श्रीपञ्चमीः मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
मिथिला मुख्यतः कृषिकर्म थलो मानिन्छ । यहाँका धेरैजसो धार्मिक तथा सांस्कृतिक पर्वहरू कृषिसँग जोडिन्छन् । श्रीपञ्चमी त कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् ।
“श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्”, जलेश्वर–५ का बासिन्दा मिथिला संस्कृतिविद् ध्रुव राय भन्छन्, “यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया/कचियाँ उद्याउने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार (यी काम गर्ने मिथिलाका खास जातिविशेष) तय गर्छन् ।” श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराई दक्षिणा दिने चलन रहेको अवकाशप्राप्त सहप्राध्यापक रहेका राय बताउँछन् ।
यसरी नै यसै पर्वको दिन किसानले खेतबारीमा गोरु नारेर हलो जोत्छन् । यो परम्परामा हलो जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यस दिन हलो नारेर खेत जोतेपछि वर्षभरि कृषिकर्मको राम्रो प्रतिफल पाइने मैथिल जनविश्वास रहेको पूर्वप्रशासक रहेका झाले बताए ।
मिथिलामा यस दिन हलो, कुटो/कोदालोसहितका कृषि ज्यावल धोइपखाली पूजा गर्ने चलनसमेत रहेको झाले सम्झिए । यसरी कृषि ज्यावलको पूजा गरिँदा यी सामान टिकाउ हुने र शुभ फलदायक हुने विश्वास रहेको उनी बताउँछन् ।
मिथिलामा श्रीपञ्चमी पर्वसँगै वसन्त ऋतु सुरु हुने विश्वास गरिन्छ । यस दिनसँगै जाडो घटेर दिन लामो हुँदै जाने हुँदा यो मौसमी परिवर्तनले चैती फसल गहुँ, चना, मुसुरो, रहरी र सस्र्यूँलाई अनुकूलता हुने किसान विश्वास गर्छन् । यसै पर्वका दिन मिथिलामा आउने सिजनको खेती लगाउने विभिन्न बालीको बीउका लागि राम्रो दाना छान्ने, सुकाउने र सुरक्षित भण्डारण गरिने परम्परा रहेको गौशाला–१० बटुवाका ७५ वर्षीय किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाको भनाइ छ । यसै दिन शुद्धीकरण गरिएको बीउलाई धूपआरती देखाइने चलनसमेत रहेको कुशवाहा बताउँछन् । यसैगरी यसै दिन गोबर मलको भकारो व्यवस्थापन गर्ने पनि चलन रहेको उनको भनाइ छ ।
मिथिला क्षेत्रका किसानले यसै दिन आउने वर्षभरिको खेतीपातीको योजना बनाउने र छरछिमेकका बुढापाकाहरू खेतीपाती र मौसमको पूर्वानुमान गर्ने पुरानो चलन छ । यस पर्वलाई हरियाली र सम्पन्नताको प्रतीकका रूपमा परम्परादेखि मानिँदै आइएको मिथिला क्षेत्रका प्रख्यात साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ ।
मिथिलामा कृषि क्षेत्रको मुख्य पर्व रहेर पनि पछिल्ला केही दशकयता भने मौसमको पूर्वानुमान भने मिल्न छाडेको यहाँका पाका किसान बताउँछन् । बर्खा, हिउँद र गृष्मकालीन वर्षा र मौसमीय छाँट निकै फेरिएका औरही–७ भोइलटिम्कियाका ७५ वर्षीय किसान मोहन महतोको पछिल्लो अनुभव छ । मौसम तथा वातावरण विज्ञहरू भने यो विश्वव्यापी जलवायु परिवर्तनको असरले भएको बताउँछन् ।
यसैगरी कृषि नववर्ष मानिने परम्पराको यो पर्वमा सबैभन्दा मुख्य पक्ष कृषि श्रमिकको छनोट र वरण गर्न नपाइएको कैयौँ वर्ष भइसकेको भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान गोविन्दलाल खाँ थारु बताउँछन् । कृषिकर्मका युवा श्रमिक कामका लागि भारतको हरियाणा र पञ्जाव जाने लहरले यहाँ यस्तो जनशक्ति पाइन छाडिएको थारुको भनाइ छ । यसबाहेक तीनै तहका सरकारबाट वास्तविक किसानले कृषि सम्बद्ध सुविधा र सहुलियत पाउन नसक्दा पनि अब यो पर्व परम्परा थेग्नसमेत गाह्रो पर्न थालेको आम किसान बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण