शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिड्नीलाई हराउँदै पर्थ कीर्तिमानी छैटौँ पटक बिग ब्यास लिग च्याम्पियन

आइतबार, ११ माघ २०८२, २० : ५२
आइतबार, ११ माघ २०८२

काठमाडौँ । पर्थ स्कर्चर्सले अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) को उपाधि जितेको छ। आइतबार भएको १५औँ सिजनको फाइनल खेलमा सिड्नी सिक्सर्सलाई ६ विकेटले हराउँदै पर्थले कीर्तिमानी छैटौँ पटक उपाधि उचालेको हो ।

पर्थस्थित ओप्टस स्टेडियममा टस जितेर फिल्डिङ रोजेको स्कर्चर्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो। पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सको सुरुवात निकै खराब रह्यो । 

दोस्रो ओभरमै डेनियल ह्युजेस ७ रन बनाएर आउट भए। स्टिभ स्मिथ, विकेटकिपर जोस फिलिपी र कप्तान मोइजेस हेनरिक्सले समान २४–२४ रन बनाए पनि टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याउन सकेनन्। पर्थका बलर जाय रिचर्डसन र डेभिड पेयनले ३–३ विकेट लिएपछि सिड्नीको टोली १३२ रनमै समेटियो।

१३३ रनको सामान्य लक्ष्य पछ्याएको पर्थले आक्रामक सुरुवात गर्‍यो। मिचेल मार्स र फिन एलेनले पहिलो विकेटका लागि ८ ओभरमै ८० रनको साझेदारी गरे। एलेन ३६ रन बनाएर आउट भए भने मार्सले ४४ रनको योगदान दिए। 

मध्यक्रममा केही विकेट गुमे पनि विकेटकिपर जोस इंग्लिसले अविजित २९ रन बनाउँदै १८औँ ओभरमा टोलीलाई जित दिलाए। सिड्नीका सिन एबटले २ विकेट लिए पनि त्यो हार टार्न पर्याप्त भएन।

यो जितसँगै पर्थ स्कर्चर्स प्रतियोगिताको इतिहासमै सबैभन्दा सफल टोली बनेको छ। सन् २०११ बाट सुरु भएको लिगमा पर्थले यसअघि पनि पाँच पटक उपाधि जितिसकेको थियो। 

सिड्नी सिक्सर्सविरुद्ध फाइनलमा पर्थको यो चौथो जित हो। यसअघि पर्थले २०१४, २०१६ र २०२१ को फाइनलमा पनि सिड्नीलाई नै हराएको थियो। 

हालसम्म सिड्नी सिक्सर्स, सिड्नी थन्डर, एडिलेड स्ट्राइकर्स, मेलबर्न रेनेगेड्स र होबार्ट हरिकेन्सले पनि उपाधि जितेका छन् भने ब्रिसबेन हिट २ पटक च्याम्पियन बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप