विराटनगरमा निजी क्षेत्रको पीडा र चुनौतीबारे छलफल
सारांश
- विराटनगरमा निजी क्षेत्रका समस्या, पहिचान र प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न भयो।
- उद्योगी व्यवसायीहरूले राजनीतिक अस्थिरता, नकारात्मक धारणा र नीतिगत अस्थिरताका कारण लगानी गर्न समस्या भएको गुनासो गरे।
- कार्यक्रममा निजी क्षेत्रको मनोबल उकास्न सरकारले आर्थिक नीतिमा स्थिरता ल्याउनुपर्नेमा जोड दिइयो।
विराटनगर । निजी क्षेत्रले भोग्दै आएको समस्या, समाजमा व्याप्त नकारात्मक धारणा र राज्यको नीतिगत अस्थिरताका विषयमा विराटनगरमा ‘निजी क्षेत्र : प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक वृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिबार उद्योग सङ्गठन मोरङ र राष्ट्रिय व्यावसायिक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना पीडा र चुनौतीलाई बुलन्द रूपमा उठाएका छन् ।
कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनीतिक आन्दोलनका नाममा उद्योग र व्यापारिक केन्द्रहरूमा हुने तोडफोड र आगजनीले उद्योगीहरू आफ्नै देशमा लगानी गर्न डराउनुपर्ने अवस्था आएको बताए ।
सामाजिक सञ्जालमार्फत लगानी गर्नु पाप र नाफा कमाउनु अपराध हो भन्ने जस्तो नकारात्मक र भ्रामक भाष्य निर्माण गरिएकोमा उनले चिन्ता व्यक्त गरे । राठीले भने, ‘यस्तै सोच रहिरहे नेपालमा रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको सपना कसरी साकार हुन्छ ?’
उनले राज्यको नीतिगत अस्थिरता र भ्रष्टाचारका कारण उद्योगीहरू बाध्य भएर राजनीतिक शक्ति केन्द्रको नजिक पुग्नुपर्ने अवस्था रहेको स्विकार्दै यो लोकतन्त्र र निजी क्षेत्र दुवैका लागि स्वस्थ नरहेको स्पष्ट पारे ।
राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र आज त्रास र अनिश्चितताको भुमरीमा फसेको बताए । कानुन पालना गरेर कर तिर्दा पनि समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले यस्तो वातावरणले नयाँ लगानीको मनोबल गिराएको उल्लेख गरे ।

यस्तै, राष्ट्रिय व्यावसायिक पहलका केन्द्रीय संयोजक किशोर प्रधानले निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा मात्र नबुझ्न आग्रह गर्दै यस्ता भ्रम चिर्न सातै प्रदेशमा कार्यक्रम लगिने जानकारी दिए ।
प्यानल छलफलमा सहभागी नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले निजी क्षेत्रको गिरेको मनोबल उकास्न सरकारले आर्थिक नीतिमा स्थिरता ल्याउनुपर्नेमा जोड दिए । मानवअधिकारवादी सुबोधराज प्याकुरेलले कर्मचारीतन्त्रले निजी क्षेत्रलाई त्रसित बनाइरहेको भन्दै राज्यले निजी क्षेत्रलाई थिच्ने नभई सशक्त बनाउने नीति लिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले संवादका माध्यमबाट आपसी विश्वास पुनः स्थापित गर्नुपर्ने धारणा राखिन् । उद्योग सङ्गठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले व्यक्ति वा दलको नभई विधि र पद्धतिको शासन भए निजी क्षेत्रले राजनीतिक छहारी खोज्नु नपर्ने तर्क गरे ।
त्यसैगरी मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुने उल्लेख गरे भने युवा उद्यमी सिद्धि अधिकारीले दीर्घकालीन औद्योगिक नीति र पारदर्शी कार्यान्वयनको माग गरे ।
कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अर्थविद्, नागरिक समाज र उद्यमीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले निजी क्षेत्रका चुनौतीहरूलाई तथ्यपरक रूपमा उजागर गर्दै साझा भविष्यका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण