शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेट र सरसफाइको प्रवर्द्धन : ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

बिहीबार, ०१ माघ २०८२, १७ : ५६
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मधेस प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको सुरुवात भएको छ ।

मधेस प्रदेश खेलकुद परिषद्को कभर्ड हलमा आयोजित कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहा, नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेस क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । एक महिनासम्म चल्ने यस कार्यक्रममा स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धन गरिनेछ । क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यले तयार पारिएको ‘क्रिकेट प्लस वास’ खेल मार्गदर्शन पुस्तिका पनि कार्यक्रममा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य र सरसफाइप्रति देखिएको सचेतनालाई क्रिकेटको माध्यमबाट अझ प्रभावकारी बनाउन खोजिएको बताए । यस पहलले महिला क्रिकेट र नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्ने अवसर मिल्ने उनको भनाइ थियो ।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेट खेलमार्फत युवाको सहभागिताले सकारात्मक सन्देश दिने बताए । उनले आगामी दिनमा क्यान र प्रदेश तथा जिल्ला सङ्घहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम सञ्चालन गरिएको छ ।

सबल नेपालले मधेस प्रदेश क्रिकेट सङ्घसँग ५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ । सम्झौताअनुसार ‘क्रिकेट फर वास’ कार्यक्रम प्रवर्द्धन गरिनेछ ।

कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानका सदस्यहरू, मधेस प्रदेश क्रिकेट सङ्घका पदाधिकारीहरू, धनुषा र पर्सा जिल्ला क्रिकेट सङ्घका अध्यक्षहरू, क्यानको राष्ट्रिय क्रिकेट टिमका छनोटकर्ता सदस्यलगायतको उपस्थिति थियो ।

क्यान सचिव पारस खड्काले क्रिकेटको माध्यमबाट मधेसका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महतोले यस कार्यक्रमले महिला क्रिकेट खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

क्यान सचिव पारस खड्काले स्थानीय स्तरमै युवा खेलाडीहरूलाई उत्साह प्रदान गरेकोमा खुसी व्यक्त गरे । सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झाले कार्यक्रमले सहभागी किशोरीहरूमा उत्साह थपेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप