बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

आश्वासनमै सीमित एन्फा, लिगविहीन नेपाली फुटबल

शनिबार, १७ माघ २०८२, ०७ : ३१
शनिबार, १७ माघ २०८२

सारांश

  • सहिद स्मारक 'ए' डिभिजन लिग विगत ३ वर्षदेखि नियमित हुन सकेको छैन, एन्फाको कमजोर व्यवस्थापन, आर्थिक संकट र आन्तरिक विवादका कारण लिग अनिश्चित बनेको छ।
  • एन्फाले लिग आयोजना गर्न नसक्नुको मुख्य कारण आर्थिक संकट र व्यवस्थापनमा प्रश्न उठेको छ, तर बजेट विनियोजन भए पनि लिग हुन सकेको छैन।
  • खेलाडी, क्लब र एन्फाबीचको विश्वास कमजोर हुँदा लिगको मिति पटक-पटक सरेको छ, र खेलाडी पलायन बढ्नुका साथै राष्ट्रिय टिमको आधार कमजोर बनेको छ।

काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च घरेलु प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो तीन वर्षदेखि नियमित हुन सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन, आर्थिक संकट, आन्तरिक विवाद र संरचनागत समस्याका कारण लिग अनिश्चित बन्दै गएको हो ।

नेपाली फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग नहुँदा खेलाडी, क्लब, प्रशिक्षकदेखि फुटबलसँग जोडिएका सम्पूर्ण सरोकारवाला प्रभावित भएका छन् ।

ए डिभिजन लिग अन्तिम पटक २०७९ सालमा भएको थियो । त्यसयता एन्फाले विभिन्न पटक लिग सञ्चालनको घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन गर्न सकेन । कहिले बजेट अभाव, कहिले क्लबहरूको असहमति त कहिले नेतृत्व विवादका कारण लिग स्थगित हुँदै आएको छ । नेपाली फुटबलको विकास र व्यावसायिकताको आधार मानिने प्रतियोगिता लगातार तीन वर्षसम्म नहुनु आफैँमा गम्भीर चिन्ताको विषय हो ।

आर्थिक संकट र व्यवस्थापनमा प्रश्न
एन्फाले लिग आयोजना गर्न नसक्नुको एउटा मुख्य कारण आर्थिक संकट हो । पछिल्ला वर्षहरूमा एन्फाको आम्दानी घटेको र खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको कुरा स्वयं एन्फा पदाधिकारीहरूले सार्वजनिक रूपमै स्वीकार गरेका छन् । प्रायोजकको अभाव, टेलिभिजन प्रसारण अधिकारबाट अपेक्षित आम्दानी नहुनु र फिफा तथा एएफसीबाट प्राप्त हुने अनुदानको प्रभावकारी व्यवस्थापन हुन नसक्दा समस्या झन् जटिल बनेको छ ।

तर आर्थिक समस्यालाई मात्र मुख्य कारण मान्न सकिँदैन । एन्फाले गत वैशाख २६ गते धुलिखेलमा भएको आफ्नो साधारणसभामा ए डिभिजन लिगका लागि १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

ए डिभिजनका अधिकांश क्लबहरू लामो समयदेखि लिग नहुँदा असन्तुष्ट छन् । खेलाडीलाई नियमित खेल दिन नसक्नु, प्रायोजक गुम्नु र क्लब सञ्चालन खर्च धान्न गाह्रो हुनु जस्ता समस्या क्लबहरूले भोगिरहेका छन् ।

लिगको मिति पनि गत पुस १ गतेका लागि तय गरिएको थियो । तर तोकिएको समयमा लिग गराउन एन्फा असफल भयो । एन्फालाई लिग गराउन खेलकुद मन्त्रालय, राष्ट्रिय खेकलुद परिषद् (राखेप) लगायत खेलकुदका निकायहरुले पनि ताकेता गरेका थिए ।

त्यस्तै, अघिल्ला प्रतियोगितामा खर्च भएको रकम, खेलाडी भत्ता र क्लबलाई दिने अनुदान समयमै नपाएको विषय पटक–पटक उठ्दै आएको छ । यसले एन्फा र क्लबबिचको विश्वासलाई कमजोर बनाएको छ ।

क्लबहरूको असन्तुष्टि

ए डिभिजनका अधिकांश क्लबहरू लामो समयदेखि लिग नहुँदा असन्तुष्ट छन् । खेलाडीलाई नियमित खेल दिन नसक्नु, प्रायोजक गुम्नु र क्लब सञ्चालन खर्च धान्न गाह्रो हुनु जस्ता समस्या क्लबहरूले भोगिरहेका छन् । केही क्लबले सार्वजनिक रूपमा एन्फाको आलोचना गर्दै समयमै लिग नगरे कानुनी बाटो अपनाउने चेतावनी समेत दिएका थिए ।

फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाहले एन्फाले लिग गर्न चाहेमा आफ्नो क्लब जुनसुकै समयमा खेल्न तयार रहेको बताएका छन् । उनले क्लबलाई दोष दिएर एन्फा पन्छिन नहुने पनि बताए ।

PLAYER DHARNA

‘एन्फाले लिग खेलाउन चाहे मेरो क्लब (फ्रेन्ड्स क्लब) लिग खेल्न तयार छ,’ उनी भन्छन्, ‘एन्फा आफैँ लिग गर्न सक्ने अवस्थामा छैन ।’

लिगको विषयमा एन्फा आफैँ अलमलमा परेको देखिन्छ । एन्फाले हालसम्म स्पष्ट क्यालेन्डर पनि सार्वजनिक गर्न सकेको छैन । लिगको मिति पटक–पटक सार्नुले क्लबभन्दा पनि एन्फा स्वयं लिग गर्न इच्छुक नरहेको देखिन्छ । ए डिभिजन लिग नहुँदा खेलाडी पलायन बढेको छ र राष्ट्रिय टिमको आधार कमजोर बनेको छ ।

खेलाडीको करिअरमा प्रत्यक्ष असर

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ए डिभिजन लिग गर्न बेला–बेला ताकेता गरिरहेका छन् । उनी मात्र होइन, नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू रोहित चन्द, विशाल श्रेष्ठ, अञ्जन विष्ट, विकेश कुथु तथा पूर्वखेलाडी विराज महर्जन लगायतले एन्फामा धर्ना पनि दिएका थिए ।

धर्ना मात्र होइन, खेलाडीहरूले आफूले जितेका अन्तर्राष्ट्रिय मेडलहरू पनि एन्फाको गेटमा राखेर विरोध जनाएका थिए । त्यसलगत्तै खेलाडी संघका अध्यक्ष लामाले एन्फाले लिग गर्न बेला–बेला चासो देखाएजस्तो गरे पनि हालसम्म गर्न नसकेको गुनासो गरेका थिए ।

league game photo

‘एन्फाले लिग गर्न चासो देखाएजस्तो गर्छ तर लिग हुँदैन,’ लामा भन्छन्, ‘अब पनि लिग नगर्ने हो भने हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौँ ।’

त्यसपछि एन्फा पनि सकारात्मक हुँदै लिग गर्ने तयारीमा जुटेको थियो । केही दिन लिगको चर्चा चलेपनि र क्लब तथा एन्फा राष्ट्रिय लिगका लागि सहमत भएजस्तो देखिए पनि अन्ततः त्यो विषय त्यत्तिकै सेलायो ।

लिग नहुँदा सबैभन्दा ठुलो मार खेलाडीले खेपिरहेका छन् । नियमित प्रतिस्पर्धात्मक खेल नपाउँदा खेलाडीको फर्म, फिटनेस र मनोबलमा असर परेको छ । धेरै खेलाडी विदेशी लिगतर्फ जान बाध्य छन् भने केहीले फुटबल नै छाड्ने अवस्था आएको छ ।

राष्ट्रिय टिमका खेलाडीहरूले समेत घरेलु लिग नहुँदा तयारीमा समस्या भएको स्वीकार गरेका छन् । हाल नेपाली राष्ट्रिय टोलीका केही खेलाडीहरू एन्फा राष्ट्रिय लिगमा व्यस्त छन् भने धेरैजसो खेलाडी विदेशी लिगमा अनुबन्धित छन् ।

नेतृत्व विवाद र संरचनागत समस्या

एन्फाभित्रको नेतृत्व विवाद पनि लिग नहुनुको अर्को प्रमुख कारण हो । पछिल्ला वर्षमा कार्यसमितिभित्रको मतभेद, निर्णय प्रक्रियामा ढिलाइ र अधिकारको खिचातानीले संस्थागत कार्यक्षमता कमजोर बनेको आलोचना हुँदै आएको छ । केही समयअघि एन्फाको साधारणसभा, विधान संशोधन र निर्वाचनसम्बन्धी विषय पनि विवादित बनेको थियो ।

एन्फाको नेतृत्वमा पंकजविक्रम नेम्वाङ आएको तेस्रो महिनाबाटै एन्फामा तीन धार बनेको थियो, जसमा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ, पूर्वअध्यक्षद्वय गणेश थापा र कर्माछिरिङ शेर्पाको गुट थियो ।

ANFA PRESIDENT AND G SECRETY

नेम्वाङ नेतृत्वमा आएको एक वर्षभित्रै एन्फाले २०८० कार्तिक २३ गते हेटौँडामा विशेष साधारणसभा सम्पन्न गरेको थियो । जसमा पंकजविक्रम नेम्वाङको समूह कमजोर भएपनि वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले साथ दिँदा नेम्वाङ पुनः अध्यक्षका रूपमा बलियो हुँदै आए ।

तुलाधर विशेष साधारणसभापछि एन्फाको सीईओ नियुक्त हुँदा एन्फाको कर्मा छिरिङ शेर्पा पक्ष कमजोर बन्यो । तीन धारबाट दुई धार बन्दा गणेश थापा पक्ष कमजोर बन्दा उक्त साधारणसभापछि नेम्वाङ समूहले नेपाली फुटबलमा एकलौटी निर्णय गर्दै आएको छ । ए डिभिजन लिगको मिति परिवर्तनदेखि लिएर एन्फा सदस्यहरूलाई कारबाही लगायतका विषयमा एकलौटी निर्णय हुँदै आएको छ ।

लिगको विषयमा पछिल्लो घटनाक्रम

पछिल्लो समय एन्फाले ए डिभिजन लिग सञ्चालनका लागि तयारी तीव्र पारेको दाबी गर्दै आएको छ । एन्फा पदाधिकारीहरूले प्रायोजकको खोजी, क्यालेन्डर निर्माण र क्लबहरूसँग छलफल भइरहेको बताएका छन् ।

बिहीबार मात्र एन्फा नेतृत्वले ए डिभिजन लिग क्लबसँग छलफल पनि सम्पन्न गरेको छ । राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र लिग गर्ने तयारीमा एन्फा जुटेको छ । बिहीबार बसेको बैठकमा अर्को बैठकबाट लिगको मिति तय गर्ने सहमति भएको एन्फाले जानकारी दिएको छ । तर एन्फाका अघिल्ला निर्णयहरूजस्तै यो पटक पनि लिग हुने कुरामा क्लब र फुटबल समर्थकहरू विश्वस्त हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप