इतिहासलाई जीवन्त राख्न पौवादुङमामा ‘पञ्चकन्या स्मृति उद्यान’
भोजपुर । भोजपुरको ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित पौवादुङमा च्याङ्ग्रे पोखरी परिसरमा ‘पञ्चकन्या स्मृति उद्यान स्थापना गरिएको छ । उक्त उद्यान भोजपुरलाई इतिहास, समाज सुधार र राजनीतिक आन्दोलनमार्फत राष्ट्रिय तहमा चिनाउन योगदान पुर्याएका सामाजिक अभियन्ता तथा क्रान्ति योद्धाको सम्मान स्वरूप निर्माण गरिएको हो ।
उद्यानमा भोजपुर जिल्लाको पहिचान निर्माणमा ऐतिहासिक भूमिका खेलेका बालागुरु षडानन्द अधिकारी, नारी चेतना र सामाजिक सुधार आन्दोलनकी अगुवा योगमाया न्यौपाने, २००७ सालको राजनीतिक परिवर्तनमा अग्रपङ्क्तिमा रहेर योगदान पुर्याएका क्रान्ति योद्धा रामप्रसाद राई, नारदमुनि थुलुङ र दिवानसिंह राईका शालिक राखिएका छन् । साथै २००७ सालमा भोजपुरबाट पहिलो पटक रेडियो प्रसारण भएको इतिहास उजागर गर्न रेडियोको प्रतिमा समेत राखिएको छ । यी शालिकहरूले भोजपुरको सामाजिक जागरण, चेतना र राजनीतिक परिवर्तनको इतिहासलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ ।
इतिहासलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी प्रत्यक्ष अनुभूति गर्न सकिने जीवित सम्पदाका रूपमा विकास गर्ने लक्ष्यका साथ सबै शालिक दक्ष कालीगढमार्फत ढुङ्गाबाट बनाइएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । आधुनिक प्रविधिको प्रयोग गर्दै ढुङ्गाले कुँदिएका प्रत्येक शालिकमा क्युआर कोडको व्यवस्था गरिएको छ ।
अध्यक्ष राईका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत उद्यान अवलोकन गर्न आउने व्यक्तिले अभियन्ता तथा क्रान्ति योद्धाको योगदानबारे सहज रूपमा जानकारी लिन सकुन् भन्नका लागि शालिकमा क्युआर कोडको व्यवस्था गरिएको छ । उक्त क्युआर कोड स्क्यान गर्दा सम्बन्धित व्यक्तिको जीवनी, योगदान र ऐतिहासिक पृष्ठभूमिसम्बन्धी विवरण उपलब्ध हुने व्यवस्था गरिएको छ ।
छोटो समयका लागि यहाँ आउने पर्यटकलाई यी व्यक्तित्व जन्मिएका ठाउँमा पुगेर थप ज्ञान लिन सम्भव नहुने भएकाले प्रविधिका माध्यमले पौवादुङमाबाट नै आवश्यक जानकारी लिन सक्ने उनको भनाइ छ । “पञ्चकन्या स्मृति उद्यानलाई ऐतिहासिक र शैक्षिक पार्कका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो”, अध्यक्ष राईले भने, “भोजपुरलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका अभियन्ता तथा योद्धाहरूको स्मृतिलाई सम्मान गर्दै जिल्लाको गौरवपूर्ण इतिहास उजागर गर्न यो उद्यान निर्माण गरेका हौँ । यसले आगन्तुकसँगै, स्थानीय तथा भावी पुस्तामा इतिहासप्रतिको चासो र चेतना अभिवृद्धि गर्नेछ ।”
ढुङ्गामा कुदेर क्युआरमार्फत आवश्यक जानकारी लिन सक्ने व्यवस्था देशमा गरिएको पहिलो र नौलो अभ्यास रहेको अध्यक्ष राईको दाबी छ । गाउँपालिकाले निर्माण गर्ने पर्यटन पूर्वाधार प्रविधिमैत्रीसँगै सूचनामूलक बनाउनमा पहल थालिएको उहाँको भनाइ छ । हाल निर्माण भएको स्मृति पार्क भोजपु–लेगुवा मध्यपहाडी राजमार्गबाट तीन किलोमिटरभित्र मात्र रहेकाले भोजपुरको इतिहासको विषयमा जानकारी लिन चाहनेहरुका लागि उत्तम र सहजस्थल बन्ने अध्यक्ष राईले बताए ।
गाउँपालिकाले पर्या–पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत उद्यानमा छ वटा शालिक निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । उनका अनुसार ढुङ्गाबाट निर्मित एउटा शालिक निर्माणमा रु एक लाख ४२ हजार ७०० खर्च भएको छ । स्थानीय स्रोतसाधनको उपयोग गर्दै खर्च प्रभावकारी रूपमा व्यवस्थापन गरिएको उनको भनाइ छ ।
उद्यानलाई आकर्षक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा तथा विश्रामस्थल निर्माणलगायत पूर्वाधार विकासका काम निरन्तर रूपमा अगाडि बढाइरहेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहले यस उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै शैक्षिक अवलोकनस्थलका रूपमा विकास गर्ने योजना बनाएको छ । स्थानीय इतिहास, स्मृति र पहिचानलाई एकैस्थानमा समेट्ने उद्देश्यले निर्माण गरिएको पञ्चकन्या स्मृति उद्यानले भोजपुरको गौरवपूर्ण अतीतलाई वर्तमान र भविष्यसँग जोड्ने सेतुको भूमिका खेल्ने स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण