बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछन्’

सोमबार, ०५ माघ २०८२, १२ : ३५
सोमबार, ०५ माघ २०८२

सारांश

  • माधवकुमार नेपालले चाडपर्वले एकता, सद्भाव र सहअस्तित्व सुदृढ गर्ने बताए।
  • ल्होसारको अवसरमा शुभकामना दिँदै उनले मौलिक चाडपर्वको संरक्षणमा जोड दिए।
  • झलनाथ खनालले ल्होसारको शुभकामना दिँदै एकता र समृद्धिको कामना गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताएका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रत जातजाति तथा धर्मावलम्बीका आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । उनले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको विचार व्यक्त गरे ।

यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका छन् । नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नुपर्ने उनले उल्लेख गरे ।

विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा खनालले जोड दिए । उनले मुलुकलाई अब सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप