बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ-४ छाड्दै गर्दा गगनको सन्देश, ‘देश जोड्न मधेस जाँदैछु’

सोमबार, १२ माघ २०८२, १४ : १६
सोमबार, १२ माघ २०८२

सारांश

  • गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरे।
  • उनले काठमाडौंका कथा मधेस लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउने बताए।
  • थापाले देश जोड्न र मधेसका मुद्दा बुझ्नका लागि यो निर्णय लिएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले काठमाडौँका कथा मधेस लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउनका लागि आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताएका हुन् ।

भिडियो सन्देशमा थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने तर अधिकारविहीन अवस्थामा एकता पनि सम्भव नहुने धारणा राखे । पहाडबाट बसाइँ सरेर काठमाडौँ आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताए ।

मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दालाई नजिकबाट बुझेर समाधानको पहल गर्दा सिङ्गो नेपालका मुद्दा हल गर्न सकिने र देशको नेतृत्व गर्न मधेसको माटोमा लडिबुडी गर्न आवश्यक रहेको निष्कर्षसहित यो निर्णय लिएको उनले उल्लेख गरे ।

आफ्नो राजनीतिक यात्राको सुरुवाती दिन सम्झँदै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गरे । पहिलो संविधानसभामा समानुपातिक उम्मेदवार हुँदादेखि २०७०, २०७४ र २०७९ को प्रत्यक्ष निर्वाचनमा प्राप्त लगातारको जितलाई उनले मतदाताको अगाध मायाका रूपमा व्याख्या गरे । 

नाकाबन्दी, भूकम्प र कोरोना महामारीजस्ता कठिन समयमा समुदायसँग मिलेर काम गरेको तथा सांसद र मन्त्रीका रूपमा भूमिका खेल्दा मतदाताले गरेको विश्वासप्रति उनले आभार प्रकट गरे । पार्टी सभापति भइसकेपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि आफूले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेरै भए पनि देश जोड्नका लागि सर्लाही रोजेको उनले प्रस्ट पारे ।

आफू सर्लाही गए पनि काठमाडौँ-४ लाई मनमुटुमा लिएर हिँड्ने र यहाँका जात्रा, पर्व, संस्कृति तथा विकास निर्माणमा सधैँ जोडिइरहने प्रतिबद्धता उनले जनाए । काठमाडौँ क्षेत्र नम्बर ४ मा पार्टीका तर्फबाट युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनले आफ्नो अनुभव र तिमल्सिनाको नयाँ जोश मिसाएर क्षेत्रको विकास गर्ने बताए । 

जीवनभर काठमाडौँका मतदाताको ऋणी रहने बताउँदै थापाले सिङ्गो देशको नेता हुनका लागि एकपटक मधेस झर्नुपर्ने बाध्यता र आवश्यकतालाई बुझिदिन आग्रह गरे ।

यस्तो छ थापाको भनाईको पूर्णपाठ :

म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु।

म काठमाडौँका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथाहरू, मधेसका पीडाहरू र मधेसका व्यथाहरूलाई बुझ्दै काठमाडौँ ल्याएर सुनाउन पनि चाहन्छु। म सबैको सम्मान रहँदै गर्दा मात्रै हामीसँगै नेपालीहरूको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु। म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ। तर, म अधिकार नभईकन सबैको बिचमा एकता हुन्छ भन्ने कुरामा पनि विश्वास राख्दिनँ।

नमस्कार !

काठमाडौँ क्षेत्र नम्बर ४ का सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, सबैलाई मेरो हार्दिक नमस्कार ! जय नेपाल !

आज म फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा उम्मेदवार बनेर सर्लाहीको क्षेत्र नम्बर ४ को मेरो नयाँ क्षेत्रमा जाँदैछु। जानु भन्दा पहिला तपाईँहरूसँग केही कुराहरू राखेर मात्र जाने मन भएकोले यो भिडियो मार्फत केही कुराहरू राख्दैछु।

पहिलो संविधान सभाको निर्वाचनको बेलामा म नेपाली कांग्रेस पार्टीको समानुपातिक सूचीको उम्मेदवार थिएँ। आदरणीय सुप्रभा दिदीलाई उम्मेदवारको रूपमा क्षेत्र नम्बर ४ मा लिएर आएको थिएँ। त्यो बेलाका हाम्रा गाउँहरू चपली, चुनिखेल, महाङ्काल, कपन र काठमाडौँ महानगरपालिका भित्रको वडा नम्बर ७, १, ३०, वडा नम्बर ८– यी सबै ठाउँहरूमा, गल्लीहरूमा, आँगनहरूमा, घरहरूमा र चोकहरूमा उम्मेदवार लिएर घुमेको दिनहरू अहिले पनि म सम्झन्छु।

र, त्यही बेलामा तपाईँहरूले औधी माया गर्नुभएको थियो। त्यही मायाले तानेर म २०७० सालमा फेरि उम्मेदवार बनेर क्षेत्र नम्बर ४ मा आएँ। शानदार ढङ्गले मलाई विजयी बनाइदिनुभयो। त्यो बिचमा नाकाबन्दीको हामीले सामना गर्‍यौँ, भूकम्पको हामीले सामना गर्‍यौँ। सँगसँगै मिलेर समुदायसँग काम गर्‍यौँ। एउटा विधायकका रूपमा निर्वाह गर्नुपर्ने भूमिका मैले इमानदारीपूर्वक निर्वाह गर्ने कोसिस गरेँ। कति गल्ती–कमजोरीहरू पनि भए होलान्, तपाईँहरूले सिकाउनुभयो। कतिपय ठाउँमा प्रश्नहरू गर्नुभयो। तर, सधैँभरि मलाई माया गर्नुभयो। मैले छोटो समय मन्त्री बनेर काम गर्ने मौका पनि पाएँ। त्यसको पनि तपाईँहरूले सराहना गर्नुभयो।

२०७४ सालको निर्वाचन सजिलो निर्वाचन थिएन। देशभरि अत्यन्त थोरै ठाउँमा मात्रै नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएको बेलामा पनि मलाई फेरि निर्वाचित गराउनुभयो। र त्यो बेलामा, मलाई अहिले पनि याद छ– कोभिडको ठुलो प्रकोप (महामारी) मा हामीहरू पर्‍यौँ। फेरि एकपटक समुदायसँग मिलेर हामीले काम गर्‍यौँ। यो बिचमा थुप्रै–थुप्रै अभियानहरू सञ्चालन गर्‍यौँ; युवा लक्षित अभियान, महिला लक्षित अभियान, रोजगारी केन्द्रित अभियान, खास गरिकन शिक्षा र स्वास्थ्यका अभियानहरू। नियमित रूपमा गर्ने अरू पूर्वाधारका कामहरू त छँदै थिए। सांसदको रूपमा मैले संसद् भित्र उठाउनुपर्ने विषयहरू छँदै थिए। तर त्यो भन्दा बाहेक पनि ती सबै समुदायसँग मिलेर काम गर्ने मलाई लगातार अवसर दिनुभयो।

२०७९ सालको निर्वाचनमा म पार्टीको महामन्त्री भएर उम्मेदवारको रूपमा प्रस्तुत भएको थिएँ। यो पटक झन् बढी मतान्तरले तपाईँहरूले मलाई निर्वाचित गराइदिनुभयो। मैले पार्टीकै जीवनमा पनि पार्टीको एउटा सदस्य, केन्द्रीय सदस्य, महामन्त्री हुँदै यहाँसम्मको यात्रा तपाईँहरूकै बिचमा रहेर तय गरेँ। सँगसँगै लगातार सांसदको रूपमा पनि यो क्षेत्रबाट तीन पटक त म प्रत्यक्ष रूपमा निर्वाचित नै भएँ।

मैले एउटा परिवारको जस्तो माया यो क्षेत्रमा सधैँभरि पाएँ। यहाँको जात्रा, पर्व, यहाँका साना–साना फङ्सनहरू, पूजा, महोत्सव सबै ठाउँमा तपाईँहरूले मलाई बोलाउनुभयो। सबै ठाउँमा म मिसिएँ र मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण चरणहरू मैले यहीभित्र बिताएको छु। मेरो पार्टीका साथीहरूसँग पनि खेल्दाखेल्दै हामी सबैजना सँगसँगै हुर्केको जस्तो भएका छौँ, परिवार जस्तो भएका छौँ।

म भर्खरै मात्र विशेष महाधिवेशनबाट पार्टीको सभापति भएको छु (नोट: यहाँ वक्ताले सन्दर्भ अनुसार पद उल्लेख गरेको हुनसक्छ)। यो पटक पार्टीका साथीहरूले 'कुनै पनि हालतमा निर्वाचन क्षेत्र छोड्नु हुँदैन' भनेर भन्नुभयो। यहाँका मतदाताहरूले 'यो पार्टी–त्यो पार्टी' नभनीकन जसरी मलाई लगातार निर्वाचित गराउँदै आउनुभएको छ, त्यसका प्रतिनिधि आवाजहरू पनि त्यसै गरिकन आए कि—'यो पटक झन् सहज छ, आफ्नो निर्वाचन क्षेत्र...' लगातार यही नै कुरा भनिराख्नुभयो। म तपाईँहरू सबैप्रति अत्यन्त कृतज्ञ छु, सबैलाई कोटी–कोटी नमन गर्छु।

मेरो आमाबुवाहरू पहाडबाट काठमाडौँ आउनुभएको हो। त्यसैले पहाडको रहनसहन, जीवनलाई मैले नजिकबाट बुझ्ने मौका पाएँ। काठमाडौँमा जन्मिएँ, हुर्किएँ; सहरको जीवन, यहाँका गारा–सारा सबै कुरा बुझ्ने मौका पाएँ। तर मलाई नेपाली कांग्रेस पार्टी—नेपालको एउटा राष्ट्रिय पार्टीको—एउटा जिम्मेवारी निर्वाह गरिरहँदै गर्दा, मलाई मधेससँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने मेरो तीव्र इच्छा पनि रह्यो। रहन आवश्यक पनि थियो।

किनकि मधेससँगको साइनोलाई मैले केवल औपचारिकताको बनाएर मात्र हुँदैन। सर्लाही क्षेत्र नम्बर ४ का साथीहरूले माया गरेर बोलाउनुभयो, म त्यहाँ जाँदैछु। त्यसैले, मैले मधेसको प्रतिनिधित्व गर्दै गर्दा, त्यहाँका मुद्दाहरूलाई मैले बुझ्दै गर्दा, त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा—प्रकारान्तरले मैले सिङ्गो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठुलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु।

त्यसकारणले गर्दा, मैले एउटा निर्णय गरेर, सुझबुझ पूर्ण सोच–विचार गरेर निर्णय गरेर—पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्केको म, तर सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेसको माटो राम्रोसँग टेक्नुपर्छ, ढोग्नुपर्छ, त्यसको आशीर्वाद लिनुपर्छ, त्योसँग जोडिनुपर्छ, त्यहीँभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ। यो निर्णयप्रति तपाईँहरूको त्यस्तै माया र विश्वास रहन्छ भन्ने विश्वास राख्छु।

काठमाडौँमा एउटा युवा सचिन तिमल्सिनालाई नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारको रूपमा हामीले प्रस्तुत गरेका छौँ। सचिन तिमल्सिनाका बारेमा तपाईँहरूले अरू माध्यमहरूबाट पनि थप कुराहरू थाहा पाउँदै जानुहुन्छ। तपाईँहरूको बिचमा आएर पनि म पनि आएर राख्छु।

तर अहिलेको लागि यति नै कुरा भन्छु—तपाईँहरूले जुन माया मलाई गर्नुभयो, जुन शुभेच्छा र आशीर्वाद मलाई दिनुभयो, म जीवनभर त्यसलाई सम्झन्छु, जीवनभर ऋणी रहन्छु। म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने, म सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दै गर्दा, काठमाडौँ क्षेत्र नम्बर ४ लाई पनि म सँगसँगै मेरो मन–मुटुमा लिएर हिँड्न सक्छु भन्ने विश्वास म राख्छु।

किनकि यहाँको जात्रासँग म जोडिएको छु, यहाँको पर्वसँग म जोडिएको छु, यहाँको महोत्सवसँग म जोडिएको छु। तपाईँहरू–हामी सबै मिलेर पहिलो पटक कमलपोखरीमा छठ हामीले सुरु गर्‍यौँ। यस्ता कैयौँ 'पहिलो पटक' गरिएका हाम्रा अनुभवहरू छन्। ती अनुभवहरू म सँगालेर राख्नेछु। सर्लाहीमा पनि म ती नयाँ अनुभवहरू लिएर आउनेछु। ती दुईटैको अनुभवलाई मिसाएर झन् अझ बढी निखारिएर जान्छु भन्ने कुराको विश्वास राख्छु।

सधैँभरि तपाईँहरू मेरो मन–मुटुमा रहनुहुन्छ। म तपाईँहरूकै बिचमा छु, तपाईँहरूकै बिचमा रहन्छु। फेरि एकपटक तपाईँहरूको शुभेच्छा, तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया, तपाईँहरूको प्रेम, साथ र विश्वास जुन मैले निरन्तर पाएँ, आगामी दिनमा पनि त्यसै गरिकन पाइराख्छु भन्ने विश्वास राख्दै, आजबाट म सर्लाही क्षेत्र नम्बर ४ मा हुन्छु। फेरि अर्को कुनै बेला आएर तपाईँहरूको बिचमा आफ्नो कुरा राखुँला।

धन्यवाद ! नमस्कार ! जय नेपाल !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप