चन्दाको नाममा जथाभावी क्युआर पठाउन नपाइने, स्वीकृति लिएर छुट्टै खाता खोल्नुपर्ने
सारांश
- निर्वाचनका लागि चन्दा संकलन गर्न छुट्टै खाता खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
- राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्नेछ।
- निर्वाचन आयोगको सिफारिसमा बैंक खाता खोल्न सकिनेछ, जसले आर्थिक पारदर्शिता कायम गर्नेछ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि चन्दा सहयोग गर्न भन्दै जथाभावी खाताको क्युआर कोड पठाउन नपाइने भएको छ ।
निर्वाचन आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले आमनिर्वाचनको क्रममा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गरेर मात्रै यस्तो कारोबार गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको छ । बैंकले यसका लागि छुट्टै प्रकृतिको खाता खोल्ने व्यवस्था समेत गरेको छ ।
यस्ता छन् निर्देशनका मुख्य बुँदाहरू
- कसले खाता खोल्नुपर्ने ?
यो व्यवस्था अन्तर्गत निर्वाचनमा सहभागी हुने प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरू (समानुपातिक तर्फका समेत) र स्वतन्त्र उम्मेदवारहरूले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्नेछ।
- सिफारिस आवश्यक
यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस आवश्यक पर्नेछ।
- खाताको प्रकृति
बैंक तथा वित्तीय संस्थाहरूले ‘निर्वाचन अभियान’ समूह वा यस्तै मिल्दो अन्य कुनै नाममा नेपाली मुद्रामा आम्दानी र खर्चको कारोबार गर्न मिल्ने गरी छुट्टै एउटा खाता खोलिदिनुपर्नेछ।
- नियममा विशेष छुट
साधारणतयाः एउटै बैंक वा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था (एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. २१ को बुँदा नं. ४५) रहेको छ। तर, निर्वाचन प्रयोजनका लागि खोलिने यो विशेष खाताको हकमा भने राष्ट्र बैंकले उक्त नियममा छुट प्रदान गरेको छ ।
यो खाता निर्वाचन आयोगले अर्को निर्णय गरी बन्द गर्न नभनेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ । निर्वाचन खर्चलाई बैंकिङ प्रणालीमार्फत गराई आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो कदम चालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण