बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तनावपूर्ण फाइनल: मोरक्कोलाई स्तब्ध पार्दै सेनेगल दोस्रो पटक अफ्रिकन च्याम्पियन

सोमबार, ०५ माघ २०८२, ०६ : ०३
सोमबार, ०५ माघ २०८२

सारांश

  • सेनेगलले मोरक्कोलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको उपाधि जित्यो।
  • खेलको अन्तिम समयमा पेनाल्टी विवाद र तनाव उत्पन्न भएको थियो, जसमा मोरक्को चुक्यो।
  • पापे गेयको गोल निर्णायक बन्यो, र मोरक्कोको ५० वर्षपछिको सपना अधुरै रह्यो।

रबात । मैदानभित्रको तनाव, अन्तिम समयको ड्रामा र पेनाल्टी चुकाउँदाको पीडाबीच सेनेगलले मोरक्कोलाई हराउँदै दोस्रो पटक अफ्रिका कप अफ नेसन्स (एफकन) को उपाधि जितेको छ। निर्धारित समयपछिको अतिरिक्त समयमा पापे गेयले गरेको निर्णायक गोलले सेनेगललाई विजय गरायो। 

निकै नाटकीय बनेको फाइनल खेलमा मोरक्कोका इब्राहिम डियाजले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मोरक्कोको ५० वर्षपछिको सपना अधुरै रहन पुग्यो।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिए पनि अन्तिम मिनेटहरू निकै विवादित र तनावपूर्ण रहे। इन्जुरी समयको २४औँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा मोरक्कोले पेनाल्टी पाएपछि मैदानमा तनाव उत्पन्न भएको थियो।

सेनेगलका खेलाडीहरूले विरोध स्वरूप मैदान छाडेका थिए भने दर्शकदीर्घामा सुरक्षाकर्मी र समर्थकबिच झडप भएको थियो। लामो समयको पर्खाइ र तनावपूर्ण वातावरणमा प्रहार गरिएको पेनाल्टीमा डियाज चुके। उनले बललाई चिप गर्ने प्रयास गरे पनि सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले सजिलै बल नियन्त्रणमा लिए।

अतिरिक्त समयको चौथो मिनेटमा पापे गेयले गोल गर्दै सेनेगललाई अग्रता दिलाए। त्यसपछि मोरक्कोले बराबरी गर्ने केही प्रयास गरे पनि सफल हुन सकेन। नाएफ अगुएर्डको प्रहार बारमा ठोक्किनु मोरक्कोका लागि अभागी साबित भयो। 

सन् २०३० को विश्वकप आयोजनाको तयारीमा रहेको मोरक्कोका लागि घरेलु मैदानमा वर्षासँगै भएको यो हार निकै पीडादायी बन्यो। रबातको वर्षातमा मोरक्कोको सन् १९७६ यताको पहिलो महादेशीय उपाधि जित्ने सपना पखालियो।

सन् २०२१ मा इजिप्टलाई हराएर पहिलो पटक उपाधि जितेको सेनेगलका लागि यो लगातार दोस्रो सफलता हो। टोलीका मुख्य खेलाडी सडियो मानेका लागि यो प्रतियोगिता अन्तिम हुन सक्ने संकेतका बिच सेनेगलले ऐतिहासिक जित दर्ता गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप