आउनुहोस्, सृजनात्मक विद्रोह र गम्भीर दार्शनिक चिन्तनमा लागौँ
सारांश
- लेखमा वर्तमान स्थिति जोगाउन संघर्ष र नयाँ विश्व व्यवस्थाको आवश्यकताको बारेमा चर्चा गरिएको छ।
- रुसको सम्झौताको बाटो रोज्ने सम्भावना र 'सामूहिक पश्चिम'को धारणाबारे विश्लेषण गरिएको छ।
- लेखमा समाजलाई नयाँ स्वरूप दिन, युवा पुस्तालाई शिक्षित गर्न र दार्शनिक चिन्तनको महत्वबारे जोड दिइएको छ।
कहिलेकाहीँ लाग्छ, हामी केवल वर्तमान स्थितिलाई जोगाइराख्नका लागि मात्र लडिरहेका छौँ वा हामीमाथि थुप्रिँदै गरेका चुनौतीहरूको प्रतिरोध मात्र गरिरहेका छौँ। तर, आंशिक सत्य के हो भने जुनसुकै प्रतिरोधका लागि पनि दृढ इच्छाशक्ति आवश्यक हुन्छ।
यदि रुस अहिलेको भन्दा फरक नेतृत्वद्वारा सञ्चालित भएको भए, उसले धेरै अघि नै सम्झौताको बाटो रोज्ने थियो र वर्तमान स्थितिको प्रतिरोध वा संघर्ष नै गर्ने थिएन। यसैको प्रतिक्रिया स्वरूप हामीले सोभियत संघ गुमायौँ। सोभियत संघको पतनसँगै हामीले आफ्नो भूभाग पनि गुमायौँ। अन्ततः हामी विशाल रुसी महासंघ नै गुमाउने स्थितिमा पुग्यौँ।
अर्कातर्फ, हाम्रा अघिल्तिर अत्यन्तै घातक योजनाहरू पनि छन्। ‘सामूहिक पश्चिम’ को दृष्टिकोणमा हामी वर्तमान स्थितिबाट पछि हट्नु भनेको उनीहरूको भाषामा ‘विऔपनिवेशीकरण’ हुनु हो। तर, हाम्रा लागि वास्तवमा त्यो रुसी विखण्डन, सत्ता परिवर्तन र सम्प्रभुताको पतन हो।
त्यसैले, हामीले त्यस्ता सोचहरूको सक्रियतापूर्वक प्रतिरोध गर्नैपर्छ। हाम्रो लक्ष्य वर्तमान स्थितिलाई जोगाउनु नै हो, ताकि शत्रु राष्ट्रहरूको रणनीति सफल नहोस्। यसलाई कायम राख्नु भनेको आफैमा आधा विजय प्राप्त गर्नु हो। तर, अब हाम्रा लागि त्यति मात्र पर्याप्त छैन भन्ने कुरा स्पष्ट हुँदै गएको छ।
उनीहरू पुरानै स्थितिलाई कायम राख्न चाहन्छन्, जबकि हामी भने सबै कुरा परिवर्तन गरेर नयाँ र शान्तिपूर्ण विश्व व्यवस्था कायम गर्नका लागि प्रतिरोध गरिरहेका छौँ।
त्यसैले हामीसँग महापरिवर्तनको आफ्नै योजना र स्पष्ट मार्गचित्र हुनुपर्छ। यहाँ, यथास्थितिलाई कायम राख्नु रणनीतिको केवल पहिलो पाइला मात्र हो। यदि कसैले यसै स्थितिलाई कायम राख्नका लागि बलपूर्वक जोड दिन्छ भने, त्यो अन्ततः परिवर्तनको अवरोधक ठहरिन पुग्छ।
पुरानो विश्व व्यवस्था तथा अन्तर्राष्ट्रिय कानुन जोगाएर राख्नुको औचित्य अब समाप्त भइसकेको छ। यतिबेला ती सबै संरचनाहरू भत्किन पुगेका छन् वा भनौँ तिनको पतन भइसकेको छ।
ठीक यति नै बेला आमूल तथा मौलिक परिवर्तनको ढोका उघारिएको देख्न सकिन्छ। अहिलेसम्म हामी यी परिवर्तनहरूको केवल अन्धकार र विनाशकारी पक्ष मात्रै देखिरहेका छौँ। वास्तवमा यो यसरी नै चलिरहेको छ, किनभने शत्रु राष्ट्रहरूको योजना अझै पनि पूर्ण रूपमा प्रभावकारी नै छ।
उनीहरू पुरानै स्थितिलाई कायम राख्न चाहन्छन्, जबकि हामी भने सबै कुरा परिवर्तन गरेर नयाँ र शान्तिपूर्ण विश्व व्यवस्था कायम गर्नका लागि प्रतिरोध गरिरहेका छौँ।
हामीले यस विषयलाई अलिक भिन्न र गहिरो दृष्टिले हेर्नैपर्छ। विश्वव्यापी रूपान्तरणको यो घडीमा हामीलाई आफ्नै मौलिक योजना, दिशा र मार्गदर्शनको आवश्यकता छ। हाम्रा मूल्य–मान्यता र प्राथमिकताहरू केवल अरूको सिको नभई, हाम्रै स्पष्ट र दृढ आत्मविश्वासबाट निर्मित हुनुपर्छ।
विडम्बना के छ भने, वर्तमान अवस्थामा हामीसँग व्यावहारिक रूपमा न त कुनै मौलिक विचारधारा छ, न स्पष्ट सांस्कृतिक दिशा, न त भविष्यप्रतिको ठोस दृष्टिकोण नै। हामी अझै पनि सन् १९९० को दशकको सोभियतकालीन निराशा र जडताकै अवशेषमा बाँचिरहेका छौँ।
शासक वर्गको मानसिकता त यस्तै छ नै, दुर्भाग्यवश आम जनता पनि त्यसबाट मुक्त हुन सकेका छैनन्। हामी अझै पनि त्यही सोभियतकालीन ‘ओलिभिए’ सलादकै स्वादमा रमाइरहेका छौँ। पुराना सोभियत चलचित्रहरू वा ९० को दशकको अराजकता झल्काउने शृङ्खलाहरू हेरेर रमाइरहेका छौँ।
समाजको अध्ययन मात्र गर्ने लक्ष्य अब पूर्णतः अप्रासङ्गिक भइसकेको छ। अबको ध्येय भनेको समाजलाई एउटा नयाँ, उन्नत र विशिष्ट स्वरूपमा सिर्जना गर्नु हो, सङ्गठित गर्नु हो।
अहिलेको वास्तविक आवश्यकता योभन्दा पूर्णतः भिन्न छ। जनताले अतीत र वर्तमानको मोहबाट मुक्त भएर भविष्यतर्फ हेर्नुपर्छ, भविष्यको निर्माण प्रक्रियामा सक्रिय सहभागी हुनुपर्छ। यस सन्दर्भमा ‘सामाजिक वास्तुकला’ अत्यन्तै सान्दर्भिक शब्द हो। समाज र राष्ट्र निर्माणको महायज्ञमा जनतालाई यसरी उत्प्रेरित गरिनुपर्छ, मानौँ उनीहरू आफ्नै भविष्य आफैँ कोर्न साहस र सक्रियतासाथ होमिएका छन्।
समाजको अध्ययन मात्र गर्ने लक्ष्य अब पूर्णतः अप्रासङ्गिक भइसकेको छ। अबको ध्येय भनेको समाजलाई एउटा नयाँ, उन्नत र विशिष्ट स्वरूपमा सिर्जना गर्नु हो, सङ्गठित गर्नु हो। त्यसका लागि मानिसलाई शिक्षित र जागृत गर्दै एउटा प्रबुद्ध समाजको जग बसाल्नु हो।
व्यवस्थित समाज कुनै पनि युगमा आफैँ निर्माण हुँदैन, यसलाई सचेत रूपमा स्थापित गरिन्छ। यसको निर्माण केवल शक्ति वा बलको भरमा मात्र सम्भव छैन। बरु यो त ती भविष्यद्रष्टा, चिन्तक, कवि र अग्रदूतहरूद्वारा सम्भव हुन्छ, जसले समाजको पहिचान र गन्तव्यलाई एउटा स्पष्ट स्वर प्रदान गर्छन्।
यी सम्पूर्ण विषयहरू केवल प्रविधिसँग मात्र सम्बन्धित छैनन्, बरु यिनीहरूको जरा ‘अस्तित्वबोध’ सँग गाँसिएका छन्। प्रविधिहरू साधन त हुन्, तर ती आफैँमा साध्य वा सार होइनन्। तिनले जागरण र निद्रा, उत्थान र पतन दुवैका निम्ति औजारको काम गर्न सक्छन्। तर, मुक्ति न त प्रविधिमा छ, न प्रविधिका ज्ञाताहरूमा। मुक्ति त मानवीय आत्मा, मौलिक विचार र अटल विश्वासमा मात्र निहित हुन्छ।
हाम्रा शासक र नेतृत्व वर्गमा गहिरो दार्शनिक चेतनाको चरम अभाव देखिन्छ। उनीहरूमा गहन चिन्तन, मनन र अन्तर्ज्ञानबाट प्राप्त हुने अनुभूतिको कमी छ। उनीहरूको सम्पूर्ण शक्ति दैनिक प्रशासनिक व्यवस्थापन र जसोतसो यथास्थितिलाई जोगाइराख्नमै खर्च भइरहेको छ। यसरी न त नयाँ भविष्यको सिर्जना गर्न सकिन्छ, न त भविष्यको सही पूर्वानुमान नै।
कहिलेकाहीँ सत्ताधारीहरू आशावादी नजरले युवातर्फ हेर्छन्, तर युवाहरू त आखिर समाजकै प्रतिरूप न हुन्। उनीहरू त्यही प्रणालीका उपज हुन्, जसले उनीहरूलाई हुर्कायो। उचित पालनपोषण र मौलिक शिक्षाबिना युवाहरूले आफैँमा नयाँ विचार वा दृष्टिकोण निर्माण गर्न सक्दैनन्।
पुरानो विश्व विघटित भइरहेको यो अवस्थामा यथास्थितिकै भर पर्नु वा कुनै नयाँ स्पष्टता बिना बस्नु हार स्वीकार्नुसरह हो। यो घडी भनेको सृजनात्मक विद्रोह र गम्भीर दार्शनिक चिन्तनका लागि तयार हुने बेला हो।
उनीहरूलाई एउटा सुसङ्गत विचारको खाँचो छ, जुन उनीहरू स्वयंले मात्र सिर्जना गर्न सक्दैनन्। संक्षेपमा भन्दा, समस्या युवाहरूमा होइन; उनीहरू त केवल परिस्थितिको जडताका कारण यथास्थितिको रक्षा गर्छन् वा उदार–पश्चिमी दृष्टिकोणबाट प्रभावित हुन्छन्।
यदि यथास्थितिवादीहरूले नै युवालाई शिक्षित गरिरहेका छन् भने युवाहरू पनि यथास्थितिवादी नै हुनेछन्। त्यसैले, प्रश्न ‘युवा कस्ता छन्’ भन्ने होइन, ‘युवा कस्तो हुनुपर्छ’ भन्ने हो। र, यसको फैसला उनीहरू स्वयंले गर्न समर्थ नहुन सक्छन्।
ट्रम्पको उदयले एक वर्षमै अमेरिकी यथास्थितिलाई तहसनहस पारिदियो। यो सुखद भयो वा दुःखद, त्यो बहसको अर्कै पाटो होला, तर सत्य के हो भने– पुरानो विश्व व्यवस्था अब ढलिसक्यो। अबको नयाँ संसारमा हाम्रा लागि कुनै पनि स्थान सुरक्षित राखिएको छैन।
आफ्नो अस्तित्व जोगाउन हामीले आफ्नो स्थान आफैँ तय गर्नुपर्नेछ, जसका लागि वैचारिक र अस्तित्वको युद्ध जित्नु अनिवार्य छ। अस्तित्वमा रहनुको अर्थ र निर्णय कुनै सरकारी अधिकारी वा प्राविधिकले गर्न सक्दैनन्, न त यो दिशाहीन भीडले नै गर्न सक्छ। यो निर्णय त केवल दार्शनिक चिन्तकले मात्र गर्न सक्छ।
त्यसैले रुसलाई आज एउटा सार्वभौम चिन्तनको खाँचो छ।
पुरानो विश्व विघटित भइरहेको यो अवस्थामा यथास्थितिकै भर पर्नु वा कुनै नयाँ स्पष्टता बिना बस्नु हार स्वीकार्नुसरह हो। यो घडी भनेको सृजनात्मक विद्रोह र गम्भीर दार्शनिक चिन्तनका लागि तयार हुने बेला हो।
(अनुवादः मोहनप्रसाद ज्ञवाली)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण