बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँ–३ ग्राउन्ड रिपोर्ट

दोहोरो चुनौतीमा कुलमान : एकातिर ‘बालेन कार्ड’, अर्कोतिर पुराना दलहरू

हरेक निर्वाचनमा सांसद फेर्न माहिर छन् यहाँका मतदाता
शनिबार, १७ माघ २०८२, ०८ : ५९
शनिबार, १७ माघ २०८२

सारांश

  • काठमाडौं-३ मा आगामी निर्वाचनका लागि २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • कुलमान घिसिङ र बालेन शाहको चर्चाका साथै पुराना दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
  • कांग्रेसले रमेश अर्याललाई टिकट दिएको छ भने एमालेबाट रामेश्वर फुयाल चुनावी मैदानमा छन्।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत काठमाडौँ–३ सामान्य भूगोलमात्र नभएर उपत्यकाको तिर्खा मेटाउने मुहान पनि हो । यही क्षेत्रमा शिवपुरीको काख, बाघद्वार र सुन्दरीजल जस्ता ठुला पानीका मुहान पर्छन् ।

काठमाडौँ उपत्यकामा खानेपानीको माग आधाजसो धान्ने क्षमता भएको काठमाडौँ–३ का मतदाताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा कुन राजनीतिक दलको तिर्खा मेट्छन् भन्ने अन्योल कायम छ । यही अन्योल छिचोल्ने अग्निपरीक्षा दिन २४ उम्मेदवार तम्तयार छन् ।

यसरी हेर्दा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्र विगतका हरेक निर्वाचनमा सांसद फेर्ने क्षेत्रको रूपमा समेत चिनिएको छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ– ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट एमालेले जित हासिल गरेको थियो ।

आगामी फागुन २१ को निर्वाचनमा भने यो क्षेत्रमा पुराना दलहरू आफ्नो गर्विलो विरासत फर्काउने दाउमा छन् ।

मतका हिसाबले यो निर्वाचन क्षेत्र पुराना राजनीतिक शक्तिहरू कांग्रेस–एमालेकै प्रभाव क्षेत्रका रूपमा परिचित देखिन्छ । अझ वामपन्थी प्रभाव क्षेत्रकै रूपमा काठमाडौँ–३ लाई लिने गरिएको छ ।

०७९ को निर्वाचनमा एमाले विभाजित भएको र कांग्रेस–माओवादी केन्द्र गठबन्धनका कारण कांग्रेसका चालिसेले जित हासिल गरेका थिए । आसन्न निर्वाचनमा दलहरूबिच गठबन्धनसमेत नरहेकाले परम्परागत दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीका साथै नयाँ राजनीतिक शक्तिका रूपमा रहेका उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका कुलमान घिसिङले निर्वाचनमा ‘डेब्यु’ गर्न काठमाडौँ–३ नै रोजे । कांग्रेस र एमालेको राजनीतिक पकड भएको ठाउँमा अहिले नवोदित पार्टी उज्यालो नेपालका अध्यक्ष घिसिङ उम्मेदवार बनेर मतदाताको विश्वास जित्न प्रयासरत छन् ।

यस पटक काठमाडौँ–३ को चुनावी मैदानमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ थपिएका छन् । घिसिङसहित नेकपा एमालेका नेता रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहरा (सुन्दरराम) लगायत विभिन्न दलका १८ जना र स्वतन्त्र ६ जना उम्मेदवार मैदानमा देखिएका छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मत परिणामले पनि यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने सङ्केत गर्दछ । अघिल्लो निर्वाचनमा कांग्रेसले १० हजार ६१९ मत ल्याउँदा नेकपा एमालेले ९ हजार ४४९, रास्वपाले ९ हजार २१९, राप्रपाले ४ हजार ९६० मत ल्याएको थियो ।

२४ जना उम्मेदवारमध्ये कोही अनुभवको भारी बोकेर मतदाताको ढोका ढकढक्याइरहेका छन् भने कोही परिवर्तन र पपुलारिटीको लहरमा सवार छन् ।

कुलमानको ‘इन्ट्री’, उज्यालो नेपालको सपना

पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका कुलमान घिसिङले निर्वाचनमा ‘डेब्यु’ गर्न काठमाडौँ–३ नै रोजे । कांग्रेस र एमालेको राजनीतिक पकड भएको ठाउँमा अहिले नवोदित पार्टी उज्यालो नेपालका अध्यक्ष घिसिङ उम्मेदवार बनेर मतदाताको विश्वास जित्न प्रयासरत छन् ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदादेखि नै आम नागरिकबिच लोकप्रिय छन् । उनी लोडसेडिङ अन्त्य गर्ने श्रेय पाएका व्यक्ति हुन् । घिसिङलाई लोडसेडिङ अन्त्यदेखि व्यवस्थापकीय कुशलताका कारण आम नागरिकले रुचाउने गरेका छन् । त्यसैका आधारमा उनले जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । सरकारको जिम्मेवारी सम्हालेकै अवस्थामा उनले राजनीतिक दल गठन गरी पूर्णरूपमा राजनीतिक जीवनमा प्रवेश गर्न उनले मन्त्री पदबाट राजीनामा दिए ।

काठमाडौँ महानगरपालिकाभित्र निवर्तमान मेयर बालेन शाहको लोकप्रियता अहिले पनि उत्कर्षमा छ । त्यही लोकप्रियताको आडमा रास्वपाले राजुनाथ पाण्डेलाई मैदानमा उतारेको छ ।

काठमाडौँ–३ मा घिसिङलाई केही समुदायगत लाभ हुने देखिन्छ । उनी काठमाडौँ महानगरपालिका–६, बौद्धमा बस्छन् । बौद्ध, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका–१ लगायतका क्षेत्रमा तामाङ, लामा, शेर्पा समुदायको बसोबास छ । काठमाडौँ–३ मा ५ हजार ५०० भन्दा बढी लामा, ५ हजारभन्दा बढी तामाङ, २ हजार ५०० हाराहारी शेर्पा मतदाता छन् । यी समुदायबाट उल्लेख्य रूपमा कुलमान घिसिङले मत तान्ने आकलन गरिएको छ ।

घिसिङको व्यक्तिगत लोकप्रियता र जातीय समुदायको भावनात्मक सम्बन्धले उनलाई बलियो दाबेदार बनाएको छ । यद्यपि, नयाँ राजनीतिक शक्तिकै रूपमा चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परिवर्तन पक्षधर मतदाता सामु विकल्पका रूपमा आफूलाई उभ्याएको छ । यसले गर्दा युवा तथा परिवर्तन पक्षधर मतदाता उज्यालो नेपाल पार्टी र रास्वपामा विभाजित हुने अवस्था पनि देखिन्छ ।

रास्वपाको ‘बालेन कार्ड’

काठमाडौँ महानगरपालिकाभित्र निवर्तमान मेयर बालेन शाहको लोकप्रियता अहिले पनि उत्कर्षमा छ । त्यही लोकप्रियताको आडमा रास्वपाले राजुनाथ पाण्डेलाई मैदानमा उतारेको छ ।

काठमाडौँ महानगरको नगर प्रहरी प्रमुखका रूपमा फुटपाथ व्यवस्थापन र अतिक्रमित क्षेत्र खाली गराएर चर्चामा आएका पाण्डेले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् । उनी बालेन शाहको कोटाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

पाण्डेका लागि सबल पक्ष भनेको रास्वपाको पपुलर भोट र बालेनको क्रेज हो । यद्यपि उनी यस क्षेत्रका स्थानीय नभएकाले केही प्रतिकूलताको सामना गरिरहेका छन् । पाण्डेको कमजोर पक्षलाई रास्वपाको संगठन, बालेनको क्रेजले कति ढाकछोप गर्छ भन्ने हेर्न बाँकी नै छ ।

एमालेका अनुभवी रामेश्वर फुयाल पाँचौँ पटक मैदानमा

नेकपा एमालेका तर्फबाट रामेश्वर फुयाल चुनावी मैदानमा छन् । फुयाल यस क्षेत्रका रैथानेमात्र होइनन्, उनी चार दशकभन्दा लामो समयदेखि नै स्थानीय राजनीतिमा भिजेका नेता हुन् । दुई पटक गाविस अध्यक्ष, संविधान सभा सदस्य र प्रदेश मन्त्रीसमेत भइसकेका फुयालको यो पाँचौँ चुनावी प्रतिस्पर्धा हो ।

फुयालको सबल पक्ष उनको ग्रासरुटसम्मको पहुँच र विकास निर्माणमा सक्रियता नै हो । उनी २०६४ यता हरेक संसदीय निर्वाचनमा यस क्षेत्रबाट निरन्तर उम्मेदवार छन् ।

यही क्षेत्रबाट उनी पहिलो र दोस्रो संविधान सभा सदस्यको उम्मेदवार बनेका थिए । २०७४ र २०७९ मा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका उनी अहिले फेरि प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । यसअघि चार पटक चुनावी प्रतिस्पर्धामा रहेका फुयाल दुई पटक निर्वाचित भएका छन् भने दुई पटक पराजित भए ।

२०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका उनी साविक आलापोट गाविसको अध्यक्षमा दुई पटक (२०४९ र २०५४) निर्वाचित भएका थिए । २०५४ सालमा उनी काठमाडौँ जिल्ला विकास समितिका उपसभापति बनेका थिए । कागेश्वरी धाम निर्माण र तारेभीर पर्यटन क्षेत्रको विकासमा उनले खेलेको भूमिका मतदातामाझ ताजै छ ।  

२०७९ को चुनावमा काठमाडौँ–३ मा कांग्रेका सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए । उक्त निर्वाचनमा गठबन्धनका आधारमा चालिसेले सहज रूपमा जित निकालेका थिए ।

नेपाली कांग्रेसले यसपटक एउटा ठुलो जोखिम र प्रयोग गरेको छ । अघिल्लो पटक १५ हजार १५८ मत ल्याएर जितेका सन्तोष चालिसेलाई टिकट नदिएर कांग्रेसले गोकर्णेश्वर नगरपालिका–६ का पूर्ववडाध्यक्ष रमेश अर्याललाई अघि सारेको छ ।

त्यसैगरी एमालेका उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । यसपटक भने राप्रपाबाट सुन्दरसिंह बोहराले उम्मेदवारी दिएका छन् ।

२०७९ को निर्वाचनमा एमालेका कृष्णबहादुर राईको हार र पार्टीको आन्तरिक समीकरणलाई व्यवस्थापन गर्नु फुयालका लागि मुख्य चुनौती हुनेछ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमाले कृष्णबहादुर राई १९ हजार १६९ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । त्यो बेला पनि वैकल्पिक राजनीतिक रूपमा उदायको विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा एमाले र माओवादीबिच गठबन्धन थियो ।

कांग्रेसको स्थानीय रणनीति

नेपाली कांग्रेसले यसपटक एउटा ठुलो जोखिम र प्रयोग गरेको छ । अघिल्लो पटक १५ हजार १५८ मत ल्याएर जितेका सन्तोष चालिसेलाई टिकट नदिएर कांग्रेसले गोकर्णेश्वर नगरपालिका–६ का पूर्ववडाध्यक्ष रमेश अर्याललाई अघि सारेको छ ।

अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालमा मेयरका आकांक्षी उनले टिकट पाएनन् । कांग्रेसमा उनी महासमिति सदस्य थिए । राष्ट्रिय राजनीतिमा लो प्रोफाइल भए पनि स्थानीयस्तरमा अर्याल निकै परिचित र लोकप्रिय नाम देखिएको छ ।

यो क्षेत्रका १३ वटा वडामध्ये कांग्रेसले कागेश्वरी मनोहराको वडा नम्बर २, गोकर्णेश्वरको प्रमुखसहित ५, ८, ९ र काठमाडौँ महानगरपालिकाको ६ नम्बर वडा जितेको थियो । स्थानीयस्तरमा भिजेको उम्मेदवार भएकाले काठमाडौँ–३ मा कांग्रेसले अहिले पनि सुरक्षित महसुस गरिरहेको छ ।

कांग्रेसले यहाँ आफ्नो बलियो सांगठनिक आधारलाई जितको मुख्य सूत्र मानेको छ । १३ वटा वडामध्ये अधिकांशमा कांग्रेसको वर्चस्व छ, तर सन्तोष चालिसेको असन्तुष्टि र पपुलर उम्मेदवारहरूको भिडमा अर्यालले आफ्नो भोट बैंक कसरी जोगाउँछन्, त्यो हेर्न बाँकी छ ।

निरज लामाः युवा जोश र रैथाने प्रभाव

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट निरज लामा प्रतिस्पर्धामा छन् । बौद्धका स्थायी बासिन्दा लामा बागमती प्रदेश सभा सदस्य भइसकेका र युवामाझ राम्रो प्रभाव राख्ने नेता हुन् ।

कुलमान घिसिङ र निरज लामा एउटै समुदायका भएकाले यहाँको जनजाति मत बाँडिने सम्भावना प्रबल छ ।

भूगोल र मतदाताः १३ वडाको निर्णायक शक्ति

६४ हजार ४७९ मतदाता रहेको यो क्षेत्र भूगोलका हिसाबले सानो भए पनि राजनीतिक हिसाबले निकै घना छ । यहाँ कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ नम्बर वडा, गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ सम्मका सबै वडा र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ समेटिएका छन् ।

मुख्य मत जोरपाटी र बौद्ध क्षेत्रमा छ । काठमाडौँ–६, गोकर्णेश्वर–५, ६ र ८ नम्बर वडाका मतदाता नै यहाँको निर्णायक देखिन्छन् । सुन्दरीजलबाट आधा काठमाडौँको पानी जाने भए पनि यी क्षेत्रका बासिन्दा अझै खानेपानीको अभावमा छटपटाइरहेका छन् । ढल, फोहोर व्यवस्थापन र सडकको दुरावस्था यहाँका मुख्य चुनावी मुद्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप