शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

२०५६ सालपछि एमालेको सूर्य उदाउन नसकेको कर्णालीका यी ५ क्षेत्र

सोमबार, १२ माघ २०८२, १४ : ००
सोमबार, १२ माघ २०८२

सारांश

  • कर्णाली प्रदेशमा नेकपा एमाले २०७९ को चुनावमा समानुपातिक तर्फ पहिलो दल बनेको थियो।
  • तर, प्रत्यक्षतर्फ एमालेले कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो।
  • ६० को दशकपछि एमालेले जाजरकोट, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्लामा चुनाव जित्न सकेको छैन।

सुर्खेत । लोकप्रिय मतका आधारमा कर्णालीमा नेकपा एमाले पहिलो राजनीतिक दल हो । २०७९ को प्रतिनिधिसभाको चुनावमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो ।

एमालेले प्रतिनिधिसभातर्फ १ लाख ८३ हजार १३० मत समानुपातिकमा पाउँदा कांग्रेसले दोस्रो नम्बरमा १ लाख ८० हजार ९०९ र माओवादीले तेस्रो नम्बरमा १ लाख ३५ हजार ४९६ मत प्राप्त गरेका थिए ।

यस्तै चौथोमा एकीकृत समाजवादी र पाँचौँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मत पाएको देखिन्छ । स्मरण रहोस्, उक्त चुनावमा समानुपातिकतर्फ १ नम्बरमा मत पाए पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमालेले कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो ।

माओवादी—कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा रुकुमपश्चिम, जाजरकोट, कालिकोट र हुम्ला गरी ४ सिट माओवादी, सल्यान, डोल्पा र दैलेख—१ मा गरी ३ सिट एकीकृत समाजवादीले जितेको थियो ।

यस्तै ०७४ मा शून्यमा सीमित रहेको कांग्रेसले गठबन्धनको बलमा सुर्खेतका दुवै क्षेत्र, दैलेख—२ र मुगुमा गरी ४ सिट जित्यो । राप्रपाले जुम्लामा १ सिट जित्दा एमाले शून्यमै सीमित बन्यो ।

२०७४ मा वाम गठबन्धन हुँदा एमालेले ६ र माओवादीले ५ सिट जितेको थियो भने एक सिट स्वतन्त्रबाट आएको थियो ।

  • जहाँ ६० को दशकपछिका कुनै पनि निर्वाचन एमालेले जित्न सकेन

२०५६ सालको निर्वाचनमा साविक कर्णालीका ५ वटै क्षेत्र एमालेले जितेको थियो । हुम्लामा गोरख बोगटी, कालिकोटमा प्रेम सिंह (हाल नेकपा), मुगुमा चन्द्रबहादुर शाही (हाल नेकपा), डोल्पामा नरबहादुर बुढाथोकी, जुम्लामा देवीलाल थापाले चुनाव जितेका थिए ।

त्यसबाहेक हाल कर्णाली प्रदेशभित्र पर्ने क्षेत्रहरूमा पनि एमालेको उपस्थिति थियो । त्यो बेला अन्य जिल्लामा प्रायः २—३ वटा निर्वाचन क्षेत्र थिए । दैलेख—१ मा नरबहादुर हमाल, जाजरकोट—२ मा रत्न शर्माहरूले एमालेबाट चुनाव जितेका थिए ।

तर ६० को दशकपछि भने एमाले खुम्चियो । ०६४, ०७०, ०७४ र ०७९ गरी चार वटा प्रतिनिधिसभा चुनाव भए, जसमा जाजरकोट, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्लामा अहिलेसम्म एमालेले चुनाव जितेको रेकर्ड छैन ।

एमाले केन्द्रीय सदस्य दल रावल यी क्षेत्रमा माओवादी प्रभावले नै एमाले कमजोर रहेको बताउँछन् । माओवादीले थालेको १० वर्षे सशस्त्र युद्धमा सबैभन्दा धेरै कर्णालीको उपस्थिति थियो । युद्धको रापतापबाट आएको माओवादी अन्तभन्दा कर्णालीमै प्रभावशाली बन्यो ।

‘युद्धपछि माओवादीमा रापताप थियो, प्रभाव बलियो भयो,’ उनी भन्छन्, ‘सङ्घीयतापछिका चुनावहरू गठबन्धन हुने हुँदा कहिले कतै टिकट नपाउने, कहिले अर्कोतर्फ गठबन्धन हुँदा समस्या हो ।’ तर एमालेका एक अर्का प्रदेश तहका नेता भने एमालेभित्रकै कमजोरी औंल्याउँछन् ।

‘पार्टीभित्र पनि केन्द्रमा यहाँ नेताहरूको उपस्थिति थिएन, अन्य राजनीतिक नियुक्तिदेखि राजदूत लगायतमा कर्णालीले स्थान पाएन,’ उनी भन्छन्, ‘६० को दशकपछि अहिलेसम्म पनि केन्द्रमा एमालेले फुलमन्त्री पाएको छैन ।’

अहिले वर्षौंपछि पहिलो पटक यामलाल कँडेल पार्टीको केन्द्रीय सचिव बनेका छन् ।

  • जुम्लामा एमाले सधैँ तेस्रो

जुम्लामा ०५६ सालमा एमालेका देवीलाल थापाले चुनाव जिते पनि त्यसपछिका चुनावमा माओवादी प्रमुख राजनीतिक शक्तिका रूपमा उदायो । ०६४ सालको निर्वाचनमा माओवादीका नरेश भण्डारीले २१ हजार १२७ मतसहित चुनाव जितेका थिए । त्यो बेला कांग्रेसले १२ हजार मत पाएको थियो । ०७० मा आउँदा कांग्रेसका ललितजंग शाहीले चुनाव जिते, प्रतिस्पर्धी माओवादीका गजेन्द्र महत पराजित भए । ०७४ मा अघिल्लो चुनाव पराजित माओवादीका महतले २२ हजार १७३ मतसहित चुनाव जिते । प्रतिस्पर्धी कांग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत पाए ।

उक्त चुनावमा एमाले—माओवादीबीच गठबन्धन थियो । ०७९ को प्रतिनिधिसभा चुनावमा भने कांग्रेस—माओवादीबीच गठबन्धन हुँदा पनि राप्रपाका ज्ञानेन्द्र शाहीले चुनाव जिते । तर सांगठनिक रूपमा माओवादी जुम्लामा पहिलो दल हो ।

त्यसअघिका चुनावमा कांग्रेस—माओवादीबीच नै प्रतिस्पर्धा हुँदा राप्रपाका शाहीले आश्चर्यचकित तरिकाले चुनाव जितेका थिए । तर उक्त चुनावमा एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै १० हजार ५४८ मत पाएको थियो ।

जबकि कांग्रेस दोस्रो र माओवादीले तेस्रो स्थानमा समानुपातिक मत पाएका छन् । तर प्रत्यक्षतर्फ अधिकांश चुनावमा कर्णालीमा एमालेले तेस्रो स्थानमा मत पाएको छ ।

अहिले एमालेले शान्तिलाल महतलाई यहाँ उम्मेदवार बनाएको छ । जबकि उता नेकपाबाट चर्चित नेता नरेश भण्डारीलाई ०७९ मा माओवादीको गुमेको साख फकाउन प्रचण्डले टिकट थमाएका छन् । अर्काेतर्फ राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही उम्मेदवार छन् भने बौद्धिक मानिने नेता तथा लेखक मनऋषि धिताल प्रलोपाबाट उम्मेदवार बनेका छन् । कांग्रेसबाट दीपबहादुर शाही छन् भने रास्वपाले विनिता कठायतलाई उठाएको छ ।

  • हुम्ला

हिमाली जिल्ला हुम्लामा ०५१ सालमा कांग्रेसले जित्दा ०५६ सालमा एमालेका गोरख बोगटीले जितेका थिए । अहिले पनि सक्रिय राजनीतिमै रहेका बोगटी आगामी प्रतिनिधिसभाको लागि समानुपातिक सांसद छन् । ०६४ मा पराजित उनी त्यसपछिका हरेक चुनावमा सदावहार समानुपातिकजस्तै छन् । यद्यपि संसद्मा भने पुग्न सकेका छैनन् । एमाले कर्णालीभित्र यामलाल कँडेलसँग दाँजिने उनी पछिल्लो समय प्रत्यक्ष चुनाव लड्न डराइरहेका छन् ।

यहाँ ०६४ मा माओवादीबाट कर्णजित बुढाथोकी निर्वाचित भएका थिए । यस्तै ०७० मा कांग्रेसका जीवनबहादुर शाही र ०७४ मा स्वतन्त्र सांसद छक्कबहादुर लामा विजयी भएका थिए । लामा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । जिल्लामा प्रभावशाली मानिने उनले नै चुनाव जिते, त्यसपछि माओवादी हुँदै उनी अहिले एमालेमा छन् ।

२०७९ मा माओवादीबाट छिरिङ डम्डुल लामाले चुनाव जिते । कांग्रेसका प्रभावशाली नेता जीवनबहादुर शाही प्रदेश झर्दा लामा माओवादी—कांग्रेस गठबन्धनका आधिकारिक उम्मेदवार बने । लामाले १४ हजार ३७१ मत ल्याएर विजयी हुँदा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । समानुपातिकतर्फ पनि यहाँ एमाले तेस्रो नम्बरमा छ ।

यो जिल्लामा एमालेले ६० को दशकपछि कुनै चुनाव जित्न सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि एमालेले दल फडेरालाई उम्मेदवार बनाएको छ । उनी ०७९ को स्थानीय तहदेखि प्रदेशसभाको चुनाव हारेका कमजोर उम्मेदवार हुन् । यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट बौद्धिक नेता डा. दीपेन्द्र रोकाया, कांग्रेसबाट जयपती रोकाया उम्मेदवार छन् ।

  • जाजरकोट

शान्ति प्रक्रियापछि एमालेले कुनै पनि चुनाव जित्न नसकेको अर्को जिल्ला हो जाजरकोट । कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहका अनुसार यो जिल्लामा ०४८—०५६ को चुनावसम्म आउँदा एमाले—कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने गर्दथ्यो । तर माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीले वर्चस्व जमायो ।

उनका अनुसार ०४८ सालदेखि ०७० सम्म जाजरकोटमा दुई वटा निर्वाचन क्षेत्र थिए । ०४८ मा क्षेत्र नम्बर १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधानले चुनाव जित्दा क्षेत्र नम्बर २ मा एमालेका कृष्ण शाहीले जितेका थिए ।

यस्तै ५१ सालको मध्यावधि निर्वाचनमा १ मा कांग्रेसकै झलकनाथ वाग्लेले चुनाव जिते भने २ मा पनि कांग्रेसका दीपकजंग शाहले जिते, एमाले दुवै क्षेत्रमा पराजित भयो ।

२०५६ मा राप्रपाबाट गोविन्दविक्रम शाहले क्षेत्र नम्बर १ मा चुनाव जिते । क्षेत्र नम्बर २ मा एमालेका रत्न शर्माले जिते । ०६४ सालमा १ बाट माओवादीका कालिबहादुर मल्ल र २ बाट भक्तबहादुर शाहीले चुनाव जिते । ०७० मा १ बाट माओवादीका शक्ति बस्नेतले चुनाव जित्दा २ मा कांग्रेसबाट राजीव विक्रम शाहले चुनाव जिते । त्यसपछि जाजरकोट एउटै निर्वाचन क्षेत्र बन्यो भने लगातार माओवादीले नै वर्चस्व जमायो ।

२०७४ र ०७९ को दुवै निर्वाचन माओवादीका शक्ति बस्नेतले नै जिते । यद्यपि जाजरकोटमा पछिल्लो समय माओवादीको जनाधार भने खस्किँदै गएको देखिन्छ । बस्नेतले ०७९ मा ३४ हजार १५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाएका थिए । बस्नेतले पाएको मत कांग्रेससहितको हो । उक्त चुनावमा समानुपातिक मत हेर्दा माओवादीको भन्दा कांग्रेसको धेरै छ । कांग्रेसको २२ हजार, एमालेको १९ हजार र माओवादीको १४ हजार थियो ।

बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि पुनः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मैदानमा छन् । उनीसँग एमालेका डम्मरबहादुर सिंह, कांग्रेसका खड्गबहादुर बुढा र अन्य नयाँ तथा पुराना राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एमालेले ०७० को संविधानसभा र ०७९ को प्रदेश (१) को चुनावमा पराजित नेता सिंहलाई नै अघि सारेको छ ।

  • कालिकोट

एमाले सांगठनिकदेखि जनमतको आधारमा कमजोर रहेको अर्को जिल्ला हो, कालिकोट । ०६४ यता यहाँ माओवादीको एकछत्र वर्चस्व छ । ०६४ मा माओवादीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ०७० र ०७९ मा महेन्द्रबहादुर शाही र ०७४ मा दुर्गबहादुर रावतले माओवादीबाट प्रतिनिधिसभा चुनाव जितेका थिए ।

प्रकाण्डले ०६४ मा २७ हजार ६२९ मत ल्याएका थिए । ०७० मा महेन्द्रबहादुर शाहीले १० हजार ८४ मतसहित चुनाव जितेका थिए ।

त्यसपछि ०७४ मा वाम गठबन्धन हुँदा एमालेले टिकट पाएन । माओवादीबाट दुर्गबहादुर रावत उम्मेदवार बने, उनले त्यो बेला २१ हजार ११२ मत ल्याएर जितेका थिए ।

त्यो बेला कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत ल्याए । ०७९ मा माओवादीबाट उम्मेदवार बनेका महेन्द्रबहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर चुनाव जितेका थिए । उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत पाए । उक्त चुनावमा माओवादी—कांग्रेस गठबन्धन हुँदा एमाले नराम्रोसँग पराजित बन्यो ।

समानुपातिक मत हेर्दा पनि कालिकोटमा एमाले दोस्रो नम्बरमा छ । पहिलो माओवादी र तेस्रो कांग्रेस छ ।

अहिले पुनः एमालेले उनै पराजित नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । उता नेकपाबाट पुनः महेन्द्रबहादुर शाही नै उम्मेदवार छन् भने कांग्रेसबाट हर्षबहादुर बम, रास्वपाबाट प्रकाश न्यौपाने र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेकपा (माओवादी) बाट १८ वर्षपछि चुनावी मैदानमा उत्रिएका छन् । यहाँ एमालेले पुनः जित निकाल्न मुस्किल छ ।

  • एमाले सबैभन्दा कमजोर रहेको रुकुमपश्चिम

कर्णालीका १० जिल्लामध्ये सबैभन्दा कमजोर एमाले भएको जिल्ला रुकुमपश्चिम हो । माओवादीको आधार इलाका रहेको यहाँ ०६४ पछिका सबैजसो चुनाव माओवादीका तत्कालीन उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जितेका छन् ।

यहाँ यसअघिका चुनावमा माओवादीसँग प्रतिस्पर्धा राख्ने सामर्थ्य नै एमालेले राख्न सकेको छैन । ०७९ मा एमालेले पाएको मत हेर्दा एमाले कांग्रेसभन्दा पनि कमजोर देखाउँछ । माओवादीका शर्माले ३९ हजार ५४९ मतसहित निर्वाचित हुँदा एमालेका नन्दराम देवकोटाले जम्मा १२ हजार ९६१ मत मात्रै पाएका थिए ।

एमालेले कमजोर जनमत भएको जिल्ला भनेर नै होला, यस जिल्लालाई पार्टीभित्र पनि खासै स्थान दिएको पाइँदैन । एमालेको ११औँ महाधिवेशनमा अन्य जिल्लाले केन्द्रीय सदस्य पाउँदा रुकुमपश्चिमले पाएन । अहिले एमालेले रुकुमपश्चिम जिल्ला इन्चार्ज पनि दैलेखका सुशीलकुमार थापालाई तोकेको छ ।

फागुनमा हुने चुनावका लागि पुनः एमालेबाट नन्दरामले नै टिकट पाएका थिए, तर आइतबार एमाले पार्टी केन्द्रले अहिले आफैँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दनलाई नै सघाउने निर्णय गरेको छ ।

लगातार चार वटा चुनाव माओवादीबाट जितेका शर्मासँग यो पटक उनकै चेला गोपाल शर्मा नेकपाबाट प्रतिस्पर्धा गर्दैछन् । रास्वपाबाट मानबहादुर शाही र कांग्रेसबाट राजु केसी उम्मेदवार छन् ।

  • सल्यानमा ०६४ पछि एक मात्रै चुनाव जित्यो एमालेले

एमाले कमजोर रहेको अर्को जिल्ला हो, सल्यान । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रतिनिधिसभा सल्यान—२ मा एमालेबाट प्रकाश ज्वालाले चुनाव जितेका थिए । त्यसबाहेक अधिकांश प्रतिनिधिसभा चुनाव माओवादीले जितेको छ भने ०७९ मा माओवादी—कांग्रेस र समाजवादीबीच गठबन्धन हुँदा समाजवादीका नेता प्रकाश ज्वालाले नै चुनाव जिते । उनी ०७४ मा प्रदेशसभा चुनाव जितेर तत्कालीन नेकपा विभाजनका बेला एमाले छाडेर समाजवादीमा लागेका थिए ।

उक्त चुनावमा एमालेले तेस्रो स्थान बनायो । ज्वालाले ३५ हजार ७०७ मत पाउँदा राजेन्द्रबहादुर शाही (स्वतन्त्र, कांग्रेस बागी) ले १९ हजार ७९२ मत पाएका थिए । एमालेका राजेन्द्रवीर रायले जम्मा १३ हजार ३९ मत पाएका थिए । समानुपातिकतर्फ भने सबैभन्दा धेरै २२ हजार २५६ मत पाएको छ एमालेले ।

यहाँ ०६४ सालमा दुवै क्षेत्र माओवादीले (१ मा टेकबहादुर बस्नेत, २ मा उमाकान्त शर्मा) ले जितेको थियो । ०७० मा १ मा पुनः बस्नेतले नै चुनाव जिते । ०७४ मा पनि पुनः उनै बस्नेतले चुनाव जिते ।

२०७० पछि प्रतिनिधिसभातर्फ सल्यान एउटै निर्वाचन क्षेत्र बनेको थियो । अहिले यहाँ एमालेबाट गुलाबजंग शाह उम्मेदवार छन् ।

  • अन्य जिल्लामा कस्तो ?

मुगुमा ०६४ माओवादीका नवराज धामी, ०७० मा एमालेका मोहन बानियाँ, ०६४ मा एमालेबाटै गोपाल बम र ०७९ मा कांग्रेसका ऐनबहादुर शाहीले चुनाव जिते । डोल्पामा ०६४ मा माओवादी र त्यसपछिका चुनाव धनबहादुर बुढाले जित्दै आएका छन् । यद्यपि उनी कहिले एमाले त कहिले समाजवादीबाट चुनाव लड्दै आएका छन् ।

त्यसबाहेक दैलेख भने एमालेको किल्लाजस्तै छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले—कांग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ भने माओवादी यी दुई दलको तुलनामा निकै कमजोर छ । अहिलेसम्म माओवादीले कुनै पनि प्रतिनिधिसभा चुनाव नजितेको जिल्ला नै दैलेख हो ।

यता सुर्खेतमा पनि एमाले—कांग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने गरेको छ । दैलेखपछि माओवादी कमजोर रहेको जिल्ला सुर्खेत पनि हो ।

क्याप्सनः ६० को दशकपछि चुनाव जित्न नसकेका क्षेत्रमा फागुनमा हुने चुनावका लागि एमालेबाट उम्मेदवार बनेकाहरू । तस्बिरः रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप