नुवाकोट-२ : यसपटक देखिनेछ दलहरूको वास्तविक चित्र
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी नुवाकोट क्षेत्र नम्बर २ मा बढ्दैछ । विगतका चुनावमा गठबन्धन गरेर चुनावमा उत्रिएका दलहरू यसपटक एक्लाएक्लै मैदानमा देखिएका छन् । गठबन्धन नगरी चुनाव लड्दा यो पटक नुवाकोट-२ मा को वास्तविक चित्र आउनेछ ।
जेनजी आन्दोलनपछि संसद् विघटन भएसँगै घोषणा भएको ‘अर्ली इलेक्सन’मा नयाँ पार्टीमा देखिएको आकर्षणका कारण नुवाकोट-२ मा प्रतिनिधिसभाका लागि कांग्रेस र माओवादीले नयाँ उम्मेदवार उठाएका छन् । तीन ठुला पार्टीका उम्मेदवारमध्ये कांग्रेस र माओवादीले यसअघि प्रदेशसभामा उम्मेदवार दिएपनि प्रतिनिधिसभामा पहिलो पटक भिड्न लागेका हुन् ।
यसपटक कांग्रेस, एमाले र नेकपाका उम्मेदवारसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबिच तीव्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यो क्षेत्रमा विगतमा गाउँको भोट पुरानो पार्टीका नेतालाई मात्रै जान्छ भन्ने भाष्य २०७९ को निर्वाचनबाट तोडिएको छ । २०७९ को निर्वाचनलाई नियाल्दा पुराना पार्टी कांग्रेस र एमालेलाई नयाँ पार्टी रास्वपाले टक्कर दिएको थियो ।
नुवाकोट-२ मा कांग्रेसले जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र (हाल नेकपा) को गठबन्धनबाट जगदीश्वरका दाजु अर्जुननरसिंह केसी निर्वाचित भएका थिए ।
अर्जुननरसिंह केसी यो पटक समानुपातिकतर्फ खसआर्य क्लस्टरको पहिलो नम्बर सूचीमा छन् । उनको ठाउँमा भाइ जगदीश्वरनरसिंह निर्वाचनमा होमिएका छन् । लामो समयदेखि नुवाकोट कांग्रेसमा रहेर केसी परिवारले गरेको काम उनका लागि मत तान्ने आधार बन्न सक्छ ।
विगतमा तत्कालीन संस्थापन पक्ष देउवा समूहमा रहेका बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा यसपटक सभापति गगन थापाको पक्षमा उभिएका छन् । लामाको सहयोगका कारण यो पटक जगदीश्वरनरसिंहलाई चुनावमा सहज हुनसक्ने देखिन्छ । विगतमा देखिएको गुटबन्दी र अन्तर्घात यो पटक उनले नव्यहोर्न सक्छन् ।
यद्यपि नयाँ दलप्रति मतदाता आकर्षित भइरहेकाले वितृष्णामा रहेका मतदातालाई केसीले कसरी आफ्नो पक्षमा उभ्याउँछन् त्यसले पनि मत परिणाम फरक पर्ने देखिन्छ ।
२०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा २० हजार ८५ मत प्राप्त गर्दै पहिलो बनेको थियो । २०६४ पछि पहिलो पटक यो निर्वाचन क्षेत्रमा २०७४ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार नारायण खतिवडाले निर्वाचन जितेको यो क्षेत्रबाट यसपटक एमालेले केशवप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । २०७९ मा बागमती प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेश सांसद बनेका पाण्डे यसपटक प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न लागेका हुन् ।
२०७० सालमा संविधानसभा सदस्यमा नुवाकोट-१ बाट प्रत्यक्ष उम्मेदवार बनेका पाण्डे कांग्रेस नेता अर्जुननरसिंह केसीसँग पराजित भएका थिए । २०७४ मा भएको प्रदेशसभा चुनावमा नुवाकोट २ (२) बाट वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार बनेका पाण्डेले कांग्रेस नेता जगदीश्वरनरसिंह केसीलाई पराजित गरेका थिए । अहिले यिनै पाण्डे प्रतिनिधिसभा निर्वाचनका लागि केसीसँग भिड्न आइपुगेका छन् । २०७९ को प्रतिनिधिसभाको समानुपातिक मत हेर्दा एमाले दोस्रो स्थानमा रहेको देखिन्छ । त्यतिबेला एमालेले १५ हजार २४८ मत प्राप्त गरेको देखिन्छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्दै आफ्नो उम्मेदवार उठाएको थिएन । यो पटक नेकपाले स्थानीय नेता हीरानाथ खतिवडालाई चुनावी मैदानमा उतारेको छ । खतिवडा २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेसँगको गठबन्धनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक भने खतिवडा आफ्नै बलबुतामा प्रतिनिधिसभा निर्वाचनमा उठ्नुपर्नेछ ।
विगतको निर्वाचनलाई हेर्दा यो क्षेत्रमा पहिलो संविधानसभाको निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीबाट पोष्टबहादुर बोगटीले निर्वाचन जितेका थिए । त्यसपछि २०७०, २०७४ र २०७९ को निर्वाचनमा कांग्रेसले दुई पटक र एमालेले एक पटक निर्वाचन जितेका छन् ।
खतिवडालाई यसपटक २०६४ को जित फर्काउनुपर्ने चुनौती छ । तर उनले आफ्नै पार्टीभित्रको मतदातालाई सुरक्षित राखेर अन्य पार्टीमा मतदान गरिरहेकाहरुको मत तान्न त्यति सहज भने छैन । २०७९ को समानुपातिक मत विश्लेषण गर्दा नेकपाको मत चौथो स्थानमा देखिन्छ । त्यसबेला समानुपातिकमा माओवादीले १० हजार ४३४ मत प्राप्त गरेको थियो ।
२०७९ सालबाट पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा आएको नयाँ दल रास्वपा नुवाकोट-२ मा दोस्रो दल बनेको थियो । मुख्य त कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार सुमन पाण्डेले १६ हजार ४७७ मत प्राप्त गरेका थिए । यो पटक पाण्डेको सट्टा नुवाकोट-२ मा नयाँ उम्मेदवार डा. अच्युतम लामिछानेलाई उभ्याइएको छ । स्थानीय उम्मेदवारलाई टिकट नदिई रास्वपाले पर्यटक उम्मेदवारको रुपमा लामिछानेलाई अघि सारेको भन्दै रास्वपाभित्रै असन्तुष्टि देखिएको थियो । पर्यटक उम्मेदवार भनी प्रश्न गर्न थालेपछि लामिछानेले आफू नुवाकोटको तुप्चे र रसुवाको लहरेपौवामा पढेको व्यक्ति भएको बताइरहेका छन् । भुईंमा लम्पसार परेर सुतेर मतदातालाई आकर्षण गर्न खोजेको उनको भिडियो अहिले भाइरल बनेको छ । २०७९ मा प्रतिनिधिसभा निर्वाचनमा सुमन पाण्डेले पाएको मत जोगाउँदै जित निकाल्नुपर्ने चुनौती उनीसामु छ ।
२०७९ सालमा कुन पार्टीका उम्मेदवारले कति मत ल्याए ?
अघिल्लो चुनावमा नुवाकोट–२ मा प्रत्यक्षतर्फ कांग्रेस पहिलो, रास्वपा दोस्रो र एमाले तेस्रो भएका थिए । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी २८ हजार १०७ मतसहित विजयी बन्दा रास्वपाका सुमनविक्रम पाण्डे १६ हजार ४७७ मतसहित दोस्रो र एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मत ल्याएर तेस्रो बनेका थिए ।
नुवाकोट–२ मा अघिल्लो चुनावमा कांग्रेसको समानुपातिक मत २० हजार ८५ छ । एमालेको १५ हजार २४८ र नेकपा (तत्कालीन माओवादी केन्द्र) को १० हजार ४३४ मत प्राप्त गरेका थिए । रास्वपाले माओवादीको भन्दा बढी १० हजार ८३४ मत समानुपातिकतर्फ पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण