बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

शुक्रबार, ०९ माघ २०८२, २२ : ५१
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरियो।
  • जिल्लाका तीनवटै क्षेत्रमा ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • स्वतन्त्र उम्मेदवारहरूले विभिन्न निर्वाचन चिह्न प्राप्त गरे।

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई शुक्रबार निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनाव चिह्न प्रदान गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ अनुसार अन्तिम नामावलीमा नाम कायम रहेका उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत चिह्न प्रदान गरिएको हो । जिल्लाका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि कूल ५५ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयका अनुसार तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पनि प्रतिस्पर्धीले नाम फिर्ता नलिएपछि सबै उम्मेदवारको प्रतिस्पर्धा कायम भएको हो ।

निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका लागि १५ दल र चार स्वतन्त्र गरी १९ जनाबिच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार स्वतन्त्र उम्मेदवार अनिल रानालाई क्यामेरा, रुपादेवी विष्टलाई चेसगोटी, मञ्जुदेवी सुनारलाई तिलहरी र यादव सिंहलाई झोला निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ मा पनि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार १५ दलका र चार स्वतन्त्र उम्मेदवारलाई चिह्न वितरण गरिएको छ । यहाँ स्वतन्त्र प्रतिस्पर्धी सिद्धराज जोशीले भँगेरा, हरिशबहादुर भट्टले कैँची, वीरेन्द्र रानाले सिरिन्ज र भानुभक्त बोहराले आँप निर्वाचन चिह्न प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा १७ जनाको उम्मेदवारी कायम भएको छ । तीमध्ये १४ दलका र तीन स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रतर्फ थानेश्वर लेखकलाई डस्टबिन, वीरबहादुर क्षेत्रीलाई आँप र हर्कबहादुर ऐरलाई जीप निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएसँगै उम्मेदवारहरू आफ्नो चुनावी एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चिह्न सुनिश्चित भएपछि जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी छलफल र प्रचारप्रसारका गतिविधिले तीव्रता पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप