ” भन्ने सत्य स्थापित भयो; त्यसैगरी, आज पश्चिमी धर्महरूले “पुनर्जन्म” को सत्य स्वीकार्दैनन्, तर कुनै एक दिन उनीहरूले पनि यो सत्यलाई स्वीकार्ने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण