सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसका १० नेताद्वारा निर्वाचन नलड्ने घोषणा

सोमबार, ०५ माघ २०८२, ११ : २३
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका १० नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्।
  • उपसभापति विश्वप्रकाश शर्मा, हृदयराम थानी, र डा. नारायण खड्का लगायतका नेताहरूले निर्वाचन नलड्ने बताए।
  • काठमाडौँका राजेन्द्रकुमार केसी र दोलखाका जिपछिरिङ लामाले पनि निर्वाचन नलड्ने घोषणा गरे।

काठमाडौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् ।  

अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा  विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा छन् । २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी आफू पार्टीको काममा लाग्ने सार्वजनिक रूपमा बताएका छन् ।

त्यस्तै हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू, डा. नारायण खड्काले विज्ञप्ति जारी गरेर निर्वाचन नलड्ने बताएका छन् । उनीहरू सबै पूर्वमन्त्री र प्रत्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै पटक–पटक निर्वाचन जितेका नेतामा पर्छन् ।

बलबहादुर केसीले आफ्नो जिल्लाका सबै नेताहरूलाई राखेर निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

काभ्रेका नेता शिव हुमागाईले पनि आइतबार डा. शेखर कोइराला समूहले आइतबार काठमाडौँमा गरेको भेलामा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

जेनजी आन्दोलन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा कतैतर्फ पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् । गृहजिल्ला बाजुरा पुगेर पाण्डेले आफू उम्मेदवार नहुने बताएका हुन् । उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए ।

पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति भएकाले निर्वाचन नलड्ने बताएका हुन् ।

त्यसअघि पाण्डे राष्ट्रिय सभा सदस्य थिए भने २०७० सालमा संविधानसभा सदस्य थिए।

काठमाडौँको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा निर्वाचन नलड्ने उनको भनाइ छ । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसीले बताए ।

केसी २०७०, २०७४ र २०७९ मा काठमाडौँ १० बाट निर्वाचित भएका थिए ।

अर्का नेता जिपछिरिङ लामाले गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताहरूलाई राखेर आफू निर्वाचन नलड्ने बताएका छन् । लामा २०६४ सालमा पहिलो संविधानसभामा सदस्य थिए । दोस्रो संविधान सभा निर्वाचन हुँदा २०७० सालमा उनी दोलखाबाट चुनाव लडे पनि पराजित भएका थिए ।

निर्वाचन नलड्ने घोषणा गर्नेमा पूर्व कृषिमन्त्रीसमेत रहेका धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी पनि छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा मन्त्री रहेका अधिकारीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।

अधिकारी २०७९ को प्रतिनिधि सभा चुनावमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप