कलाकारलाई मेला–महोत्सवको चटारो
सारांश
- नेपालमा मेला महोत्सवको रौनक बढेसँगै गायक तथा कलाकारहरूको व्यस्तता बढेको छ।
- बद्री पंगेनी, दुर्गेश थापा, रचना रिमाल, प्रकाश सपुत र शान्तिरानी परियार लगायतका कलाकारहरू देशका विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रममा व्यस्त छन्।
- चुनाव नजिकिँदै गर्दा कार्यक्रम केही कम हुने देखिए पनि माघ महिनाभर कलाकारहरूको व्यस्त दैनिकी कायमै रहने देखिन्छ।
काठमाडौँ । यति बेला नेपालका सहरदेखि गाउँसम्म मेला–महोत्सवको रौनक छाएको छ । ती मेला–महोत्सवमा साङ्गीतिक प्रस्तुति दिन कलाकारहरूको व्यस्तता बढेको छ ।
लोकप्रिय गायक बद्री पंगेनीलाई अहिले समय व्यवस्थापन गर्न निकै हम्मे परेको छ । मंगलबार पोखरामा नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गर्ने कार्यक्रममा प्रस्तुति दिने तयारीमा रहेका उनी बुधबार नुवाकोट, बिहीबार सिन्धुली र शुक्रबार दाङ तुलसीपुरको कार्यक्रम भ्याउने चटारोमा छन् । उनको व्यस्तता यतिमा मात्र सीमित छैन; लमही, रोल्पा, धादिङ, बर्दघाट हुँदै आगामी २४ गते उनी दुबईको एक कार्यक्रममा समेत प्रस्तुति दिन पुग्नेछन् ।
क्रिकेटका सौखिन पंगेनी दुबईको कार्यक्रम सकेपछि विश्वकप हेर्न सिधै मुम्बई जाने योजना बनाएका छन् । विगत केही महिनादेखि मेला–महोत्सवले गर्दा साथीभाइसँग फोनमा कुरा गर्ने फुर्सदसमेत नमिलेको उनी बताउँछन् । माघ ६ गते नेपालगञ्ज, ५ गते रत्ननगर, ३ गते बारबर्दिया महोत्सवमा प्रस्तुति दिएका उनले २ गते पोखराको ‘१४औँ पोखरा महोत्सव २०८२’ समेत तताएका थिए ।
कुनै महिना त दैनिकजसो कार्यक्रम पर्ने गरेको पंगेनी सुनाउँछन् । ‘आसपासकै क्षेत्रमा कार्यक्रम भए पो ! कहिले कता, कहिले कता हुन्छ’, पंगेनीले भने, ‘कहिलेकाहीँ प्लेन समयमै नउड्दा र बाटो जाम भइदिँदा समस्या पर्छ ।’
केही दिन अघि पर्वत महोत्सव जाने क्रममा प्लेन ढिला भएकाले साँझ ५ बजे स्टेज चढ्नुपर्ने उनी साढे ८ बजेमात्र पुगेका थिए । ‘केही महिना यता म बिचमा एक–दुई दिन खाली भएँ होला, नत्र दैनिकजसो व्यस्त छु’, पंगेनीले भने, ‘एक किसिमले भन्ने हो भने किसानका लागि मंसिर महिनाजस्तै हो हामी गायक–गायिकाका लागि यो समय ।’
सिजनका केही महिना यस्ता कार्यक्रममा सहभागी हुँदा वर्षभरिको खर्च चल्ने पंगेनीले खुलाए । ‘पेसा नै यही हो । बाँच्ने आधार नै यही हो । आफ्नो कर्म त गर्नैपर्यो’, उनले भने, ‘यो त दर्शकसँग भेटिने, नजिकिने, उहाँहरूसँग घुलमिल हुने र उहाँहरूको प्रतिक्रिया लिने अवसर पनि हो ।’

यस्ता कार्यक्रममा सहभागी हुने क्रममा आफूले नघुमेका ठाउँ घुम्न पाउने र नजानेका विषयमा थाहा हुने उनको अनुभव छ ।
महोत्सवका सधैँ मिठा अनुभवमात्र छैनन्, उनीसँग केही तिता अनुभव पनि छन् । कतिपय ठाउँमा मेला व्यवस्थापकले नराम्रो व्यवहार गर्ने गरेको उनको गुनासो छ ।
यता, शनिबार नयाँ गीत ‘नाच नाच भाइ नाच...’ सार्वजनिक गरेका गायक दुर्गेश थापा पनि यति बेला मेला–महोत्सवमा उत्तिकै व्यस्त छन् । अभिनेता पल शाहसँगको सम्बन्ध र विवादले केही समय मेला–महोत्सवबाट बहिष्कारमा परेका उनी अहिले भने सबैको रोजाइमा परिरहेका छन् ।
अघिल्लो गीत ‘दुश्मन हेरेको हेर्यैै...’ को सफलतापछि उनलाई कार्यक्रममा सहभागी हुन भ्याइ–नभ्याइ भएको हो । स्वदेशका मात्र होइन, विदेशका कार्यक्रममा समेत उनको ठुलो डिमाण्ड छ । साङ्गीतिक कार्यक्रमका हिसाबले यो वर्ष आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।

दुर्गेश सोमबार नेपालगञ्ज महोत्सवमा सहभागी भए । अघिल्लो महिनामा ३२ वटासम्म कार्यक्रम भ्याएका उनले यो महिना १४–१५ वटा कार्यक्रममा सहभागिता जनाउने छन् । चुनाव नजिकिँदै गर्दा कार्यक्रमहरू केही कम हुन थालेको उनले सुनाए ।
दुर्गेशले पछिल्लो समय काठमाडौँ, अर्घाखाँची, पोखरा, दमौली, सिक्किम, टीकापुर, बाँसगढी, देवचुली र सुर्खेतसम्मका साङ्गीतिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।
गायिका रचना रिमालको व्यस्तता पनि उस्तै छ । उनले फुर्सदमा बस्न नपाएको ३ महिना भइसक्यो । ‘बिरामी नपरे त ठिकै हो, बिरामी भइयो भने गाह्रो पर्ने रहेछ’, उनी भन्छिन् ।
रचना त कहिलेकाहीँ एकै दिन दुई वटा महोत्सव समेत भ्याउँछिन् । आइतबार (माघ ११) बर्दियामा माघी महोत्सवमा प्रस्तुति दिएकी उनले सोमबार रोल्पामा प्रस्तुति दिइन् । उनको रोल्पा यात्रा पहिलो पटक हो । सोमबार उनी नवौँ नुवाकोट महोत्सवमा सहभागी भइन् ।

यो महिना माघे सङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा प्रस्तुति दिएकी उनले भोलिपल्टै नेपालगञ्जको प्रादेशिक महोत्सव भ्याएकी थिइन् । अहिलेसम्म उनले बागलुङ, गोरखा, रत्ननगर, घोराही, महेन्द्रनगर, टीकापुर, पर्साको माघी–ल्होछार मेला र गैँडाकोट महोत्सवमा आफ्नो स्वरको जादु छरिसकेकी छन् । माघ महिनाभर देशका विभिन्न ठाउँमा व्यस्त रहने उनले बताइन् । रचनाका लागि यो समय केवल आर्थिक आम्दानीमात्र होइन, दर्शकसँग प्रत्यक्ष जोडिने माध्यम पनि हो ।
‘सबै ठाउँबाट डिमाण्ड आउँछ, भ्याएसम्म पुग्ने कोसिस गर्छु’, उनले भनिन्, ‘धेरैले यसलाई कलाकारको दसैँ पनि भन्छन्, तर मेरा लागि दसैँ भनेको छुट्टीजस्तो लाग्छ । योचाहिँ कामको चटारो हो ।’
चुनाव लागेपछि भने कार्यक्रम केही कमी हुने उनले सुनाइन् ।
अभिनय र गायन दुवैमा जमेका गायक तथा अभिनेता प्रकाश सपुत पनि साङ्गीतिक मञ्चमा फर्किएका छन् । अभिनयले गर्दा केही वर्ष स्टेजबाट टाढा रहेका उनी केही महिनादेखि मेला–महोत्सवमा झुल्किएका हुन् ।

गत आइतबार सिन्धुली महोत्सवमा प्रस्तुति दिएका सपुतले त्यसअघि अर्घाखाँची, देवचुली, पोखरा, स्याङ्जा, महेन्द्रनगर, राजापुर, बाँसगढी, टीकापुर र लालमटियाका दर्शक नचाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदको सूचीमा समेत रहेका उनी अझै केही दिन साङ्गीतिक कार्यक्रम गर्ने र त्यसपछि चुनावमा होमिनुपर्ने बताउँछन् ।
त्यस्तै, आइतबार दाङको लमहीमा प्रस्तुति दिएकी चर्चित गायिका शान्तारानी परियारले सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा सहभागिता जनाइन् । ‘म त ढलेँ ढलेँ’ गीतबाट चर्चामा आएकी उनले लमहीअघि दाङकै लालमटियामा कार्यक्रम गरेकी थिइन् । परियारले सल्यान, पोखरा, गुल्मी, बागलुङ, चन्द्रौटा र भरतपुरमा समेत प्रस्तुति दिइसकेकी छन् । उनी पनि विगत २ महिना यता मेला–महोत्सवमै व्यस्त छिन् ।

बद्री, रचना, दुर्गेश, प्रकाश र शान्तारानी मात्र होइन, गायिका अस्मिता अधिकारी, ज्योति मगर, लक्ष्मी आचार्य, एलिना चौहान, बिन्दु परियार लगायत थुप्रै कलाकारलाई अहिले मेला–महोत्सवको चटारो छ । चुनावको चहलपहल बढेसँगै कार्यक्रमहरू केही कम हुने आकलन गरिए पनि माघ महिनाभरि कलाकारहरूको व्यस्त दैनिकी कायमै रहने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण