एमालेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उपमहासचिव योगेश भट्टराईले राखे ४ बुँदे ‘फरक मत’
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका छन्।
- भट्टराईले पार्टी नेतृत्वको कार्यशैली र उम्मेदवार छनोटको मापदण्डमाथि प्रश्न उठाएका छन्।
- उनले पार्टीको निर्णयप्रति 'फरक मत' दर्ता गराएका हुन्।
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले गरेको उम्मेदवार चयनको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै ४ बुँदे ‘फरक मत’ दर्ता गराएका छन् ।
माघ ३ गते बसेको केन्द्रीय कमिटी सचिवालय बैठकको निर्णयमाथि असहमति प्रकट गर्दै उनले नेतृत्वको कार्यशैली र उम्मेदवार छनोटको मापदण्डमाथि प्रश्न उठाएका हुन् ।
भट्टराईले प्रस्तुत गरेको फरक मतमा मुख्य गरी उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड अभाव रहेको उल्लेख गरिएको छ । उम्मेदवारको योग्यता, क्षमता, बौद्धिकता र पार्टीप्रतिको निष्ठाभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार बनाइएको उनको आरोप छ ।
‘कुनै ठाउँमा त्यही विशेषताको व्यक्तिलाई उम्मेदवारी दिइएको छ भने अर्को ठाउँमा त्यस्तै विशेषता भएको व्यक्तिलाई वञ्चित गरिएको छ,’ भट्टराईले भनेका छन्, ‘यसले गर्दा पार्टीको निर्णयप्रति देशव्यापी रूपमा एक स्वरले समर्थन प्राप्त हुन सकेको देखिँदैन ।’
पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनपछि आन्तरिक एकता सुदृढ हुनुपर्नेमा उम्मेदवार चयनका क्रममा महाधिवेशनको पक्षधरता र गुटगत भावना हाबी भएको उनले जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार छनोट गर्दा विविधता बिचको एकतालाई नजरअन्दाज गरिएको र यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उनको ठहर छ । यसलाई उनले आजको निर्णयको ‘गम्भीर भूल’ का रूपमा चित्रण गरेका छन् ।
यस्तै, प्रभावशाली नेताहरूले असुरक्षित महसुस गर्दै पुरानो निर्वाचन क्षेत्र छाडेर ‘सुरक्षित क्षेत्र’ तिर लागेको विषयमा पनि भट्टराईले तिखो टिप्पणी गरेका छन् । २०४८ सालमा काठमाडौँ–१ बाट मदन भण्डारीले लडेको उदाहरण दिँदै उहाँले प्रभावशाली नेताहरू चुनौतीपूर्ण क्षेत्रमा उत्रिए मात्र कार्यकर्तामा उत्साह आउने बताएका छन् ।
नेताहरू सुरक्षित क्षेत्रमा जाँदा एकातिर नकारात्मक सन्देश जाने र अर्कोतिर वर्षौँदेखि खटेका स्थानीय कार्यकर्तामाथि अन्याय हुने उनको तर्क छ । उपमहासचिव भट्टराईले पार्टीले अहिले गरेको निर्णयले चुनावी अभियानमा हुनुपर्ने उत्साह र अभूतपूर्व एकताको अवसर गुमाएको उल्लेख गरेका छन् ।
यद्यपि, पार्टीले निर्णय गरिसकेको अवस्थामा अहिलेको पहिलो सर्त एमाले उम्मेदवारहरूको विजय नै भएको बताउँदै उनले सम्पूर्ण कार्यकर्ताहरूलाई विचलित नभई चुनावी अभियानमा होमिन अपिल समेत गरेका छन् । उनले अहिलेको निर्णयमाथिको समीक्षा उचित समयमा हुने भन्दै तत्कालका लागि पार्टीको जीतमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
भट्टराईले फरक मत महासचिव शङ्कर पोखरेललाई आइतबार बुझाएको स्रोतले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण