बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुर्खेत-२

राजनीतिक विश्लेषणभन्दा भिन्न छ मतदाताको बुझाइ

नयाँप्रति आशा, पुरानाप्रति आक्रोश
बिहीबार, १५ माघ २०८२, ०७ : ३४
बिहीबार, १५ माघ २०८२

सारांश

  • कर्णाली प्रदेशको सुर्खेतमा आगामी निर्वाचनको चर्चा सुरु भएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू चुनावी अभियानमा जुटेका छन्।
  • मतदाताहरू पुराना दलहरूप्रति असन्तुष्ट देखिएका छन् र नयाँ राजनीतिक दल र उम्मेदवारप्रति आशावादी देखिएका छन्।
  • विभिन्न दलका उम्मेदवारहरूले चुनावी अभियानलाई वीरेन्द्रनगर बाहेक पश्चिम सुर्खेतका क्षेत्रमा केन्द्रित गरेका छन्।

सुर्खेत । उम्मेदवारी दर्तासँगै यतिवेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका चिया–चौतारामा व्यापक चुनावी चर्चा—परिचर्चा हुन थालेका छन् ।

वीरेन्द्रनगरको एरिचोक, पिपल चौतारालगायत ठाउँमा बुढापाकादेखि युवाबिच चुनावी गफले स्थान बढ्तै पाएका छन् । राजधानीसमेत भएकाले पनि पहाडी जिल्लाका मतदातासमेत वीरेन्द्रनगरमै भेटिन्छन् ।

राजधानी वीरेन्द्रनगर नगरपालिकाका पश्चिम सुर्खेत अर्थात् सुर्खेत क्षेत्र नम्बर २ अन्तर्गत (१५, १६ वडा बाहेक) पर्दछन् । वीरेन्द्रनगरबाहेक पश्चिम सुर्खेतका बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका यो क्षेत्रमा पर्छन् । यो क्षेत्रमा विभिन्न राजनीतिक दलका गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेसबाट नारायण कोइराला, नेकपा एमालेबाट कुलमणी देवकोटा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेशकुमार सापकोटा चुनावी मैदानमा छन् ।

यो पटक सबै उम्मेदवारहरू नयाँ अनुहार नै छन् । यी चार वटै दलका उम्मेदवारहरू यतिबेला चुनावी अभियान लिएर पश्चिम सुर्खेत पुगेका छन् । उनीहरूले राजधानी वीरेन्द्रनगरलाई अभियानको सुरुवाती केन्द्र नबनाएर पश्चिमका चौकुने, पञ्चपुरीलाई बनाएको देखिन्छ ।

प्रायः मतदाताहरू भने राजधानी वीरेन्द्रनगरमै छन्, विशेषगरी रोजगारी, व्यापार, अध्ययन, अध्यापनको सिलसिलामा । गाउँमा अहिले प्रायः वृद्ध उमेर समुहका मतदाताहरू छन् ।

सुर्खेतमा राजनीतिक रुपमा चर्चा तीन पुराना दलहरू कांग्रेस, एमाले र नेकपाबिच नै प्रतिस्पर्धा हुने आकलन गर्छन् नेता तथा बुद्धिजीविहरू । उनीहरूको तर्क छ—रास्वपाले केही भोट काटे पनि चुनाव नै जित्न सक्ने अवस्था यहाँ छैन । पुराना दलहरूका आफ्नै सांगठनिक संयन्त्र छन्, उनीहरूको आफ्नै परम्परागत भोट छन् ।

तर मतदताहरूको बुझाइ भने राजनीतिक रूपमा गरिएका विश्लेषण र आकलनभन्दा भिन्न पाइन्छ । मतदाताका परम्परागत दलहरूप्रतिका आशादेखि एजेन्डासमेत बदलिएका पाइन्छन् ।

वीरेन्द्रनगर नगरपालिका—४, चिसापानीकी टीका तिवारी (३४) यसअघि तीन वटा चुनावमा मतदान गरिसकिन् । उनका बुबादेखि भाइ लामो समयदेखि कांग्रेसको राजनीति गर्छन् । सामान्य चिया–नास्ता पसल चलाइरहेकी टीकाले यसअघि कांग्रेसदेखि एमालेसम्मलाई मतदान गरेको प्रस्ट बताइन् । ‘उम्मेदवाहरू अनेक आश्वासन दिन्थे, विकास गर्छौं भन्थे, त्यही भएर भोट दिएको हो,’ उनले भनिन्, ‘तर यो पटकचाहिँ भोट चेन्ज गर्ने हो ।’

photo (3)
टीका तिवारी

 

उनलाई लागेको छ, अहिले देश यो स्थितिमा पुग्नुको प्रमुख जिम्मेवार पुराना राजनीतिक दल र तिनका नेताहरू हुन् । हरेक ठाउँमा हुने नातावाद, कृपावाद र पहुँच हुनेहरूले मात्रै सबै ठाउँमा हालिमुहाली गरेको र पहुँचकै भरमा जागिर लगाउने परम्पराप्रति वितृष्णा रहेछ उनलाई । भन्छिन्, ‘पढेलेखेका युवाहरू विदेश जाने, बुढाखाडा ८ कक्षा पढेकाहरूले देश चलाउने रहेछन् ।’

उनले विकास भन्ने कुरा क्रमिक रूपमा हुने भए पनि देशको अवस्थालाई मध्यनजर गरेर नयाँ राजनीतिक दललाई एक पटक हेर्नुपर्ने प्रस्ट पारिन् । साथै उनी जनताले सोचेअनुरुप पुराना दलहरूले विकास पनि गर्न नसकेको भन्दै रुष्ट भइन् । ‘केपी, देउवा, प्रचण्डहरू एकअर्कालाई गाली गर्ने, आरोप लगाउँछन्, हामीले सामाजिक सञ्जालमा हेर्छौं,’ उनी उल्टै प्रश्न गर्छिन्, ‘उनीहरूले अहिलेका युवाहरूलाई पनि अनेक गाली गरिरहेका हुन्छन् । उनीहरूले राम्रो व्यवस्था, सबैको मनोभावना बुझेको भए देशका यस्तो आन्दोलन किन हुन्थ्यो र है ?’

नयाँहरूले देश चलाएको खण्डमा आफ्नै देशका रोजगारीको सिर्जना हुने अपेक्षा गरिन् । साथै, देशमा ठुला आयोजनाहरू बनाउनुपर्ने र तिनमा नेपाली युवाहरूले रोजगारी पाउनुपर्ने उनको तर्क थियो ।

उनी मात्र होइन्, सुर्खेत—२ का २० जना मतदातासँग चुनावबारे बुझ्दा अधिकांशले नयाँ राजनीतिक दल, विशेषगरी रास्वपाप्रति सदाशयता देखाए । कतिपय मतदाता यस्ता पनि भेटिए—रास्वपाबाट आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार को छ भन्ने थाहै नपाए पनि भोट भने घण्टीलाई दिने ठोकुवा गरे ।

वीरेन्द्रनगर—४, भैरवस्थानका कमल थापा (३३) विगतमा कहिले कांग्रेस त कहिले एमालेलाई भोट दिँदै आएका मतदाता हुन् । हामीसँगको कुराकानीमा उनले सीधै भने—हेर्नुस् पहिले जे भयो भयो, यो पटक त सीधै घण्टीमा बजाइदिने हो । तर उनलाई यो क्षेत्रबाट उक्त दलबाट उम्मेदवार को हो भन्ने अहिलेसम्म पनि थाह रहेनछ । फेसबुक र युट्युबमा रवि लामिछाने, बालेन साहको भिडिओहरू प्रायः हेर्ने बताएका उनले आफ्नो धारणा बनाए पनि कारण भने खासै खुलाएनन् ।

photo (2)
कमल थापा

भने, ‘अहिले परिवर्तनका लागि भोट दिने हो, बुढाखाडाहरूले देश डुबाए, बाटो बनाउछौँ, राम्रो सुविधा दिन्छौँ भनेर हामीलाई झुक्याएका रहेछन्,’ उनले भने, ‘बाटो त बनेको छ गुणस्तर छैन, जहाँ पनि आफ्ना नातागोता, आफन्त, कार्यकर्तामात्रै ।’

यस्तै वितृष्णाकै कारण जेनजी आन्दोलन भएको पनि उनले ठोकुवा गरे । उनले यतिसम्म कि अरू कुरा आफूलाई केही थाह नभएको तर आफ्ना बुढाबुढीको सल्लाह नै घण्टीलाई भोट दिने भइसकेको उनले खुलेर बोले ।

उनको भनाइ छ—युवा पुस्ताहरूले देश चलाउनुपर्छ, तर उनले आफ्नो कुनै माग नरहेको प्रस्ट पारे ।

कतिपय मतदाताहरूले पार्टी नबदल्ने तर भोटचाहिँ यो पटक बदल्ने प्रतिक्रिया दिए । बराहताल गाउँपालिका—४, तरङ्गाका मोहन सोडारी (४३) विगतका एक पटक राप्रपाबाट वडा सदस्यसम्म लडेका थिए, तर उनले यो पटक आफ्नो मत बदल्ने बताए ।

अन्य मतदाताजस्तै उनले पनि देशमा पुराना दलहरूमा नातावाद, कृपावादले गिजलेको र सर्वसाधरणहरू सधैँ किनारामा रहेको सुनाए ।

‘देशमा रोजगारी छैन, गास, बासको ग्यारेन्टी छैन,’ उनी भन्छन्, ‘जहाँ जाँदा पनि राजनीतिक पहुँच चाहिन्छ, ०४६ सालदेखि सबैलाई हेरियो, अहिले नयाँलाई हेरौँ कि भन्ने लाग्या छ ।’

उनले पनि जेनजी आन्दोलन पुरानै दलहरूले गरेको भ्रष्टाचार, बेथिति र कुशासनका कारण भएको बताए । ‘अहिले आफ्नो कमजोरी लुकाउन हाम्रा बालबालिका र युवाहरूलाई आतङ्ककारी भन्ने, विदेशीको एजेन्डा भन्ने गरेका छन्,’ उनले थपे, ‘यो सरासर गलत हो, आन्दोलनमा यतिका मान्छे मर्दा देशको नेतृत्वमा को थियो ?’

हेलिकप्टरबाट भाग्नुपर्ने अवस्था आउँदा पनि केपी, प्रचण्ड, देउवाहरूले नेतृत्व हस्तान्तरण नगरेको भन्दै उनले रोष पोखे ।

राजधानी वीरेन्द्रनगरकै पुराना कतिपय मतदाता भने चुनावबारे नै वेखबर रहेको पाइयो । अहिलेसम्म उम्मेदवार नै भोट माग्न नआएकाले कसलाई मत दिने भन्ने विषयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिए ।

यद्यपि कतिपय मतदाताहरूले नयाँ राजीतिक दलमा एजेन्डाको कमी, प्रस्ट रणनीति र सिद्धान्त नरहेको बताए । वीरेन्द्रनगरको भैरवस्थानमा तरकारी पसल सञ्चालन गर्दै आएका केशव चन्द (४१)ले नयाँ भनिएकाहरूको गन्तव्य र सिद्धान्त के हो भन्ने कुरा नै प्रस्ट नभएको बताए ।

‘हो, देशमा पुरानाबाट हामी पनि असन्तुष्ट छौँ, तर नयाँहरूको लक्ष्य, उद्देश्य, विचार के हो त्यो देख्दिनँ,’ उनले थपे । नयाँहरूमा लहडको राजनीति हाबी भएको उनको भनाइ छ ।

बरु उनले पुरानै दलहरूभित्रका राम्रा र अवसर नपाएका नेताहरू अगाडि आउनुपर्ने तर्क राखे । उनले पुराना दलमा पनि विशेषगरी माओवादी (हाल नेकपा)ले केही गर्न खोजेको बताए ।

सहरतिरका मतदाताहरूले बाटोघाटोको कुरा नगरे पनि पश्चिम सुर्खेतका मतदाताहरूले भने परम्परागत स्वास्थ्य, शिक्षा र बाटोघाटाहरू राम्रो बन्नुपर्ने तर्कहरू गरे । बराहताल गाउँपालिका—५, बेलचौरकी सम्झना गुरुङ बोगटी (३०)ले गाउँमा अझै पनि सहज रुपमा यातायातको सुविधा नपुगेको बताइन् ।

‘हाम्रो गाउँमा बाटो राम्रो छैन, गाडी चल्नै मुस्किल हुने गरी डोजरले खन्ने काम मात्र भएको छ, पानी पर्दा गाडी नै चल्दैनन्,’ उनले भनिन्, ‘हामीले विगतमा कांग्रेस, एमालेलाई भोट दिएकै हो, उनीहरूले केही गरेनन् ।’ बरु जनताका भोटमा उनीहरूले रजाइँ गरेको र दुखी, गरिबको अवस्था उस्तै रहेको उनले बताइन् ।

पुराना दलहरूप्रति वाक्क भइसकेकाले अहिले आफूले नयाँलाई र आफ्ना गुनासाहरू सुन्नेलाई मतदान गर्ने सोच बनाएको उनले बताइन् ।

पटक–पटक अवसर दिँदा पनि पुराना दलका नेताहरूले भ्रष्टाचार र बेथिति मात्रै गरेको उनको टिप्पणी थियो ।

कतिपय चुनावबारे बेखबर !

राजधानी वीरेन्द्रनगरकै पुराना कतिपय मतदाता भने चुनावबारे नै वेखबर रहेको पाइयो । अहिलेसम्म उम्मेदवार नै भोट माग्न नआएकाले कसलाई मत दिने भन्ने विषयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिए । ६६ वर्षीय शान्ति दमाईका श्रीमान् केही वर्षअघि बिते । छोराछोरीसँगै बस्दै आएकी उनले पहिला सडक छेवैमा तरकारी बेच्थिन्, त्यहीवेला कांग्रेस नेता हृदयराम थानी, एमाले नेता यामलाल कँडेलले भोट माग्न आएको सम्झना गरिन् ।

photo (1)
शान्ति दमाई

‘हाम्रा दुख उस्ताई छन्, हाम्रा लागि को क्या अन्याहुन्,’ आफ्नै लवजमा उनले भनिन्, ‘अहिले छोराले घर बनाउन लाग्या छ, त्यसमा सहयोग गरिदिन्या भया, भोट दिन्याछियाँ ।’ उनले उम्मेदवार पनि भोट माग्न नआएकाले फागुनमा हुने चुनावबारे आफुलाई केही थाहा नभएको बताइन् ।

उनीजस्तै वृद्ध उमेरका मतदातामा चुनावबारे खासै चासो देखिएन । २०—५० वर्ष उमेर समूहका मतदाताहरूमा चुनावबारे धेरै चासो रहे पनि सर्वसाधारण पाका मतदातालाई चुनावबारे खासै चासो देखिएन ।

यस्तो छ विगतको चुनावी अंकगणित

सुर्खेत—२ अन्तर्गत वीरेन्द्रनगरमा मात्रै ७१ हजार ८४० मतदाता छन् । सोही क्षेत्रअन्तर्गत पर्ने पश्चिमतर्फका तीन पालिका बराहताल, चौकुने र पञ्चपुरीको कुल मतदाता संख्या ५६ हजार ९७९ छ ।

अहिले प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, नेकपादेखि रास्वपासम्मकै उम्मेदवार बनेकाहरू प्रायः वीरेन्द्रनगरका छन् । त्यसैले उम्मेदवारहरू पश्चिम क्षेत्रको ग्रामीण भूभागका मतदाताको मनोविज्ञान बुझ्न यतिवेला चौकुने, पञ्चपुरी केन्द्रित भएका छन् ।

तर निर्णायक मत भने राजधानीभित्रै छ । कांग्रेस र एमालेलाई नेकपा र रास्वपाको डर छ भने यी दुई दलबिचको आन्तरिक विवादको विषयलाई नेकपाले मौकाको फाइदा उठाउन सक्छ ।

०७९ मा यहाँ प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २५ हजार ८६, कांग्रेसले २३ हजार १०, माओवादीले १० हजार ५९ र रास्वपाले ६ हजार १४६ मत पाएका छन् ।

रास्वपाका उम्मेदवार रमेश सापकोटा यातायात व्यवसायी हुन् भने उनी विगतमा कांग्रेसकै वीरेन्द्रनगर कमिटीमा थिए । त्यसको हुँदा उनले अन्य दलभन्दा कांग्रेसको मत धेरै लिनसक्ने आकलन गरिएको छ ।

अर्कातर्फ यहाँ पूर्वमाओवादी कार्यकर्ताहरूले ८ वर्षदेखि आफ्ना उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् ।

२०७४ मा वाम गठबन्धन हुँदा एमालेका नवराज रावतलाई सहयोग गरेको माओवादीले ०७९ मा वाम—लोकतान्त्रिक गठबन्धन हुँदा कांग्रेसका हृदयराम थानीलाई सघायो । यी दुवैले चुनाव जिते । यो पटक आफ्नै उम्मेदवारलाई भोट हाल्न पाउने भएका छन् ।

यसो हुँदा कांग्रेस र एमाले दुवैलाई घाटा लाग्ने देखिन्छ । ०७९ मा यहाँ प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २५ हजार ८६, कांग्रेसले २३ हजार १०, माओवादीले १० हजार ५९ र रास्वपाले ६ हजार १४६ मत पाएका छन् ।

तर प्रत्यक्षतर्फ प्रतिनिधि सभा कांग्रेसका हृदयराम थानीले ३४ हजार ६२५ मतसहित चुनाव जितेका थिए । उनले पाएको मत माओवादीसहितको हो । एमाले उम्मेदवार अमृत विसीले २९ हजार ५५८ मत पाएका थिए । यस्तै रास्वपाका उम्मेदवारले ४ हजार ६०१ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप