शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : बागमतीका २ सिटका लागि आज मतदान

६ जनाको मनोनयन, ६ सांसद र ३ मेयरको मताधिकार काटियो
आइतबार, ११ माघ २०८२, ०६ : ५०
आइतबार, ११ माघ २०८२

सारांश

  • बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ, जसमा २ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
  • निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनको बहुमत पुग्ने सम्भावना छ, जसमा ३४८ मतदातामध्ये केहीले मताधिकार गुमाएका छन्।
  • मतदाता नामावलीबाट नाम हटाइएका कारण कुल ३३८ मतदाता रहनेछन्, जसमा कांग्रेस र एमालेको गठबन्धनको मतभार बढी छ।

हेटौँडा । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान हुँदै छ । बागमती प्रदेशतर्फको २ सिटका लागि हुने निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेको छ र मतदान कार्यक्रम आइतबार बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म तय गरिएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशका २ सिटमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । दुई सिटका लागि गठबन्धन (एमाले र कांग्रेस), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

बागमती प्रदेशसभातर्फ महिला र अन्य क्लस्टरमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट एक महिला र नेकपा एमालेका तर्फबाट पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले महिला क्लस्टरमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट अन्य क्लस्टरमा डा. प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रेम सापकोटा (राजेन्द्र) र महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका तर्फबाट पनि २ जनाले मनोनयन दर्ता गरेका छन् ।

११० सदस्यीय प्रदेश सभाका सदस्य र स्थानीय तहका २३८ प्रमुख/उपप्रमुख गरी बागमती प्रदेशमा ३४८ जना मतदाता छन् । दलहरूको मतभार हेर्दा गठबन्धन बहुमतको स्थितिमा छ ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका एमाले र कांग्रेसको बहुमत पुग्ने देखिन्छ । कुल १८ पदका लागि हुने निर्वाचनमध्ये बागमती प्रदेशमा २ सदस्यको पदावधि रिक्त हुनेछ र सोही पदमा निर्वाचन हुँदैछ । यस निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनले कुल मतदाताको बहुमत सुनिश्चित गर्ने देखिन्छ ।

बागमती प्रदेशबाट अन्य क्लस्टरका बेदुराम भुषाल र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ ।

११० सदस्यीय प्रदेश सभाका सदस्य र स्थानीय तहका २३८ प्रमुख/उपप्रमुख गरी बागमती प्रदेशमा ३४८ जना मतदाता छन् । दलहरूको मतभार हेर्दा गठबन्धन बहुमतको स्थितिमा छ ।

यीमध्ये एक जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । यस्तै ६ जना प्रदेश सांसद र ३ जना मेयरहरूले पनि मताधिकार गुमाएका छन् । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका र प्रदेश सभाबाट राजीनामा दिएका कारण यी ९ जनाले मतदान गर्न पाउने छैनन् ।

मताधिकार गुमाउनेहरूमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएका कांग्रेसका कुन्दन काफ्ले, राप्रपाका सुनिल केसी, एमालेका प्रकाश श्रेष्ठ र अमन कुमार मास्के, तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का (हाल नेकपामा रहेका) सांसद वसन्त मानन्धर र युवराज दुलाल रहेका छन् । यसैगरी, स्थानीय तहको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका बालेन्द्र शाह, रेनु दाहाल र अशोक व्यञ्जुले पनि मतदान गर्न पाउने छैनन् ।

बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । सो मतभारअनुसार मताधिकार कायम भएका १०४ प्रदेशसभा सांसदको मतभार (५३ को दरले) ५ हजार ५१२ र २३४ स्थानीय तहका प्रतिनिधिको मतभार (१९ को दरले) ४ हजार ४४६ गरी कुल मतभार ९ हजार ९५८ हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेशकी प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रदेश सभा र स्थानीय तहबाट राजीनामा गरेर प्रतिनिधि सभामा उम्मेदवार बन्न गएकाहरूले मतदान गर्न पाउने छैनन् । उनले एउटै व्यक्तिले दुईवटा पदमा बसेर भूमिका निर्वाह गर्न नपाउने भएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको स्पष्ट पारिन् ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम मतदाता नामावली अनुसार नै निर्वाचन हुनेछ, जसले गर्दा कुल मतदाता संख्या ३३८ कायम भएको छ । बागमती प्रदेशका ११० सांसदमध्ये १०४ जनाको मताधिकार कायम भएको छ भने २३८ स्थानीय तहका प्रतिनिधिमध्ये २३४ जनाले मताधिकार पाउनेछन् ।

जसअनुसार बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । सो मतभारअनुसार मताधिकार कायम भएका १०४ प्रदेशसभा सांसदको मतभार (५३ को दरले) ५ हजार ५१२ र २३४ स्थानीय तहका प्रतिनिधिको मतभार (१९ को दरले) ४ हजार ४४६ गरी कुल मतभार ९ हजार ९५८ हुन्छ ।

कांग्रेससँग प्रदेश सभामा ३७ सिट र स्थानीय तहमा १०८ प्रमुख तथा उपप्रमुख छन् । कांग्रेसका एक जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण निलम्बित छन् भने एक प्रदेश सदस्यले राजीनामा दिएकाले उनीहरू निर्वाचनमा सहभागी हुन पाउने छैनन् । यसरी कांग्रेसको कुल मतभार ३ हजार ९४१ पुगेको छ ।

यस्तै, नेकपा एमालेका दुई जना प्रदेश सदस्य र एकजना स्थानीय तहका प्रमुखले राजीनामा गरेकाले उसको कुल मतभार २ हजार ४४६ सहित दोस्रो स्थानमा छ । कांग्रेस र एमालेबिच गठबन्धन हुँदा दुवै दलको संयुक्त मतभार ६ हजार ३८७ पुग्छ ।

यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ जना प्रदेश सदस्य र एक जना स्थानीय तहका प्रमुखले राजीनामा गरेसँगै उसको मतभार २ हजार ६१३ हुन्छ । एकजना सदस्यले राजीनामा दिएसँगै प्रदेश सभामा राप्रपाको १२ सिट मात्रै छ ।

यस्तै स्थानीय तहमा पनि कमजोर उपस्थितिका कारण राप्रपाको मतभार ६५५ मात्र छ । नेपाल मजदुर किसान पार्टीको १९७ र हाम्रो नेपाली पार्टीको १०६ मतभार रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप