गैँडाकोटमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा बिहीबारदेखि गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान एवं गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावका साथ सुरु भएको प्रदर्शनी यही माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा १०८ जना कलाकारका १३२ वटा सिर्जना समावेश गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी विभागीय प्रमुख एवं गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगङ्गगा दर्शनधारीले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा २४ जना कलाकारले फरकफरक दुई विधामा तथा बाँकीले एउटा विधामा मात्र आफ्ना कला प्रस्तुत गरेका छन् । “हामीले आठ वटा फरक विधा पहिचान गरी हरेक कलाकारबाट एउटा विधामा एउटा कला आह्वान गरेका थियौँ”, उनले भने, “एउटा कलाकारले बढीमा फरक दुई विधामा सहभागी हुन पाउने गरी व्यवस्था गरिएको थियो ।”
कार्यक्रम उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमा समसामयिक चित्र बढी प्राप्त भएको जानकारी दिए । “कलाकारलाई समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका सिर्जना तयार पारेर पठाउन भनिएको थियो”, उनले भने, “समसामयिकबाहेक अन्य विधामा थोरै कलामात्र प्राप्त भए ।”
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरू सबै जातजातिको कला र संस्कृति खोज्दै जगेर्ना गर्न लागिपरेको बताए । उनले देशका सबै भूगोलमा पुगेर लोपोन्मुख कलाको खोजी गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्ने आफूहरूको मुख्य उद्देश्य भएको बताए । प्रदर्शनीमा राखिएकामध्ये विभिन्न सिर्जनालाई फरकफरक विधामा पुरस्कृत गरिने भन्दै लामाले गण्डकी प्रादेशिक ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट हुने एक जनालाई रु ५० हजार पुरस्कार प्रदान गरिने जानकारी दिए ।
छनोटमा परेका प्रतिभालाई राष्ट्रिय कार्यक्रममा पुरस्कृत गरिने जानकारी दिँदै उनले सात वटै प्रदेशमा प्रदर्शनी हुने र सबै प्रदेशको उत्कृष्ट सिर्जनालाई रु ५० हजार पुरस्कार प्रदान गरिने बताए । त्यस्तै, सात वटै प्रदेशमा आठ वटा विधामा एक–एक जनालाई गरी ५६ जनालाई रु ३० हजारका दरले प्रादेशिक विधागत ललितकला पुरस्कार, सात वटै प्रदेशमा एक–एक जनालाई प्रतिव्यक्ति रु ३० हजार राशिको नवप्रतिभा प्रादेशिक पुरस्कार प्रदान गरिने उनको भनाइ छ । त्यस्तै रु ५० हजार राशिको नवप्रतिभा ललितकला उत्कृष्ट पुरस्कार एक जनालाई, रु ५० हजार राशिको प्रादेशिक ललितकला उत्कृष्ट पुरस्कार सात जनालाई, रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार आठ जनालाई प्रदान गरिने लामाले जानकारी दिए ।
सबै प्रदेशबाट छनोटमा परेका कलाहरू काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने भन्दै लामाले राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार रु एक लाख एक जनालाई प्रदान गरिने जानकारी दिए । राष्ट्रिय ललितकलाको तयारी स्वरूप नवलपुरबाट सुरु भएको प्रादेशिक प्रदर्शनी शुक्रबार लुम्बिनीको बुटवल हुँदै अन्तिममा फागुन १ देखि ५ गतेसम्म बागमती प्रदेशमा सञ्चालन हुनेछ । देशका सात वटै प्रदेशबाट छनोटमा परेका कला तथा सिर्जनालाई आगामी वर्षको जेठ १५ गते काठमाडौँमा पुरस्कार प्रदान गरिने छ ।
यही अवसरमा रु एक लाख ५० हजार राशिको अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान दुई जनालाई, रु ६० हजार राशिको ललितकला लेखन पुरस्कार एक जनालाई, रु ३० हजार राशिको ललितकला पत्रकारिता पुरस्कार दुई जनालाई तथा रु ५० हजार राशिका सहिद अनिल लामा स्मृति ललितकला पुरस्कार र सहिद बाबुराम लामा स्मृति पुरस्कार एक–एक जनालाई प्रदान गरिनेछ । त्यस अवसरमा ललितकला प्रवर्द्धन सम्मान र विभाग तथा समन्वय समितिमार्फत पनि सम्मान गरिने लामाको भनाइ छ ।
प्रदर्शनीसँगै कला र कलाकार सर्वेक्षण, प्रदेश तथा स्थानीय तह एवं विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्वलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको लामाको भनाइ छ । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले कला, भाषा, संस्कार र संस्कृति जगेर्ना गर्न युवापुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । प्रदर्शनीका संयोजक एवं गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले कलाकार र सर्जकलाई हौसला बढाउन यस्ता अभियान महत्त्वपूर्ण हुने बताए ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारको सहभागिता रहेको भन्दै उनले प्रदर्शनीमा राखिएका कलामध्ये त्यसले दिने सन्देश, त्यहाँ संयोजन गरिएका रङ, भावका आधारमा छनोट गरी पुरस्कृत गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण