बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने

बिहीबार, ०८ माघ २०८२, ०१ : ११
बिहीबार, ०८ माघ २०८२

सारांश

  • काठमाडौं महानगरले माघ १० गतेदेखि सहिद सप्ताह सुरु गर्ने भएको छ।
  • सहिद सप्ताहमा श्रद्धाञ्जली सभा र स्मृति सभा लगायतका कार्यक्रम हुनेछन्।
  • १९९७ मा प्राणदण्ड दिइएका सहिदहरुको सम्झनामा यो सप्ताह मनाइन्छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने भएको छ ।

बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले विसं १९९७ मा प्राणदण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरूको सम्झनामा स्मृतिसभा गर्ने निर्णय गरेको हो ।

नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आएको छ । सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ ।

माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुने महानगरले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृतिसभाका लागि भेला हुने कार्यक्रम तय भएको छ । यी कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडालाई कार्यक्रम सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

विसं १९९७ माघ ७ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो ।

शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रूपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथचन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप