मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बझाङ एमालेमा असन्तुष्टिः टिकट लफडाकै कारण जिल्ला कमिटी सदस्यले छाडे पार्टी

सोमबार, ०५ माघ २०८२, २० : ३३
सोमबार, ०५ माघ २०८२

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बझाङका जिल्ला कमिटी सदस्य मनबहादुर घर्तीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट र टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेका हुन् । 

एमाले जिल्ला कमिटी अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा घर्तीले बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि पूर्वसंविधान सभा सदस्य अफिलाल ओखेडालाई टिकट दिनेबारे केन्द्रीय सचिवालयले निर्णय गरे पनि अन्तिममा अर्कै व्यक्तिलाई टिकट दिइएकोमा गम्भीर आपत्ति जनाए । उनले टिकट वितरण प्रक्रियामा व्यापक मनोमानी र अपारदर्शिता भएको तथा इमानदार कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

पार्टीभित्र पटक–पटक आफ्ना असहमति र धारणा राख्दा पनि सुनुवाइ नभएको गुनासो उनले पत्रमा पोखेका छन् । 

अलोकतान्त्रिक र सिद्धान्तहीन अभ्याससँग आफू जोडिरहन नसक्ने निष्कर्ष निकाल्दै घर्तीले आजकै मितिदेखि लागू हुने गरी एमालेको सम्पूर्ण जिम्मेवारीबाट स्वेच्छिक राजीनामा दिएको घोषणा गरेका छन् । भविष्यमा पार्टीले लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने अपेक्षा राख्दै उनले अहिलेसम्म सहकार्य गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप