बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

बारा–३ : ९ वर्षपछि रूखमा भोट हाल्दै कांग्रेस कार्यकर्ता

७० नाघेका कांग्रेस सहमहामन्त्री मन्सुर पुनः प्रतिस्पर्धामा
बिहीबार, ०८ माघ २०८२, १५ : ००
बिहीबार, ०८ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर ७० वर्षको उमेरमा बारा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।
  • मन्सुर यसपटक निवर्तमान सांसद ज्वालाकुमारी साह, पूर्वसांसद रामबाबु प्रसाद यादव र रास्वपाका अरविन्द साहसँग प्रतिस्पर्धा गर्दैछन्।
  • कांग्रेसभित्रको असन्तुष्टि र मधेसवादी दलहरूबारेको टिप्पणीका साथै, रास्वपाका उम्मेदवारले युवा पुस्तालाई अवसर दिनुपर्ने बताए।
00:00 / NaN:NaN
Audio By AI

बारा । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर उमेरले ७० नाघेका छन् । अझ चलनचल्तीको भाषामा भन्दा उनी ज्येष्ठ नागरिक भइसके ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाराका ४ वटा क्षेत्रबाट उम्मेदवारी दिने ११२ जनामध्ये मन्सुर सबैभन्दा पाका उम्मेदवार हुन् । बारा क्षेत्र नं ३ मा मन्सुर यसपटक निवर्तमान सांसद एवं पूर्वमन्त्री ज्वालाकुमारी साह, पूर्वसांसद रामबाबु प्रसाद यादव र रास्वपाका युवा उम्मेदवार अरविन्द साहसँग भिड्दै छन् ।

दुईपटक मन्त्री र दुई कार्यकाल संघीय सांसद् भइसकेका मन्सुर पाँचौँपटक चुनावी मैदानमा उत्रिएका हुन् । उनले बारा क्षेत्र नं ४ र ३ बाट क्रमशः २०४८, २०५६, २०६४ र २०७० मा चुनाव लडेका थिए ।

२०७४ र २०७९ को निर्वाचनमा भने कांग्रेस कार्यकर्ताले गठबन्धनका अन्य उम्मेदवारलाई फरक चुनाव चिह्नमा मतदान गरेका थिए । करिब ९ वर्षपछि बारामा कांग्रेसका नेता तथा कार्यकर्ताले रूख चिह्नमा मतदान गर्दैछन् ।

farmullah mansoor

मन्सुरले यसपटक शेरबहादुर देउवा गुटबाट विद्रोह गरेर गगन थापा समूहमा प्रवेश गरेकाले निर्वाचन क्षेत्रको वातावरण भने सहज भइसकेको छैन । उनको मनोनयन दर्तामा उनकै पार्टीका जिल्ला सभापति, उपसभापति राजेश राय यादव, मनोज भट्ट लगायतको ठुलो समूह सहभागी भएन । जिल्ला सभापति क्षेत्र नं ३ का स्थानीयवासी हुन् र उनीहरू देउवा समूहमा छन् ।

रातोपाटीसँगको कुराकानीमा कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले टिकट वितरणमा असन्तुष्टि भए पनि पार्टीले गरेको निर्णय मान्नैपर्ने टिप्पणी गरे ।

यता ७० वर्ष नाघेका मन्सुरलाई पुनः उम्मेदवारी दिनुको कारणबारे गरिएको प्रश्नमा उनले मधेसवादी दलहरूबाट मधेसको विकास नहुने दाबी गरेका छन् । साथै, रास्वपालाई ‘चटके’ को संज्ञा दिँदै उनले ‘जेनजी’ आन्दोलनपछि पानीको फोकासरह केही चटकेहरू निर्वाचनमा आएको टिप्पणी गरे ।

‘हाम्रो प्रतिस्पर्धा उनीहरूसँग छैन, यो चटक मात्रै हो । पानीमा फोका देखिएजस्तै आउँछन् र केही समयमै हराएर जान्छन्,’ मन्सुरले भने, ‘अहिले देशको राजनीतिक अन्योल र भयको समाधान निर्वाचनबाट मात्रै हुन्छ ।’

बारा क्षेत्र नं ३ मा जीतपुर सिमराका ८ वटा, कलैया उपमहानगरका २६ र फेटा गाउँपालिकाका ४ वटा गरी ३८ वटा वडा पर्दछन् । यो क्षेत्रमा करिब १ लाख मतदाता छन् । 

२०७९ को निर्वाचनमा ३ हजार बढी मतले एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी थिइन् । त्यतिबेला जसपा उम्मेदवार रामबाबु यादव साहसँग मुख्य प्रतिस्पर्धामा थिए ।

arbind shah

यसपटक भने कांग्रेस, एमाले र जसपाबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले युवालाई चुनावी मैदानमा उतारेको छ । पेसाले इन्जिनियर रहेका रास्वपाका उम्मेदवार अरविन्द साह ‘खल्ती एप’ का संस्थापक निर्देशक हुन् ।

रातोपाटीसँगको कुराकानीमा साहले पुराना दलहरूले २०औँ वर्षदेखि नेतृत्व गर्दै आएकोले अब जनताको चाहनाअनुसार नयाँ दललाई अवसर दिनुपर्ने बताए । ‘अन्य ठुला दलहरूले गरेको कामलाई संस्थागत गर्दै अब विकासलाई अगाडि बढाउन रास्वपाले नेतृत्व गर्ने अवसर आएको छ,’ साहले भने, ‘जनताको चाहनाअनुसार नै हामीले उम्मेदवारी दिएका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप