बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुर-१ मा मौलिक शैलीमा अभियान चलाउँदै रोहित र सुबिन्द्र

आइतबार, ११ माघ २०८२, ११ : ४३
आइतबार, ११ माघ २०८२

सारांश

  • आगामी निर्वाचनको लागि उम्मेदवारहरू प्रचार प्रसारमा जुटेका छन्, विभिन्न शैली अपनाएर प्रचार गरिरहेका छन्।
  • ललितपुर क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारहरूले मौलिक शैलीमा प्रचार गर्ने भएका छन्।
  • निर्वाचन अभियान सदस्यका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ, जसमा भेटघाट, सचेतना, र बहस जस्ता कार्यक्रम हुनेछन्।

ललितपुर । आसन्न फागुन २१ गतेको आम निर्वाचनमा मुलुकभर उम्मेदवारहरू प्रचार प्रसारमा जुटेका छन् । उम्मेद्वारी दर्ता तथा फिर्ता लगायत सुरुवाती प्रक्रियाको चरण सकिएसँगै प्रचार प्रसारको काम प्रारम्भ भएको छ ।

 विभिन्न दलको तर्फबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरू आफ्नै ढङ्गले प्रचारमा हिँड्न सुरु गरेका छन् । कतै भारी बोकेका, जनतालाई ढोग्दै हिँडेका लगायत विभिन्न क्रियाकलापका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा यत्रतत्र देखिन थालेका छन् । 

यसैबिच ललितपुर क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारहरु भने पृथक् र मौलिक शैलीमा निर्वाचन प्रचारमा जुटेका छन् । प्रत्यक्षतर्फका उम्मेदवार रोहित बास्तोला र समानुपातिक उम्मेदवार सुबिन्द्र तामाङले आफूहरू परम्परागत भड्किलो, रवाफिलो तथा खर्चालु प्रणाली नअपनाउने बताएका छन् । 

माघ १० गते निर्वाचन क्षेत्र अन्तर्गतकै गोदावरी नगरपालिकामा भएको छलफल पश्चात् निर्वाचन अभियान सञ्चालनका लागि प्रस्तावित कार्य योजना मोटामोटी टुङ्गो लगाइएको निर्वाचन अभियानका सदस्य सुचन्द्र तामाङले बताएका छन् ।

उनका अनुसार निर्वाचनका क्रममा न्यूनतम तथा अत्यावश्यक बाहेक कुनै खर्च नगर्ने,जनभेटघाट/अन्तर्क्रिया तथा आफ्नो विचार प्रस्तुत गर्ने, सामाजिक सञ्जाल तथा एआई लगायत प्रविधिको विकृत प्रयोग नगर्ने, प्रचार सामाग्रीको न्यूनतम प्रयोग गर्ने, रैथाने ज्ञान, सीप र प्रविधि, रोजगारी तथा सम्भावनाहरूबारे चर्चा गर्ने, पूर्णतः पर्यावरणमैत्री तरिका अवलम्बन गर्ने, समसामयिक वैचारिक राजनीतिक विषयमा पिँढी/आँगन भेट तथा छलफल गर्ने, जनताहरूबाट सिक्ने एवम् सकेसम्म जनताबाट केही पनि नलिने लगायत स्वअनुशासन विषयमा साझा धारणा तय भएको छ। माघ १२ गते सोमबारबाट सुरु हुने अभियान ३ चरणको हुनेछ । यस क्रममा भेटघाट, सचेतना,विमर्श तथा बहस लगायत कार्यक्रमहरू पनि समावेश हुनेछन् । 

निर्वाचन प्रचारमा बुद्ध, मार्क्स, चे ग्वेभारा, स्वनाम साथी, रूपचन्द्र विष्ट तथा जनयुद्ध लगायत संघर्षका सहिदहरूको तस्बिर र शिक्षाबारे प्रचार एवम् चर्चा पनि गरिने बताइएको छ । रातोपाटीसग कुरा गर्दै अभियान सदस्य तामाङले पहिलो चरणको घरदैलो तथा भेटघाट सकिएपछि माघ २२/२३ गतेबाट अर्को चरणको ठोस कार्यक्रम सार्वजनिक गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप