बैंकिङ क्षेत्र र योजना आयोगको अनुभव भएका शाह प्रलोपाबाट चुनावी मैदानमा
धनगढी । आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा जनक शाह उम्मेदवार बनेका छन्।
लामो समय सरकारी जागिर, बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) र राष्ट्रिय योजना आयोगको सदस्य भएर नीति निर्माणमा काम गरिसकेका शाह यस पटक चुनावमा होमिएका हुन्।
अछामको साबिक कालिकास्थान हाल साँफेबगर नगरपालिका–१, बैजनाथ मन्दिर नजिक जन्मिएका शाहको बाल्यकाल भने तराईमा बित्यो। उनी ६–७ वर्षको हुँदा नै उनको परिवार कैलालीको जानकी गाउँपालिका–३ साबिक दुर्गौलीमा बसाई सरेको थियो। हाल उनी त्यहीँका स्थायी बासिन्दा हुन्।
सुदूरपश्चिममै विद्यालय शिक्षा पूरा गरेका उनले उच्च शिक्षाका लागि काठमाडौँ रोजे। उनले व्यवस्थापन, जनप्रशासन र कानुन गरी तीन वटा विषयमा स्नातकोत्तर गरेका छन्। उनले स्विडेनबाट मानव अधिकार कानुनमा डिप्लोमा गरे भने भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि को सोधकार्य गरे। साथै, उनले अमेरिकाको एटलान्टिक इन्टरनेसनल युनिभर्सिटीबाट पनि अनुसन्धान गरेका छन्।
शाहको करिअर अछाम क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा सुरु भयो। त्यहाँ उनले तीन वर्ष सेवा गरे। त्यसपछि उनी खुला प्रतिस्पर्धाबाट आठौँ तहको अधिकृतका रूपमा कृषि विकास बैंकमा प्रवेश गरे। त्यहाँ १४ वर्ष काम गर्दा उनी बैंकको मुख्य प्रबन्धक र पछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हाल्न सफल भए।
माओवादी शान्ति प्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शाहले राष्ट्रिय योजना आयोगको सदस्य भएर देशको नीति निर्माण र बजेट तर्जुमामा प्रत्यक्ष भूमिका खेलेका थिए। उनले नेपाल व्यवस्थापन संघको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व समेत गरिसकेका छन्।
उनी २०३६ सालको विद्यार्थी आन्दोलनसँग जोडिए। २०३७ सालमा मसाल निकट विद्यार्थी संगठन ‘अखिल छैटौँ’ को केन्द्रीय सदस्य भए। पछि उनी जनमोर्चा र माओवादी आन्दोलनसँग वैचारिक रूपमा नजिक रहे। २०५१ सालमा राजनीतिक कारणले नै उनले अछाम छोड्नु परेको थियो।
डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ पार्टी गठन गरेपछि शाह पूर्णकालीन राजनीतिमा होमिएका हुन्। अहिले उनी त्यही नेसपा नयाँ शक्तिसहितको समूह मिलेर मिलेर बनेको त्यो ‘प्रलोपा’ (प्रगतिशील लोकतान्त्रिक पार्टी) बाट चुनावमा होमिएका हुन् ।
शाह हाल प्रलोपाको राजनीतिक परिषद् सदस्य र नीति तथा अनुसन्धान विभागको केन्द्रीय संयोजक हुन्।
पहिलो पटक संसदीय निर्वाचन लड्दै गरेका शाहका अनुसार सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये यस पटक विभिन्न ठाउँमा प्रलोपाले उम्मेदवारी दिएको छ।
कैलाली क्षेत्र नम्बर १ मा शाह आफैँ उम्मेदवार हुँदा कैलाली क्षेत्र नम्बर ३ मा माओवादी जनयुद्धकालका पुराना नेता लक्षिराम चौधरी चुनावी मैदानमा छन्। यस्तै, डोटीमा डम्बर रावल र बाजुरामा दिपेश डिसीले प्रलोपाबाट उम्मेदवारी दिएका छन्। कञ्चनपुरको क्षेत्र नम्बर १ र २ मा पनि प्रलोपाले उम्मेदवारी दिएको छ।
उनले आफूलाई अरू उम्मेदवारभन्दा फरक रूपमा उभ्याएका छन्। ‘त्याग र बलिदानले देशमा राजनीतिक व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन। अब ‘पोलिटिकल चेन्ज’ होइन, ‘इकोनोमिक चेन्ज’ (आर्थिक परिवर्तन) को खाँचो छ,’ शाहले भने।
उनले आफूले राजनीतिलाई कमाइ खाने भाँडो नभई सेवाको माध्यम बनाउने भन्दै उनले निर्वाचित भएमा भ्रष्टाचार विरुद्ध निर्मम भएर संसदमा आवाज उठाउने दावी गरे।
यस्तै विकास भनेको डोजर चलाउनु मात्र नभई जनताको शिक्षा, स्वास्थ्य, आवास र रोजगारीको ग्यारेन्टी नै असली विकास भएको शाहको बुझाई छ।
योजना आयोग र बैंकको नेतृत्व गर्दा सँगालेको अनुभवलाई प्रयोग गरी कैलाली–१ को कृषि र पर्यटनलाई आधुनिकीकरण गर्ने उनका एजेन्डा हुन्। संसदमा कानुन बनाउँदा जनताको आवाज बोल्ने र सरकारलाई जबाफदेही बनाउने उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण