बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जागिरले जीवन पाल्छ, उद्यमले आर्थिक समृद्धि ल्याउँछ : डा. श्रेष्ठ

मङ्गलबार, १३ माघ २०८२, १५ : ५६
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले युवाहरूलाई लक्ष्य निर्धारण गरेर अघि बढ्न सुझाव दिए।
  • उनले उद्यमशीलता आर्थिक प्रगतिको उत्तम विकल्प भएको बताउँदै युवाहरूलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गरे।
  • सहकारी क्षेत्र धराशायी हुनुको कारणबारे चर्चा गर्दै, सचिव भुजेलले आगामी दिनमा सहकारीको नियमनलाई कडाईका साथ लागु गरिने बताए।

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले युवाहरूलाई उमेरमै आफ्नो लक्ष्य निर्धारण गरेर अघि बढ्न सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा सुरु भएको 'दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन' लाई सम्बोधन गर्दै उनले युवा अवस्थामा नै उद्यमी बन्ने कि जागिर खाने भन्ने निर्णय लिन सके सफल हुने सम्भावना बलियो रहने बताएका हुन् ।

सरकारी जागिरमा उच्च प्रतिस्पर्धा हुने र यसले जीवन निर्वाह मात्र गर्ने उल्लेख गर्दै उनले आर्थिक प्रगतिका लागि उद्यमशीलता नै उत्तम विकल्प भएको स्पष्ट पारे। उपाध्यक्ष श्रेष्ठले उद्यमशीलतामा लाग्न कडा मेहनत र समयको लगानी आवश्यक पर्नेमा जोड दिए।

"अल्छी मानेर बसेर हुँदैन, समय र लगावले नै सफल उद्यमी बनाउँछ," उनले भने, "सफल उद्यमीले धेरै कमाइरहेका छन्, तर जागिर खाँदा आर्थिक हिसाबले खासै ठूलो प्रगति नहुन सक्छ।" उनले अहिलेको पुस्ता 'हाइटेक' भएर जन्मिएको उल्लेख गर्दै प्रविधिको छिटोछरितो परिवर्तनसँग अभ्यस्त हुनु अहिलेको ठूलो चुनौती र आवश्यकता रहेको औँल्याए।

सोही कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र धराशायी हुनुको मुख्य कारण जोखिमको गलत आकलन र सञ्चालकहरूको बदमासी रहेको बताए। विगतमा धितो नराखी ऋण प्रवाह गरिएको, सदस्यभन्दा बाहिरको ठूलो रकम बचतका रूपमा लिइएको र उक्त रकम सञ्चालकहरूले आफ्नै कम्पनीमा लगानी गर्दा सहकारीहरू डुबेको उनको ठहर छ।

सचिव भुजेलले अहिले सहकारी सञ्चालकहरू समाजमा शिर निहुराएर हिँड्नुपर्ने अवस्था आएको भन्दै अब सहकारीहरू पूर्ण अनुशासनमा चल्नुपर्नेमा जोड दिए। धेरै बचतकर्ताको रकम डुबेकाले सरकारमाथि सहकारीहरूको कडा नियमन गर्न दबाब परिरहेको र आगामी दिनमा नियमनलाई थप प्रभावकारी बनाइने उनले प्रतिबद्धता जनाए। मंगलबार सुरु भएको यो युवा सम्मेलन बुधबारसम्म चल्नेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप