आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रे र बागलुङबाट ९ थान भरुवा बन्दुक बरामद, एक जना पक्राउ

शुक्रबार, ०२ माघ २०८२, १३ : ०२
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • प्रहरीले काभ्रे र बागलुङबाट ९ थान भरुवा बन्दुक बरामद गरेको छ।
  • काभ्रेको मण्डनदेउपुरबाट एक जनालाई बन्दुकसहित पक्राउ गरिएको छ।
  • बागलुङका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बन्दुक फेला परेको छ, अनुसन्धान जारी छ।

काठमाडौँ । प्रहरीले काभ्रेपलाञ्चोक र बागलुङका विभिन्न स्थानबाट ९ थान भरुवा बन्दुक बरामद गरेको छ । हतियारसहित काभ्रेबाट एक जना पक्राउ परेका छन् भने बागलुङमा बेवारिसे अवस्थामा बन्दुकहरू फेला परेको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-७ नौबिसेबाट एक थान भरुवा बन्दुकसहित ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका छन् । पाँचखाल नगरपालिका-१ घर भई हाल कुन्तावेशी बस्ने तामाङलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हिगुवापाटीबाट खटिएको टोलीले बागमती प्रदेश ०३-००७ प ९२९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट बन्दुक बरामद गरेको थियो ।

यस्तै, बागलुङका तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ । गलकोट नगरपालिका-८ जोईपहरास्थित सामुदायिक जंगलबाट तीन थान बन्दुक बरामद भएको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाको टोलीले ती हतियार फेला पारेको हो ।

यसैगरी ताराखोला गाउँपालिका-४ नागबेलीस्थित खोलाको किनारबाट पनि चार थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय ताराखोला र गलकोटबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको हो । उता तमानखोला गाउँपालिका-६ स्थित नर्जाखानी जंगलबाट पनि एक थान भरुवा बन्दुक फेला परेको छ ।

बरामद गरिएका हतियार र पक्राउ परेका व्यक्तिका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप