म राजनीतिलाई सेवा ठान्छु, स्टन्ट होइन : जितेन्द्र कुमार श्रेष्ठ
सारांश
- जितेन्द्र कुमार श्रेष्ठले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्, र उनको तयारी उत्साहजनक छ।
- उनले स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिँदै सांस्कृतिक पहिचानको संरक्षण, सार्वजनिक यातायातको व्यवस्थापन, र मुआब्जाको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
- श्रेष्ठले मेयर चिरिबाबु महर्जनसँगको समन्वय राम्रो रहेको र संघीय सरकारसँगको सहकार्यको लागि पहल गर्ने बताए।
ललितपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठसँग गरिएको कुराकानी :
- तपाईंको उम्मेदवारी किन हो र तयारी कस्तो छ ?
तयारी उत्साहजनक छ । म नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिको जिम्मेवारीमा छु । मेरो नेतृत्वमा स्थानीय निर्वाचनमा हामीले ५६ प्रतिशत सफलता हासिल गरेका छौँ । ललितपुर महानगरमा चिरिबाबु महर्जनले १८ हजार मतान्तरले जित्नुमा हाम्रो संगठनको ठुलो भूमिका छ ।
अहिले जनताले जेनजी आन्दोलनमार्फत नेतृत्व र सुशासनमा परिवर्तन खोजेका छन् । म त्यही जनभावना र पार्टीभित्रको आन्तरिक सुधारको एजेन्डासहित चुनावी मैदानमा छु । म अहिलेसम्म कुनै लाभको पदमा नगएको ‘टेस्टेड’ हुन बाँकी नयाँ अनुहार हुँ ।
- ललितपुर–३ मा अरू पनि प्रतिस्पर्धी छन् । तपाईं उनीहरूभन्दा कसरी फरक हुनुहुन्छ ?
कतिपय साथीहरू नयाँ भन्दै आउनुभएको छ, तर उहाँहरू संसदमा गएर टेस्टेड भइसक्नुभएको छ । उहाँहरूले राष्ट्रिय मुद्दामा ललितपुरलाई कहाँ जोड्नुभयो ? त्यो जनताले सोधिरहेका छन् । म यहीँको स्थानीय (पुल्चोक) बासिन्दा हुँ । मैले ०७२ सालको भूकम्प र कोभिड लकडाउनमा आफ्नो व्यापार–व्यवसाय छोडेर जनताको सेवा गरेँ । म राजनीतिलाई सेवा ठान्छु, स्टन्ट होइन । म भ्रष्टाचारमा नमुछिएको र स्थानीयस्तरमा भिजेको मान्छे भएकाले जनताले मलाई विश्वास गर्ने आधार छ ।
- तपाईंको चुनावी एजेन्डामा ललितपुरका स्थानीय मुद्दाहरू के–के छ ?
ललितपुर सम्पदा र संस्कृतिको केन्द्र हो । मेरो पहिलो प्राथमिकता यहाँको सांस्कृतिक पहिचान (जस्तैः हरिसिद्धि, खोकनाको रुद्रायणी, बुङ्गमती) लाई संरक्षण गर्दै पर्यटन र अर्थतन्त्रसँग जोड्ने हो । दोस्रो, सार्वजनिक यातायातको उचित व्यवस्थापन । तेस्रो, कान्ति लोकपथ र फास्ट ट्रयाक निर्माणका क्रममा मुआब्जा र सांस्कृतिक सम्पदामा परेको असरलाई सम्बोधन गर्नु हो । राज्यले जनतालाई मारमा पारेर वा उठिबास लगाएर विकास गर्नुहुँदैन । मुआब्जा चलनचल्तीको मूल्यअनुसार हुनुपर्छ भन्ने मेरो अडान छ ।
- ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँगको तपाईंको समन्वय कस्तो रहन्छ ?
उहाँसँग मेरो निकै राम्रो समन्वय छ । उहाँले स्मार्ट लाइट, सम्पदा संरक्षण र विकासमा जुन नमुना काम गर्नुभएको छ, त्यसमा हाम्रो पनि सल्लाह र सहयोग छ । कतिपय कामहरू संघीय सरकारको असहयोगले रोकिएका छन् । जस्तै ः स्वास्थ्य बीमाको पैसा रोकिनु, ठेक्कापट्टाका समस्या आदि । म संसदमा पुगेपछि महानगरका यी समस्या समाधान गर्न र स्थानीय तहलाई केन्द्रसँग जोड्ने पुलको काम गर्नेछु ।
- मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
म काममा विश्वास गर्ने, हल्लामा होइन भन्ने मान्यता राख्छु । मलाई मतदान गरेर जिताउनुभयो भने म केवल ललितपुरको मात्र होइन, ७७ वटै जिल्लाको भावना बोक्ने गरी राष्ट्रिय मुद्दाहरूमा आफ्नो अडान राख्नेछु । विकास, सुशासन र सांस्कृतिक संरक्षणका लागि म सधैँ तत्पर रहनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण