बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपाले मनाङमा दिएन उम्मेदवारी, उम्मेदवारको मोबाइल स्विच अफ

मङ्गलबार, ०६ माघ २०८२, १८ : ११
मङ्गलबार, ०६ माघ २०८२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मनाङमा उम्मेदवारी दिएन । प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबार हालसम्म ५ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । 

मनोनयन दर्ताको समय सकिएको छ । ‘समय सकियो । हालसम्म ५ जनाले मात्रै मनोनयन दर्ता गराउनुभएको छ,’ उनले भने ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छिन् । यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उम्मेदवार पोल्देन यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । यस पटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबिच नै मुख्य भिडन्त हुने आकलन गरिएको छ ।

रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार अनिल गुरुङलाई टिकट दिइएको थियो । ‘उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल स्विच अफ छ,’ उनले भने, ‘साथीहरूसँग बुझ्न जाँदै हुनुहुन्छ भन्ने सुनेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप