स्थानीय तहको नाम र हिज्जेमा एकरूपता कायम गर्न सरकारको निर्देशन
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको नामको हिज्जे एकरूपता कायम गर्न निर्देशन दिएको छ।
- विभिन्न सरकारी कागजातमा स्थानीय तहको नाम फरक पर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
- मन्त्रालयले १५ दिनभित्र आधिकारिक हिज्जे पठाउन स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सरकारी प्रणालीमा एकै नाम राख्ने योजना बनाएको छ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।
स्थानीय तहको नाम र हिज्जे फरक–फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले ठुलो सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो । मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै एक परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन भनेको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहबाट जारी गरिने नागरिकता, राहदानी, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह), राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातमा स्थानीय तहको नामको हिज्जे फरक–फरक हुने गरेको पाइएको छ । विशेष गरी अङ्ग्रेजी नाम लेख्दा फरक–फरक निकायले फरक–फरक हिज्जे प्रयोग गर्दा सेवाग्राहीको विवरण बाझिने र त्यसले कानुनी तथा प्रशासनिक झन्झट निम्त्याएको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाल राजपत्रमा प्रकाशन भएको नामसँग फरक नपर्ने गरी अक्षर, भाव र वर्णविन्यास (हिज्जे) मिलाउन भनिएको छ । यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई तोकिएको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ । मन्त्रालयले पठाएको ढाँचामा राजपत्रमा प्रकाशित नाम, सुधार गर्नुपर्ने विषय, कायम हुनुपर्ने नेपाली नाम, अङ्ग्रेजी नाम र वेबसाइटमा प्रयोग हुने नाम स्पष्ट खुलाउनुपर्ने उल्लेख छ ।
मन्त्रालयले यो विवरण सङ्कलन गरिसकेपछि सबै सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने योजना बनाएको छ । स्थानीय तहहरूले तयार पारेको उक्त विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, स्थानीय तहको ईमेल र आधिकारिक पोर्टल मार्फत बुझाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण