‘बरू १० चोटि चुनाव हार्छु तर समानुपातिकमा बस्ने छैन’
काठमाडौं । निशा अधिकारी परिचय बदल्दैछिन् । उनी अभिनेत्रीबाट नेतृको भूमिकामा आएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी छन् ।
राजनीतिलाई पेसा होइन, सेवा रूपमा अगाडि बढ्ने अठोट लिएकी छन् निशाले । रातोपाटीको ‘वारपार’मा उनले १०–१२ वर्षको निश्चित कालखण्डका लागि देशमा नीतिगत परिवर्तन ल्याउन राजनीतिमा आएको बताइन् । युवा स्वरोजगार, ज्येष्ठ नागरिकका लागि कम्युनिटी सेन्टर लगायत विषयलाई उनले चुनावी मुद्दा बनाएकी छन् ।
अभिनेत्री तथा गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ अधिकारीसँग निर्वाचन केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश (पूरा अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ) :
अहिले अभिनेता, अभिनेत्रीदेखि सबै पेसाका व्यक्ति राजनीतिमा होमिरहेका छन् । के यो सजिलो पेसा लागेर हो ?
यो एकदमै गाह्रो हो । धेरै नै रेस्पोन्सिबिलिटीहरू (जिम्मेवारीहरू) छन् । एकदमै निष्ठापूर्वक राजनीतिमा लाग्ने हो भने सेवा भावले लाग्ने हो । हामी सर्भिस दिने सेक्टर भन्छौँ । राजनीति भनेको आफूलाई जितेर आउने अनि त्यसपछि अरुको मन जित्ने ठाउँ हो ।
राजनीति सगरमाथा चढ्न भन्दा पनि गाह्रो हो ?
निश्चिय नै । राजनीति एकदमै गाह्रो हुन्छ । यसलाई सहज रूपमा छोटो बाटोहरूबाट जाने पनि अप्सनहरू (विकल्पहरू) त छ ।

कहिले फिल्म खेल्ने, कहिले सगरमाथा चढ्ने, कहिले के गर्ने, तपाईं किन यति अस्थिर ?
म यसलाई अस्थिर होइन, ‘चलायमान’ र ‘गतिशील’ भन्न रुचाउँछु । एकचोटिको जीवनमा धेरै कुरा गर्ने र सिक्ने प्रयास गर्नु नराम्रो होइन । म जे गर्छु, मनैदेखि र पूर्ण तयारीका साथ गर्छु । मन लागेको कुरा सबै गर्नुपर्छ । नत्र त्यो गर्न मन लागेको थियो गरिएन भनेर पश्चाताप हुन्छ ।
अभिनयमा ताली बढी हुन्छ, गाली बोली चिप्लियो भने मात्रै हो । राजनीति जहिले पनि गाली खाने ठाउँ हो । ताली खाने ठाउँबाट गाली खाने ठाउँमा किन आउन मन लाग्यो ?
अभिनय ताली नै ताली मात्र हुने सेक्टर पनि होइन । राम्रो काम गर्न सकिएन भने गाली हुन्छ । त्यस्तै राजनीतिमा राम्रो काम गर्नेले ताली पनि पाएका छन् । अहिले मेरो दिमागमा ताली र गाली भन्दा पनि एजेन्डा मात्र छ ।
ठुला र चर्चामा रहेका राजनीतिक दल छोडेर राजनीतिका लागि गतिशील लोकतान्त्रिक पार्टी किन रोज्नुभयो ?
म पेसागत राजनीति गर्न आएकी होइन । अबको १०, १२ वर्ष कति सकिन्छ राजनीतिक हिसाबले देशमा केही सेवा गर्छु भनेर आएकी हुँ । मेरो विचारधारा उदार लोकतान्त्रिक हो । ठुला दलहरूमा धेरै ‘ब्यागेज’ छ । गतिशील लोकतान्त्रिक पार्टीको संरचना मलाई मन पर्यो । यसमा ‘एक व्यक्ति एक पद’ को व्यवस्था छ र पदाधिकारीहरू चुनावमा उठ्न पाउँदैनन् ।

अर्को कुरा, यस पार्टीमा अधिकतम १६ वर्ष मात्र राजनीति गर्न पाउने प्रावधान छ, जसले नयाँ पुस्तालाई बाटो खुला गर्छ । मलाई व्यक्तिको पछाडि लाग्नु भन्दा एजेन्डाको पछाडि लाग्न मन पर्छ ।
१०, १२ वर्ष मात्र राजनीतिमा लाग्छु भन्नुभयो । त्यसपछि फेरि फिल्ममा देखिन्छु भन्नुभयो । त्यसपछि फिल्ममा जान उमेर र ग्ल्यामरको पनि कुरा आउला नि ?
हामीले अलिकति सोच परिवर्तन गर्नुपर्छ । फिल्मका लागि जवान र ग्ल्यामर चाहिन्छ भन्ने छैन । म त निर्माता पनि हो । फिल्म बनाउन सक्छु । मैले अघि नै भनेँ भूमिका त फरक–फरक हुन्छ ।
१० वर्ष मात्रै टिक्ने गरी आउनुभयो राजनीतिमा होइन त ?
यो जेनजी आन्दोलनपछि हाम्रो पुस्ता चुक्यो जस्तो फिल मलाई भयो । अरुले नैतिक जिम्मेवारी लिए पनि नलिए पनि म चाहिँ नैतिक जिम्मेवारी लिन्छु । कतिपय ठाउँमा आवाज उठाउनुपर्ने ठाउँमा चुकियो । मेरो पुस्ता चुकेका कारण त्यो आन्दोलन भयो ।
गतिशील लोकतान्त्रिक पार्टीले बोलायो कि तपाईं खोज्दै जानुभयो ?
एक कामको सिलसिलामा वीरेन्द्र बस्नेतजीसँग भेट भएको थियो । त्यो क्रममा हामी एकै ठाउँमा आउन सक्छौं कि सक्दैनौं भनेर छलफल गरियो । मलाई यसको टिम र विचार मनपर्यो । एजेन्डाहरु पनि राम्रो लाग्यो । अनि जोडिएको हो ।
गतिशील लोकतान्त्रिकमा जोडिनु अगाडि तपाईं छुट्टै पार्टीको तयारीमा हुनुहुन्थ्यो ?
त्यो होइन, हामी देशकको चिन्ताले घरबाट निस्केका एक जमात थियौँ । जेनजी आन्दोलनपछि घरमा बस्न सकिएन । अब राजनीतिक निकास खोज्नुपर्छ भनेर सरसल्लाहमा थियौं ।
अहिले नेपालमा सांसद हुन जति गाह्रो छ, त्यति नै सजिलो पनि छ । त्यो भनेको समानुपातिक हो । अलिकति पैसा दिनुभयो भनेदेखि त्यो समानुपातिकमा आइहाल्छ भन्ने छ । यो सजिलो बाटो छोडेर प्रत्यक्ष जस्तो असजिलोबाट किन रोज्नुभयो ? फेरि अन्य दलबाट धेरै कलाकार समानुपातिकमा छन् ?
अन्य दलबाट धेरै कलाकार साथीहरू समानुपातिकको सूचीमा बस्नुभएको छ, म उहाँहरूको निर्णयलाई सम्मान गर्छु । तर मेरो राजनीतिक दृष्टिकोण र बुझाइ अलि फरक छ । म नेपाललाई एउटा साझा घर मान्छु । एउटा घरमा अभिभावकको ध्यान सधैं सबल भन्दा कमजोर सन्तानतर्फ बढी जान्छ, ताकि उसले पनि समान अवसर पाओस् । समानुपातिक प्रणालीको वास्तविक मर्म पनि यही हो । राज्यको मूल प्रवाहबाट पछाडि पारिएका, सीमान्तकृत र आवाजविहीन अल्पसंख्यकहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु ।
मैले के बुझेको छु भने समानुपातिक सिट ती वर्गका लागि हो जसले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने क्षमता राख्दा–राख्दै पनि विभिन्न सामाजिक कारणले अवसर पाएका छैनन् । यदि म आफूलाई सक्षम ठान्छु भने मैले त्यो कोटा ओगटेर वास्तविक हकदारको बाटो छेक्नु हुँदैन ।
सजिलो बाटो रोजेर पद पाउनु भन्दा अप्ठ्यारो बाटो हिँडेर जनताको मन जित्नुमा म लोकतन्त्रको सुन्दरता देख्छु । त्यसैले म बरु १० पटक चुनाव हार्न तयार छु, तर समानुपातिक बस्दिनँ ।
काठमाडौं क्षेत्र नम्बर ५ नै किन रोज्नुभयो ?
म यही माटोमा जन्मिएँ । यहीँ मेरो स्कुलिङ भयो र यहीँ हुर्किएँ । क्षेत्र नम्बर ५ मेरो घर हो । आज म जुन ठाउँमा हुर्किएँ, त्यही ठाउँमा आफ्नो सन्तानलाई हुर्काउँदै छु । त्यसैले यो क्षेत्रको विकाससँग मेरो व्यक्तिगत भविष्य मात्र होइन, मेरो परिवार र आउने पुस्ताको भविष्य पनि जोडिएको छ । मेरो लक्ष्य यो क्षेत्रलाई एउटा यस्तो नमुना क्षेत्र बनाउनु हो, जहाँ हरेक पुस्ताले अपनत्व महसुस गर्न सकोस् ।
म चाहन्छु कि हाम्रा आमा–बुवाको पुस्ताले यहाँ सुरक्षित र सम्मानित महसुस गरुन्, मेरो पुस्ताले यहाँ अवसरहरू पाओस् र हाम्रा छोराछोरीको पुस्ताका लागि यो ठाउँ बस्न योग्य र आधुनिक होस् । म यो क्षेत्रलाई आफ्नै पारिवारिक जिम्मेवारी सम्झेर एउटा सुसंस्कृत र विकसित क्षेत्र बनाउन प्रतिबद्ध छु । त्यसैले आफ्नो घर बनाउने सुरुवात मेरै कार्यथलो र बसोबास रहेको यही क्षेत्रबाट गर्न चाहन्छु ।
तपाईं काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रमा ठुला दलका ईश्वर पोखरेल, प्रदीप पौडेल र कमल थापा जस्ता हेभीवेट उम्मेदवारहरू हुनुहुन्छ । चुनौतीपूर्ण छ नि ?
मलाई कति पनि डर छैन । उहाँहरू राजनीतिक अनुभवका आधारमा हेभीवेट हुनुहोला, तर म एजेन्डाका आधारमा हेभीवेट छु । जनताले पुरानै अनुहारलाई कतिन्जेल पत्याउने ? म उहाँहरूसँग जुनसुकै मञ्चमा एजेन्डामा बहस गर्न तयार छु । म यस क्षेत्रको समस्या र जनताको आवश्यकता बुझेर आएकी छु ।
मतदाताले तपाईंलाई किन भोट दिने ?
मलाई भोट दिनुपर्ने मुख्य कारण मेरो स्पष्ट भिजन र हरेक पुस्ताका समस्यालाई सम्बोधन गर्ने ठोस कार्ययोजना हो । मेरा एजेन्डाहरूलाई म चार बुँदामा व्याख्या गर्न चाहन्छु ।
अहिले अस्ट्रेलिया, अमेरिका वा खाडी मुलुकमा रहेका नेपालीहरूले विभिन्न कठिनाइ भोगिरहेका छन् । कतिपय फर्किन चाहन्छन् तर यहाँ भविष्य देख्दैनन् । मेरो उम्मेदवारी यो देशलाई यहाँ बसिरहेकाहरूको लागि मात्र होइन, विदेशबाट फर्किन चाहने नेपालीहरूले पनि गर्वका साथ आत्मसम्मानपूर्वक बाँच्न र लगानी गर्न सक्ने वातावरण बनाउनका लागि हो ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा यस्ता धेरै अभिभावक हुनुहुन्छ, जसका सन्तानहरू जीविकोपार्जनका लागि विदेशमा छन् । उहाँहरूको स्वास्थ्य र एक्लोपनलाई सम्बोधन गर्न म कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र) को अवधारणा ल्याउनेछु । यसलाई मैले गोल्ड क्लब वा ग्रेसफुल रिटायरमेन्ट भनेकी छु । जहाँ ६० वर्ष कटेका बुवाआमाहरूले आफ्नो अनुभव साटासाट गर्न पाउनुहुनेछ र राज्यले उहाँहरूको स्वास्थ्य र हेरचाहको जिम्मा लिनेछ ।
हाम्रो पार्टीको मुख्य नारा नै ‘वडा–वडामा दिगो रोजगारी’ हो । यसका लागि म युवाहरूका लागि इन्नोभेसन ल्याब्स र सीप विकास केन्द्रहरू स्थापना गर्नेछु । जहाँ युवाहरूले आफ्नो रुचि र क्षमता अनुसारको तालिम प्राप्त गरी उद्यमशीलतासँग जोडिन सक्छन् ।
मैले क्षेत्र नम्बर ५ को लागि एउटा विशेष योजना ल्याएकी छु डिजिटल म्यापिङ । यसमार्फत हामी स्थानीय उत्पादन र गुणस्तरीय खाद्य सामग्रीको उपलब्धतालाई प्रविधिसँग जोड्नेछौँ । यसले गर्दा विदेशमा रहेका सन्तानले पनि आफ्ना घरमा रहेका बालबालिका र वृद्ध बुवा-आमाका लागि गुणस्तरीय र शुद्ध खानाको सुनिश्चितता गर्न डिजिटल माध्यमबाटै सहयोग गर्न सक्नेछन् ।
चुनाव लड्न त धेरै पैसा चाँहिन्छ भन्छन् । त्यो पैसा कहाँबाट ल्याउनुहुन्छ ?
चुनावमा धेरै खर्च गर्नु नै भ्रष्टाचारको सुरुवात हो । निर्वाचन आयोगले तोकेको २५–२७ लाखको सीमाभित्रै रहेर म चुनाव लड्छु । मेरो स्रोत भनेको साथीभाइ, परिवार र शुभचिन्तकहरूले दिने सानो–सानो चन्दा हो । म कुनै व्यापारी वा बिचौलियाबाट चन्दा लिन्नँ । म मेरो सोसल क्यापिटल प्रयोग गरेर पारदर्शी चुनाव लड्छु ।
फोटो/भिडियो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण