एमालेका यी चर्चित अनुहार, जो उम्मेदवार बन्न पाएनन्
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याएको छ, जसमा केही नेताहरूले टिकट वितरणमा असन्तुष्टि जनाएका छन्।
- पार्टी अध्यक्ष केपी ओलीले विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना निकटस्थ व्यक्तिहरूलाई प्राथमिकता दिँदा पुरानो र प्रभावशाली नेताहरूले टिकट गुमाएका छन्।
- विभिन्न क्षेत्रमा उम्मेदवार चयनमा असन्तुष्टि, टिकट खोसिएका नेता र ओलीको रणनीतिले पार्टीभित्रको आन्तरिक विवादलाई उजागर गरेको छ।
विराटनगर । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएको छ । एमालेले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाहेक २३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । यद्यपि टुङ्गो लगाएका उम्मेदवारका विषयमा समेत असन्तुष्टि सार्वजनिक भइरहेको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकमै उपमहासचिव योगेश भट्टराईले टिकट वितरणप्रति असहमति राखेको जनाइएको छ । त्यसो त भट्टराईले उम्मेदवारी दिँदै आएको ताप्लेजुङमा अहिले एमालेको उम्मेदवार नै फाइनल गरिएको छैन ।
भट्टराईमात्रै होइन, कोशी प्रदेशमा पटक–पटक जितेका र चर्चामा रहेका शीर्ष नेताहरू नै ‘रिङ आउट’ भएका छन् । एमाले अध्यक्ष ओलीका निकट पात्रले अपेक्षा गरेअनुसारको टिकट पाउँदा आलोचकहरू र तटस्थ कतिपय नेताको निर्वाचन क्षेत्रमा अर्कैलाई टिकट दिइएपछि असन्तुष्टि चुलिएको हो ।
ओली निकट एमाले सचिव भानुभक्त ढकाल मोरङ–३ छाडेर तेह्रथुम पुगेका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फको सूचीमा राखिएका किशोरचन्द्र दुलालको नाममा टिपेक्स लगाएर संविधान सभा छिरेका ढकाल २०७४ सालको निर्वाचनमा भने मोरङ झरेका थिए ।
त्यसबेला मोरङ–३ का स्थानीय नेता, कार्यकर्ताको असन्तुष्टिकाबिच निर्वाचन जितेका ढकालले २०७९ सालको निर्वाचनमा भने लज्जास्पद पराजय व्यहोरेका थिए । निर्वाचनमा पराजित भए पनि अध्यक्ष ओलीको आशीर्वाद पाइरहेका उनले यस पटक तेह्रथुम रोजेका हुन् ।
उता, सुनसरी–३ बाट कष्टका साथ कांग्रेस नेता विजयकुमार गच्छदारलाई पराजित गरेर २०७९ सालमा प्रतिनिधि सभा प्रवेश गरेकी एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई क्षेत्र नम्बर ४ मा पठाइएको छ । क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएका जगदिश कुसियैतलाई २ वा ३ मा पठाउने ओलीको तयारी छ । उक्त छनोटप्रति सिधै असन्तुष्टि नराखे पनि चौधरीले सामाजिक सञ्जालमा क्षेत्र नम्बर ३ का जनतालाई धन्यवाद दिएकी छन् । ‘तपाईंको मतको ईज्जत राखेर प्रभावकारी भूमिका निर्वाह गर्ने, तपाईंको विश्वासमा खरो उत्रिनेछु भनी प्रतिबद्धताका साथ सुनसरी–३ का जनतासँग तपाईंको अमूल्य मत सूर्यमा माग्न चाहन्छु...,’ उनले भनिन् ।
उता, एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीको विपक्षी प्यानलबाट सचिव पदमा चुनाव लडेका अग्नि खरेललाई झापा–२ बाट टिकट दिइएन । २०७९ सालको निर्वाचनमा झापा २ नम्बर क्षेत्रबाट चुनाव लड्ने इच्छा राख्दाराख्दै ओलीले खरेललाई क्षेत्र नम्बर १ मा कांग्रेसका नेता विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धामा उतारेका थिए भने २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाएका थिए । यस पटक पनि खरेललाई रोक्दै उनै घिमिरेलाई २ नम्बरबाट ओलीले उम्मेदवारीको टिकट दिएका छन् ।
यस्तै झापा–४ बाट लामो समयसम्म निर्वाचन लडेर विजयी हुँदै आएका लाल प्रसाद साँवा (एलपी साँवा)लाई अध्यक्ष ओलीले टिकट नदिएर मनोज ताम्लीलाई उम्मेदवार बनाएका छन् ।
झापाका नेताहरूका अनुसार साँवा झापा क्षेत्र नम्बर ४ मा लोकप्रिय थिए । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ओलीको निर्वाचन क्षेत्र झापाबाट मात्रै १४ जना नेतालाई केन्द्रीय कमिटीमा तानियो । वडाको निर्वाचन पनि नजितेका नेताहरूलाई केन्द्रीय कमिटीमा तान्दै गर्दा दुई–दुई पटक जितेका साँवालाई बेवास्ता गरियो । अहिले टिकट नै खोसिएपछि साँवाका समर्थक निराश बनेका छन् ।
उता, ओलीले आफू झापा–५ बाट उठ्ने पक्का भएपछि आफ्नो जित सुरक्षित गर्न झापा–३ मा उम्मेदवार नै तोकेका छैनन् । एमाले स्रोतका अनुसार सो क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर झापा–५ मा आफू सहयोग लिने रणनीतिमा ओली छन् ।
उता, एमालेले मोरङ–१ मा ४८ साल यता निरन्तर चुनाव लड्दै आएका घनश्याम खतिवडालाई टिकट दिँदा २ मा भने रंगेलीका मेयर दिलिप बगडियालाई उम्मेदवार बनाउने भएको छ । २ नम्बरमा पनि एमालेका केन्द्रीय सदस्यसमेत रहेका सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेल खाली हात भएका छन् । मोरङ–६ बाट निर्वाचन लड्ने तयारी गरिरहेका एमालेका नेता विनोद ढकाल, लालबाबु पण्डितलाई यस पटक टिकटबाट बञ्चित गर्न सक्ने देखिएको छ । सो क्षेत्रमा हालसम्म एमालेले उम्मेदवार फाइनल गरेको छैन ।
यस्तै इलामको क्षेत्र नम्बर १ बाट निरन्तर निर्वाचनमा विजयी हुँदै आएका महेश बस्नेतलाई ओलीले ब्याक गराएका छन् । सो ठाउँमा ०७९ को स्थानीय निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयर पदमा पराजित बनेका काजिमान कागतेलाई एमालेले उम्मेदवार बनाएको छ । बस्नेत ओलीको आलोचक थिए ।
यस्तै संखुवासभामा एमालेका नेता राजेन्द्र गौतम र तुलसीप्रसाद न्यौपानेको दाबी थियो । दुवैको नाम कटाएर अध्यक्ष ओलीले डाक्टर अर्जुन कार्कीलाई उम्मेदवार बनाएका छन् । उता, खोटाङमा निरन्तर चुनाव लड्दै आएका विशाल भट्टराईलाई यस पटक ‘ब्याक’ गरिएको छ । उनको स्थानमा देवविक्रम राईलाई उम्मेदवार बनाइएको छ । सोलुखुम्बुमा पूर्वरक्षामन्त्री समेत रहेका मानवीर राईको ठाउँमा कल्पना राई उम्मेदवार बनेकी छन् ।
उता सुनसरीमा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक पक्का हुँदा ओली निकट भनेर चिनिएकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको टिकट खोसिएको छ । भोजपुरबाट एमाले सचिवसमेत रहेका नेता शेरधन राई र धनकुटाबाट प्रभावशाली नेता राजेन्द्र राई नै उम्मेदवार बन्ने भएका छन् । उदयपुर जिल्लामा दुर्गा थापा स्वोती र अमर रायमाझीले टिकट पाउने भएका छन् । उनीहरू नयाँ अनुहार हुन् ।
ओखलढुंगाका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ पनि टिकटबाट वञ्चित भएका छन् । एमालेले ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण