बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिलो एकदिवसीय खेलमा श्रीलंकाद्वारा इंग्ल्याण्ड १९ रनले पराजित

शुक्रबार, ०९ माघ २०८२, ०७ : १३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • श्रीलंकाले इंग्ल्याण्डलाई पहिलो एकदिवसीय खेलमा १९ रनले पराजित गर्यो र शृंखलामा अग्रता लियो।
  • मेन्डिसको उत्कृष्ट प्रदर्शन र वेल्लालागेको विस्फोटक ब्याटिङले श्रीलंकालाई सम्मानजनक स्कोर दिलायो।
  • इंग्ल्याण्डका लागि डकेट र रुटले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानको कमजोर प्रदर्शनले हार भयो।

कोलम्बो । घरेलु टोली श्रीलंकाले इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खलामा विजयी सुरुवात गरेको छ। बिहीबार कोलम्बोस्थित आरपीएस स्टेडियममा भएको पहिलो खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई १९ रनले हराउँदै शृङ्खलामा १–० को अग्रता लिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा २७१ रनको बलियो योगफल खडा गर्‍यो। श्रीलंकाका लागि मध्यक्रमका भरपर्दा ब्याटर कुसल मेन्डिसले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ९३ रनको योगदान दिए। 

ओपनर पाथुम निसांका र कमिल मिशाराले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाए पनि उनीहरू क्रमशः २१ र २७ रनमा आउट भए। धनञ्जय डी सिल्भा र कप्तान चरिथ असलंकाले खासै रन जोड्न नसकेको अवस्थामा जनिथ लियानागेले ४६ रन बनाउँदै मेन्डिसलाई बलियो साथ दिए। 

अन्त्यमा दुनिथ वेल्लालागेले विष्फोटक ब्याटिङ गर्दै मात्र १२ बलमा २५ रन जोडेपछि श्रीलंका सम्मानजनक स्कोरसम्म पुग्यो। इंग्ल्याण्डका लागि आदिल रशिदले ३ विकेट लिए भने साम करन, लियम डसन र रेहान अहमदले समान १–१ विकेट हात पारे।

तर, २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २५२ रनमा अलआउट भयो। सुरुवाती झट्काका बाबजुद बेन डकेट र जो रुटले शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए। डकेट ६२ र रुट ६१ रन बनाएर आउट भएपछि इंग्ल्याण्डको ब्याटिङ धर्मरायो। 

कप्तान ह्यारी ब्रुक ६ र जोस बटलर १९ रनमा समेटिएपछि मध्यक्रम पूर्ण रूपमा असफल देखियो। अन्तिमतिर रेहान अहमदले २७ र जेमी ओभरटनले ३४ रन जोडेर टिमलाई जिताउने प्रयास गरे पनि सफल भएनन्।

श्रीलंकाका बलर प्रमोद मदुशनले ३९ रन खर्चेर ३ विकेट लिए। स्पिनर दुनिथ वेल्लालागे र जेफ्री भान्डरसेले समान २–२ विकेट लिए। खेलमा अलराउन्ड प्रदर्शन गरेका वेल्लालागे ‘प्लेयर अफ द म्याच’ घोषित भए।

टी–२० विश्वकपको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको इंग्ल्याण्डले अब जनवरी २४ मा दोस्रो एकदिवसीय खेल खेल्नेछ। तीन खेलको एकदिवसीय शृङ्खलापछि यी दुई टोलीबिच तीन खेलकै टी–२० शृङ्खला पनि हुने तालिका छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप