शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज च्याम्पियन्स लिग प्ले अफ ड्र, कुन टिमको प्रतिस्पर्धा कोसँग सम्भव ?

शुक्रबार, १६ माघ २०८२, ११ : ३९
शुक्रबार, १६ माघ २०८२

सारांश

  • च्याम्पियन्स लिगको नकआउट चरणका लागि १६ टोलीको टुङ्गो लागेको छ, जसमा शीर्ष आठ टोली सिधै प्रवेश गरेका छन्।
  • बाँकी आठ स्थानका लागि १६ टोलीले प्ले–अफ खेल्नेछन्, जसमा रियल मड्रिड र इन्टर मिलान जस्ता ठूला क्लबहरू पनि छन्।
  • प्ले–अफ ड्र शुक्रबार स्विट्जरल्यान्डमा हुँदैछ, र खेलहरू फेब्रुअरी १७–१८ र २४–२५ मा हुनेछन्।

काठमाडौँ । च्याम्पियन्स लिगको लिग चरण समाप्त भएसँगै नकआउट चरणतर्फ जाने टोलीहरूको टुङ्गो लागेको छ । लिग चरणका शीर्ष आठ टोली आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ र म्यानचेस्टर सिटी सिधै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । तर बाँकी आठ स्थानका लागि १६ टोलीले प्ले–अफ चरण खेल्नुपर्नेछ ।

लिग चरणमा नवौँदेखि २४ औँ स्थानमा रहेका टोलीहरू दुई लेगको प्ले–अफ खेलमार्फत अन्तिम १६ मा पुग्न प्रतिस्पर्धा गर्नेछन् । यी प्ले–अफबाट विजयी हुने आठ टोली अन्तिम १६ मा शीर्ष आठ टोलीसँग अनसिडेड टोलीका रूपमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीहरू आफ्नो लिग स्थानअनुसार निश्चित ‘पाथ’ मा परिसकेका छन् । उदाहरणका लागि, नवौँ र दसौँ स्थानमा रहेका रियल मड्रिड र इन्टर मिलानले २३औँ र २४औँ स्थानमा रहेका बोडो/ग्लिम्ट वा बेनफिकामध्ये एक टोलीसँग खेल्नेछन् । 

यस्तै ११औँ र १२औँ स्थानका टोलीले २१औँ र २२औँ स्थानका टोलीमध्ये एकसँग खेल्नेछन् । कसले कससँग खेल्ने भन्ने अन्तिम निर्णय भने प्ले अफ ड्रबाट हुनेछ । यस चरणमा एउटै देशका टोलीबिच पनि खेल हुन सक्नेछ भने लिग चरणमा आमनेसामने भइसकेका टोलीहरू पुनः भिड्न सक्नेछन् ।

प्ले अफ ड्र आज (शुक्रबार) स्विट्जरल्यान्डस्थित यूईएफए मुख्यालयमा हुनेछ । ड्रको औपचारिक समय नेपाली समय अनुसार साँझ ४ः ४५ बजे तोकिए पनि विभिन्न कार्यक्रमका कारण केही ढिलो सुरु हुनसक्ने बताइएको छ ।

प्ले अफमा स्थान बनाउने १६ टोलीमा रियल मड्रिड, इन्टर मिलान, पेरिस सेन्ट–जर्मेन, न्युक्यासल, युभेन्टस, एट्लेटिको मड्रिड, एटलान्टा, बायर लेभरकुसेन, बोरुसिया डर्टमुण्ड, ओलिम्पियाकोस, क्लब ब्रुग, गालातासाराय, मोनाको, काराबाग, बोडो/ग्लिम्ट र बेनफिका रहेका छन् ।

ड्रपछि न्युक्यासलले काराबाग वा मोनाकामध्ये एक टोलीसँग प्ले अफ खेल्नेछ । प्ले अफबाट विजयी हुने टोलीले अन्तिम १६ मा बार्सिलोना वा चेल्सीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्ले अफका खेलहरू फेब्रुअरी १७–१८ र २४–२५ का मध्य हप्तामा आयोजना हुनेछन् । प्ले अफ चरण सकिएपछि अन्तिम १६, क्वार्टरफाइनल र सेमिफाइनलको ड्र फेब्रुअरी २७ मा एकैपटक गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप