सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

'भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता'

बिहीबार, १५ माघ २०८२, १५ : ४५
बिहीबार, १५ माघ २०८२

काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताए ।

उनीहरुले भ्रष्टाचार के हो ? घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो ? भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताइन् ।

उनले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताइन् । उनले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताइन्। नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले भ्रष्टाचाररहित देश बनाउने सबैको चाहना भएपनि कसले र किन हुन दिइएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताइन् ।

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सबैको उद्देश्य सदाचार र असल समाज निर्माण गर्नु रहेको बताइन्। उनले भ्रष्टाचारमुक्त नेपाल र स्वाभीमानी नेपाली भएर बस्ने रहर सबैको रहेको बताइन् ।

बैठकमा बोल्दै अन्य सांसदहरुले सदाचार नीतिमा गैरसरकारी संस्थाहरुबारे पनि स्पष्ट रुपमा लेखिनुपर्ने बताए। एन्जिओ, आइएन्जिओको प्रभाव नेपालमा धेरै रहेकाले सकारात्मक कुराबाट फाइदा लिएर नकारात्मक कुरालाई रोक्नुपर्ने बताए ।

उनीहरुले बोलाएका कस्ता कार्यक्रमा जाने र कस्ता कुरामा नजाने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताए । सञ्चारमाध्यमहरुले जे भनिदिए पनि हुने अवस्थाको अन्त्य गर्न पनि सदाचार नीति जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप