शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप : आईसीसीको निर्णयविरुद्ध बंगलादेशले कानुनी चुनौती नदिने

सोमबार, १२ माघ २०८२, ०८ : ३२
सोमबार, १२ माघ २०८२

सारांश

  • बंगलादेश क्रिकेट बोर्डले टी-२० विश्वकपमा सहभागी नहुने र स्कटल्याण्डले खेल्ने आईसीसीको निर्णय स्वीकार गर्यो।
  • भारतमा खेलाडीको सुरक्षा चिन्ता र आईसीसीले तालिका परिवर्तन गर्न अस्वीकार गरेपछि बंगलादेशले विश्वकपबाट नाम झिक्यो।
  • बंगलादेश क्रिकेट बोर्डका निर्देशक इस्तियाक सादेकले बोर्ड बैठककै क्रममा राजीनामा दिए।

ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आगामी टी–२० विश्वकपमा आफ्नो सहभागिता नहुने र आफ्नो स्थानमा स्कटल्याण्ड खेल्ने आईसीसीको निर्णयलाई चुपचाप स्वीकार गरेको छ। शनिबार ढाकामा बसेको बोर्ड बैठकपछि मिडिया कमिटीका अध्यक्ष अमजाद हुसेनले आईसीसीको निर्णयविरुद्ध कुनै पनि कानुनी चुनौती नदिने स्पष्ट पारेका हुन्।

भारतमा आयोजना हुने विश्वकपमा आफ्ना खेलाडीको सुरक्षालाई लिएर बंगलादेश सरकारले गम्भीर चासो देखाएपछि बंगलादेश पछि हटेको हो। बंगलादेशले आफ्ना खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग आग्रह गरेको थियो, तर आईसीसीले तालिका फेरबदल गर्न अस्वीकार गरेपछि यो अवस्था सिर्जना भएको हो। बंगलादेश सरकारको मन्त्रिपरिषद् बैठकले नै टोलीलाई भारत नपठाउने निर्णय गरेपछि बीसीबीले आईसीसीलाई खेल्न नसक्ने जानकारी गराएको थियो।

आईसीसीले बंगलादेशको स्थानमा छनोट तालिकाको अर्को टोली स्कटल्याण्डलाई समावेश गर्ने निर्णय गरिसकेको छ। ‘हामीले आईसीसी बोर्डको निर्णय मानिसक्यौँ, अब कुनै छुट्टै मध्यस्थता वा कानुनी लडाइँमा जाँदैनौँ,’ हुसेनले भने। बंगलादेशले भारत जान नसक्ने बताएपछि आईसीसीले २४ घण्टाभित्र जवाफ मागेको थियो, जसमा बीसीबीले विनम्रतापूर्वक असमर्थता जनाएको थियो।

यसैबिच, बंगलादेश क्रिकेट बोर्डमा आन्तरिक हलचल पनि देखिएको छ। बोर्ड बैठककै क्रममा निर्देशक इस्तियाक सादेकले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप