शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

तीन दशक यता संसदीय निर्वाचनमा उम्मेदवारी दिँदै आएका थानीको अप्रत्याशित विश्राम !

शनिबार, ०३ माघ २०८२, १४ : ००
शनिबार, ०३ माघ २०८२

सारांश

  • कर्णालीका प्रभावशाली नेता हृदयराम थानीले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
  • उनले खुट्टाको समस्या र पार्टीभित्रको आन्तरिक कारणलाई मुख्य कारण बताएका छन्।
  • थानीले ५० को दशकदेखि चुनाव लड्दै आएका थिए, तर यसपटक उनले चुनाव नलड्ने निर्णय गरे।

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसभित्र प्रभावशाली नेता हुन् हृदयराम थानी । कर्णाली कांग्रेसमा संस्थापन इतर पक्षको नेतृत्वकर्ता उनै हुन् । उनी यति शक्तिशाली थिए कि १४औँ महाधिवेशन अघिसम्म यो क्षेत्रमा उनकै पक्षको दबदबा थियो ।

सुर्खेतमा थानी पक्षको एकछत्र राज थियो । केन्द्रकै राजनीतिमा बलियो प्रभाव राख्ने पूर्णबहादुर खड्कालाई उनकै गृहजिल्ला सुर्खेतमा थानी पक्षले चुनौती दिँदै आएको थियो ।

कर्णालीमा संस्थापन पक्षका नेता पूर्णबहादुर खड्का हुन् । कांग्रेसको महामन्त्री बनेपछि खड्का शक्तिशाली बन्दै गए । १४औँ महाधिवेशनका क्रममा कर्णालीमा थानी पक्षमाथि खड्का पक्ष हावी भयो ।

थानीले केन्द्रीय सदस्यमै १ मतले पराजय भोगे, खड्का भने उपसभापति निर्वाचित भए । खड्का १५औँ महाधिवेशनमा सभापति बन्ने लाइनमा हुँदा थानीले इतर पक्षबाट पदाधिकारी लड्ने तयारी गरेका थिए । नियमित महाधिवेशन नै हुन्थ्यो भने शेखर कोइराला पक्षबाट सम्भवतः थानी सह–महामन्त्रीमै भए पनि लड्थे ।

‘पदाधिकारीमा जाने अवस्था पनि आयो, नेताहरूसँग सरसल्लाह गर्नुपर्ला,’ थानीले मंसिर अन्तिम साता रातोपाटीसँगको कुराकानीमा भनेका थिए । नियमित महाधिवेशन पुसमा नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माहरूले पुस २७ गते विशेष महाधिवेशन आयोजना गरे ।

थानीको टिमका नेता शेखर कोइराला पार्टीलाई फुटबाट बचाउन भन्दै विशेष महाधिवेशनमा सहभागी भएनन् । कर्णालीका १३४ भन्दा धेरै प्रतिनिधि र थानी पक्षका धेरैजसो नेता–कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी भए ।

hridayaram-thani_PQJR1XRoU5

थानीकै टिमकी केन्द्रीय सदस्य समेत रहेकी जानकी सिंह, उनका विश्वास पात्र कांग्रेस सुर्खेतका पूर्वजिल्ला सभापति कमलराज रेग्मी, नारायण कोइराला, कालिप्रसाद शाक्य लगायतका नेता विशेष महाधिवेशनको पक्षमा खुले ।

स्रोतका अनुसार, सुर्खेतबाट विशेष महाधिवेशनमा सहभागी हुन गएका उनी पक्षका नेताहरूले पटक–पटक थानीलाई विशेष महाधिवेशन स्थलमा आउन आग्रह गरिरहेका थिए । बिचमा एक पटक विशेष महाधिवेशनमा थानी झुल्किए, तर शेखर कोइराला विशेष महाधिवेशनको विपक्षमा उभिएपछि थानी ‘ब्याक’ भए । पछि थानीले भने, ‘पार्टी फुट्नुहुन्न भन्ने पक्षमा हो म । कर्णालीबाट धेरैजसो साथीहरू आउनु भएकाले सम्झाउन गएको थिएँ ।’

अन्तिम समयमा थानी देउवा पक्षतिरै रहे । नभन्दै बुधबार कांग्रेस विभाजनको अवस्थामा पुग्यो । बिहीबार बिहानै थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा आफू उम्मेदवार नहुने घोषणा गरे ।

विज्ञप्तिमा थानीले दुई महिनादेखि खुट्टामा नसा सम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसकेको उल्लेख गरेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको जिकिर गर्दै उनले यो अवस्थामा फागुनमा निर्वाचन सम्पन्न गर्नु नै मुलुकको स्थायित्व र संविधानलाई लिगमा ल्याउन ठुलो निकास हुने प्रस्ट पारेका छन् ।

यद्यपि आफू भने उम्मेदवार नबन्ने उनले बताए । सुर्खेतका कांग्रेस नेता तथा कार्यकर्ताका लागि यो अप्रत्याशित खबर थियो ।

मंसिर २३ गते नै सुर्खेत—२ बाट उनको नाम उम्मेदवारका लागि सिफारिस गरिएको थियो । थानी, उपेन्द्रबहादुर थापा, कमल खत्री, नारायण कोइराला, भीष्म हमाल, बसन्ती बस्नेतको नाम यो क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

उम्मेदवारको टुङ्गो नलाग्दै कांग्रेस समस्यामा भयो । थानीले खुट्टाको समस्यालाई कारण देखाए पनि प्रमुख कारण आफ्नो मेरुदण्ड मानिएका सुर्खेती नेता नै गगन थापातर्फ लागेका कारण उनी चुनाव नलड्ने निर्णयमा पुगेको स्रोतको दाबी छ ।

‘उहाँका तीन दशक यताका विश्वासपात्र मानिएका सुर्खेती नेताहरू उता (विशेष महाधिवेशन)तिर लाग्नुभयो । यो अवस्थामा उहाँले आफूलाई सुरक्षित नठानेर उम्मेदवार नबन्ने घोषणा गर्नुभयो,’  एक स्थानीय नेताले भने, ‘नभए उहाँ जनतामा भिजेको र पश्चिम सुर्खेतको बलियो नेता हो ।’

स्रोतका अनुसार यसअघि उम्मेदवार सिफारिसमा आफूसहित ६ जनाको नाम पठाउँदा थानी रिसाएका थिए । सुर्खेत–१ मा पूर्णबहादुर खड्का एकल सिफारिस हुँदा आफूलाई चाहिँ एकल सिफारिस नगरेको भन्दै थानी रिसाएको एक नेताले बताए ।

  • ५० को दशकदेखि निरन्तर उम्मेदवारी दिँदै आएका थिए थानी

थानी ०५० को दशकदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ को गरी ६ वटा निर्वाचनमा उम्मेदवार बनेका थानीको जित र हार बराबर छ ।

०५१ को मध्यावधि निर्वाचनमा थानीलाई एमाले नेता यामलाल कँडेलले पराजित गरेका थिए । ०५६ मा थानी पुनः उम्मेदवार बनेर चुनाव जिते ।

thani

०६४ मा संविधान सभाको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कँडेलले फेरि थानीलाई पराजित गरे । ०७० को संविधान सभामा पनि कांग्रेसबाट सुर्खेत—२ मा थानी नै उम्मेदवार बने । उक्त चुनावमा एमालेका नेता कँडेलविरुद्ध एमालेकै शिवप्रसाद उपाध्याय बागी उम्मेदवार बनेपछि थानीले सहजै चुनाव जिते ।

०७४ मा एमाले–माओवादीबिच गठबन्धन हुँदा सुर्खेत—२ मा थानी पराजित भए । ०७९ मा माओवादीको समर्थनमा थानीले पुनः प्रतिनिधि सभा चुनाव जिते ।

आगामी फागुनमा हुने चुनावमा थानी चुनाव नलड्ने घोषणा गरेसँगै उक्त क्षेत्रमा कांग्रेसबाट को उम्मेदवार बन्छ भन्ने अन्योल कायम छ ।

०१६ सालमा सुर्खेतको गढी गाविसको बयलकाँडा (हाल वीरेन्द्रनगर नगरपालिका–१)मामा जन्मिएका थानी ०४९ सालमा पहिलो पटक जनप्रतिनिधिको रूपमा वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्ष बनेका थिए ।

उनी पार्टीभित्र ०४५ मा सुर्खेतको सदस्य हुँदै सुर्खेत—२ को क्षेत्रीय सभापति भए । ०५९ सालपछि जिल्ला सभापति हुँदै केन्द्रीय समन्वय विभागको सदस्यसचिव भएर पनि उनले काम गरेका थिए । पार्टीको १३औँ महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए पनि १४औँमा उनी पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप