उम्मेदवार नै नभएको प्रलोपा गोरखाले बनायो निर्वाचन परिचालन समिति
पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखामा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
प्रत्यक्षतर्फका दुवै क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको प्रलोपाले समानुपातिक भोट माग्न समिति गठन गरेको हो । दुवै क्षेत्रमा छुट्टाछुट्टै समिति गठन भएको जिल्ला संयोजक नारायण खत्रीले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ मा इन्चार्ज यानप्रसाद भट्ट र २ मा संयोजक खत्रीको संयोजकत्वमा समिति बनेको हो । समितिले समानुपातिक उम्मेदवार लिएर घरदैलो गर्नेछ भने आन्तरिक रणनीति बुन्नेछ । प्रलोपाले गोरखाबाट मात्रै ४ जना समानुपातिक सूचीमा समेटेको छ ।
प्रलोपाले निर्वाचन परिचालन सँगै संवाद समिति पनि बनाएको छ । जिल्ला इन्चार्ज यानप्रसाद भट्टको संयोजकत्वमा ३ सदस्यी समिति गठन गरिएको हो । समितिको सदस्यमा जिल्ला संयोजक खत्री र विज्ञ सदस्य पवन रमण खनाल छन् । उनीहरूले आगामी निर्वाचनमा अरू दलहरूसँगको सम्बन्धलाई केलाउनेछन् ।
नागरिकहरूको समेत सल्लाह लिएर यही समितिले प्रत्यक्षतर्फ कसलाई सघाउने भन्ने निर्णय पनि लिनेछ । ‘भोलिदेखि हाम्रो प्रत्यक्ष उम्मेदवार खाली भएको सन्दर्भमा समानुपातिक उम्मेदवार लिएर भोट माग्न निर्वाचन परिचालन समिति बनाएर अगाडि बढ्ने निर्णय गरियो,’ भट्ट भन्छन्, ‘उम्मेदवार खाली भएको अवस्थामा राजनीतिक बहस र संवाद गर्न साथीहरूको प्रस्ताव अनुसार संवाद समिति पनि बनाइएको छ ।’
माओवादीबाट विभाजित भएदेखि नै गठबन्धन गरेर चुनाव लड्दै आएको यो पार्टी अहिले पनि गठबन्धन हुनेमा ढुक्क थियो । उम्मेदवारसमेत बनेका संरक्षक भट्टराईले नेपाली कम्युनिस्ट पार्टीसँग सहयोगको आग्रह गरेका थिए, तर सहयोग नपाउने देखेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । यसअघिको चुनावमा उनै भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग एकता गरेर आफ्नो क्षेत्र छोडेका थिए । त्यसअघि २०७४ मा भने कांग्रेससँग गठबन्धन गरेर उनले चुनाव जितेका थिए ।
आफूले समर्थन नपाएपछि अरू समर्थन गर्ने दलसमेत भेट्टाउन प्रलोपालाई समस्या भएको छ ।
‘अहिले नै ठ्याक्कै यही दललाई समर्थन गर्ने, सहयोग गर्ने भन्ने हाम्रो निर्णय भइसकेको छैन,’ भट्टले थपे, ‘हाम्रो दृष्टिकोणमा उहाँहरूसँगको पुरानो–नयाँ भन्ने सम्बन्ध हुन सक्छ तर वैकल्पिक शक्ति भनेर अरूलाई स्वीकार गर्न नसकिएको अवस्थामा आजै निर्णय गर्नु उपयुक्त हुँदैन ।’
आफ्ना शुभेच्छुकहरूको समेत राय लिएर थप निर्णय लिने प्रलोपाले जनाएको छ । डा. भट्टराई र गोरखा–१ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पार्टीको अपेक्षाभन्दा फरक निर्णय गरेको भन्दै बैठकमै प्रश्न उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण