शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
साताका कविता

प्रगति राईका तीन कविता

शनिबार, १० माघ २०८२, १० : ३१
शनिबार, १० माघ २०८२

नेपाली साहित्यमा कविताका साथसाथै उपन्यास विधामा कलम चलाउने स्रष्टा हुन्, प्रगति राई । उनी आफ्नो लेखनमा महिलाको वंशाधिकारको विषयलाई सशक्त ढंगले उठाउने गर्छिन् । आफ्ना पात्रहरूमार्फत उनी वंशाधिकार केवल सम्पत्ति बाँडफाँटको विषय मात्र होइन, यो समानताका साथसाथै महिलाको पहिचान र सम्मानको सवाल हो भनी वकालत गर्छिन् । यस पटक रातोपाटीको ‘तीन कविता’ मा उनै राईको कविता प्रस्तुत गरिएको छ ।

१. टोकरी

टोकरी पाएपछि

नानीले सब थोक भुली

खाना भुली, आमा भुली

टोकरी पाएपछि काख भुली

काख छोडेकी नानीलाई

आमाको कुनै अधीन पनि त लाग्दैन

सब थोक बिर्सेर

टोकरी भर्नु छ नानीलाई

टोकरीमा फूल राखी

उनलाई जून मन पर्‍यो

फूल झिकेर जून राखी

उनलाई तारा झन् मन पर्‍यो

ताराभन्दा पनि उनलाई त हावा, पानी, पुतली, बादल झन् के–के मन पर्‍यो

टोकरी एउटा छ, राख्नु छ धेरै थोक

राख्दै/झिक्दै, राख्दै/झिक्दै गर्दागर्दै 

झमक्कै साँझ पर्‍यो

नानी रुन थाली

टोकरी रित्तै थियो

टोकरीलाई जीवनसँग दाँजेर

नानीसँगै आमा पनि रोइन्

धेरै इच्छाहरू पूरा गर्न खोज्दाखोज्दै

आखिर, जीवन पनि त रित्तै रहन्छ ।

अन्ततः

सुकसुकाउँदै नानीलाई भनी आमाले

टोकरीमा एकथोक भर

बाँकी सबैको यादहरु मनमा भर । 

 

२. भयानक तस्बिर

सृजना गर्नुको पीडा थाहा होला सबैलाई

म भन्छु— हत्या गर्न झन् गाह्रो ।

 

बाँच्नुको विकल्प खोजेर धेरै समय खर्च गरेँ

हत्या भन्दा अर्को उपाय खोजेर 

जीवनका उत्कर्ष यामहरू छटपटीमै बिताएँ

समय जति जति अगाडि बढ्दै गयो

उति उति अत्यासिलो मन्दीहरूले जीवन अन्धकार रहेछ

आधारातमा प्रेमलाई खोकिलाभित्र लुकाएर यो संसारभन्दा बाहिर जाने बाटो खोजिरहेँ

सब थोक सम्भव नभएपछि आफैले प्रेमको हत्या गरेकी हुँ÷शून्य हुन चाहेकी हुँ ।

 

सम्भोग अघिको स्पर्श जति रोमाञ्चक छ 

स्खलन पछिको समय उति नै त्रासमय रहेछ 

संसार आफै दुःखको शोक मानिरहेको यो समय 

प्रत्येक कुमारीहरू जस्तै म पनि एकदम त्रसित छु 

जीवन दिन नसक्नुको औचित्यहीन सम्भोग

त्रासजन्य सम्भोग गर्नुको अर्थहीन प्रेम

प्रेमलाई जीवन्त दिन नपाउनुको दुःखद सम्बन्धसँग– मलाई घिन लाग्छ 

(प्रेम गरी नै सकेपछि छोरा/छोरी, नाति/नातिना लस्करै बनाउन पाए पो प्रेमको अर्थ हुन्छ । ‘बच्चा बस्ला है बच्चा बस्ला’ भन्दै प्रेमको सम्भोग गर्नु त अपराध हो ।) 

बरु म आफै प्रेमको हत्या गर्छु ।

  ३. लमी

सुनिला तिमी बिहा गर

ज्यान गए गर्दिनँ ।

विवाहको अर्थ अर्को पनि छ,

जतिओटा अर्थ भए पनि आखिर बिबाह भनेको महिला–पुरुष मिसिनु त हो,

त्यो भन्दा अर्को कुनै अर्थ छ ?

अँ ! मिसिए पछि अनेक रमाइला अर्थहरूले जन्म लिनेछन् ।

तर मिसिनु त पर्छ नि,

बिग्रेको गाडीजस्तो नाक मुखबाट चुरोटको धुवाँ फाल्दै आउने मान्छे, विवाहको दिन रक्सीले मातेर फौदारी खेल्ने मान्छे,

सुहाग रातमा ओठभरि खैनी कोचेर ओठ जोड्न जबरजस्त गर्ने मान्छे,

गर्भिणी श्रीमतीलाई हेला गरेर अन्तै सहवास खोज्दै हिँड्ने मान्छे, नाबालक बच्चाहरूको सातो जाने गरी श्रीमती कुट्ने मान्छे,

यस्तो मान्छेलाई यो लोभलाग्दो ज्यान दान गर्दिनँ ।

केही अपराध नगरी त्यति बिघ्न सजाय खेप्न म जान्दिनँ ।

अत्याचार सहन नजानेर

त्यो मान्छेलाई मारिपठाएँ भने

जेल जानु पर्छ ।

जेलमा जाडो हुन्छ,

मलाई त घमाइलो कोठा चाहिन्छ ।

कसैको दोष बिना, कसैको आदेश बिना जङ्गली फूलजस्तो

बिस्तारै फुलेर बिस्तारै ओइलाउन चाहन्छु ।

म फुलेर ओइलाउनु सम्मको अवधिमा–

लाखौँ वर्ष खर्च होस्

लाखौँ वर्षा, झरी, असिना बितोस् र,

लाखौँ वसन्तहरू बूढो होउन् ।

मलाई म्हेन्दो मन पर्छ,

यी मेरा प्रत्येक अङ्गहरू

जसरी बढेका छन्, त्यसरी नै मरुन् ।

यिनीहरू माथि म अन्याय गर्दिनँ ।

 

त्यसो होइन सुनिला तिमी बिहा गर ।

शरीर र मनलाई तराजुमा राखिहेर–

एक तोला मन बराबर सयौँ टन शरीर कम वजन हुनेछ ।

सुख र कर्तव्यलाई आगोमा गाली हेर–

सुख धुवाँ भएर उड्नेछ, कर्तव्य झन् चम्किलो भएर रहनेछ ।

पुरुष सुख मुलायम फूलजस्तो होइन

यो त दलिनमा सिउरिएको भरुवा बन्दुकजस्तो हो

काँधमा भिरेको राइफलजस्तो हो 

एकान्तमा भण्डार गरिएको बमको रासजस्तो हो

यसको मतलब पुरुषमा आत्मा हुँदैन भनिएको होइन

तिमीले जति कण–कणमा ख्याल गर्ने आत्मा मात्र हुँदैन ।

गोहीहरूको बिचमा पनि 

उसको आड लागेर ढुक्क निदाउन सक्नेछौ ।

ब्वाँसाहरूले तिमीलाई दुःख दिने छैनन्

गिद्ध, बाँदरहरूलाई सजिलै लखेट्न सक्नेछौ ।

 

पुरुष एक हतियार हो

होसियारीसाथ प्रयोग गर्न जान्नु पर्छ

प्रयोग गर्न सामर्थ्य राख्नुपर्छ

नत्र आफैतिर फर्किएर हत्या गरिदिनेछ । 

 

पुरुष एक क्याकटस हो

क्याक्टस कति सुन्दर फुल्छ

त्यो सुन्दर फूलजस्तै तिमी आमा बन्नेछौ

अर्थात्, तिमीसँग सन्तान हुनेछन्

ती फूलहरुलाई तिमी जति मन पराउँछ्यौ नि

ती फूलहरुले पनि उत्तिकै सुन्दर माया गर्नेछन्  तिमीलाई ।

 

फुल्नु र झर्नु मात्र होइन जीवन

पूmल कसैका लागि उपहार हुने भएर नै

पात र काँडाभन्दा बेसी अर्थ र महत्त्व राख्छ

जीवन पनि कसैका लागि उपयोगी नभए

पात र काँडा सिवाय केही हुँदैन

तिम्रो शरीर जसरी बढेका छन् 

त्यसैगरि मर्नुमा भन्दा

अरूका लागि उपयोगी भएर सकिनुमा 

सयौँ मूल्य बोकेर लैजान्छ

एक सुकुमारी, एक पुरुष, र एक मातामा तुलना गर्ने हो भने

सबैभन्दा धेरै श्रद्धा माताको हुन्छ । 

जीवन त्यो श्रद्धा हो । जीवन त्यो उच्च स्थान हो । 

तिम्रा प्रत्येक अङ्गहरूले आफ्नो अस्तित्व गुमाएर

त्यो श्रद्धाको उच्च सम्मान पाउनेछ । 

सुनिला तिमी बिहा गर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रगति राई
प्रगति राई
लेखकबाट थप