धनुषा–२ का मतदाता भन्छन्– आफ्नै कामले फुर्सद छैन, के को चुनाव ?
सारांश
- धनुषा-२ का मतदातामा चुनावप्रतिको उत्साह कम देखिएको छ, किनकि विगतका निर्वाचित प्रतिनिधिहरूले काम नगरेको गुनासो छ।
- स्थानीय बासिन्दा विकास र सुविधाहरूको अभावबाट चिन्तित छन्, जसमा सिँचाइ, शिक्षा, र स्वास्थ्य जस्ता आधारभूत कुराहरू समावेश छन्।
- मतदाताहरूले आगामी चुनावमा परिवर्तनको अपेक्षा गरेका छन्, तर उम्मेदवारहरू आफ्नो चुनावी अभियानमा व्यस्त छन्।
जनकपुरधाम । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा धनुषा–२ का मतदातामा कुनै उत्साह देखिएको छैन । विभिन्न दलका उम्मेदवारले मतदातासँगको भेटघाटलाई तीव्रता दिइरहे पनि स्थानीयवासीमा खासै चासो नदेखिएको हो ।
विगतमा चुनाव जितेर गएकाहरूले जनताका आधारभूत समस्या सम्बोधन गर्ने कुनै काम गर्न नसकेका कारण आफूहरूमा चुनावप्रतिको उत्साह घट्दै गएको स्थानीयवासी बताउँछन् ।

धनुषा–२ अन्तर्गत कप्टौलकी ६० वर्षीय सिया सदाले विगतमा आफूले भोट दिएर जिताएकाहरूले जनताको जीवनस्तर उकास्ने कुनै काम गर्न नसकेको बताइन् । ‘हामीले भोट दिएर जिताएपछि कसैले पनि हाम्रो समस्या बुझ्ने प्रयास गरेन । जसलाई जिताए पनि उसले हामीलाई धोका दियो,’ उनले भनिन्, ‘विकासको काम भएन । जितेर गएपछि हाम्रो अवस्था बुझ्न एक पटक पनि फर्केर आएनन् ।’
सडक छेउमा टहरो बनाएर बस्दै आएकी उनका चार छोरी र एक छोरा छन् । छोराछोरीको भविष्य बन्छ कि भनेर श्रीमान् अहिले रोजगारीका लागि भारत गएको उनको भनाइ छ ।

अर्का मतदाता ६३ वर्षीय रामचन्द्र साह पनि गाउँ–टोलमा विकासको प्रत्याभूति हुन नसकेको बताउँछन् । ‘चुनावको समयमा विभिन्न आश्वासन दिन्छन्,’ उनले भने, ‘भोट दिइसकेपछि कुनै पनि नेतालाई हाम्रो समस्याबारे सोच्ने फुर्सद नै हुँदैन ।’
सिँचाइको असुविधाका कारण कृषकलाई मार परिरहेको साहले सुनाए । ‘चुनावका समयमा आएर नेताहरूले बोर्डिङ खनेर सिँचाइ सुविधा उपलब्ध गराइदिने आश्वासन दिएका थिए,’ उनले भने, ‘तर अहिले कम्तीमा दुई बिघा जमिन भएकालाई मात्र बोर्डिङको व्यवस्था हुन्छ रे ! मसँग १० कट्ठा जमिन छ, बाँकी जमिन कहाँबाट ल्याऊँ ?’
नेताहरूले किसानका लागि व्यवस्था गरिएको अनुदानमा पनि आफ्ना नातागोता हेरेर उपलब्ध गराउने गरेको साहको गुनासो छ । ‘हामीजस्ता सर्वसाधारणका लागि यो कागज पुगेन, त्यो कागज पुगेन भनेर फर्काइदिन्छन्,’ उनले भने, ‘नेताका आफन्तका लागि कुनै कागजात चाहिँदैन ।’

औरहीका श्याम साह पनि चुनावको मुखमा नेताहरूले गर्ने बाचाबाट वाक्क भइसकेका छन् । ‘यहाँ बाचा गर्दै भोट माग्न आउँछन्, तर भोट दिइसकेपछि हाम्रो अवस्थाबारे बुझ्ने, हाम्रा कुरा सुन्ने फुर्सद उनीहरूलाई हुँदैन,’ उनले भने ।
स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा नभएको गुनासो गर्दै साहले युवाहरूको भविष्य अन्धकारमय रहेको बताए । ‘हाम्रा गाउँका भाइबहिनीहरूको जीवन अन्धकारमा छ । नेताहरूका छोराछोरी ठुला स्कुल र विदेशमा पढ्छन् । हाम्रा बच्चाको भविष्यसँग खेलबाड भइरहेको छ,’ उनले भने, ‘हामी युवा एकजुट छौँ । अब मतदाताले पनि आफ्नो सोच परिवर्तन गर्ने बेला आइसकेको छ ।’
दिनभर बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्ने रामपरी मलिक र श्याम मलिकलाई चुनाव कहिले हो भन्ने पनि थाहा छैन । आफ्नो जीविकोपार्जनका लागि दैनिक काम गर्दागर्दै फुर्सद नभएको उनीहरूको गुनासो छ । ‘दिनभरि काम गर्दा पनि दुई छाक खाना जुटाउन गाह्रो छ,’ श्याम मलिकले भने, ‘चुनाव जहिलेसुकै भए पनि के गर्नु ? हाम्रो अवस्थामा सुधार आउने होइन रहेछ ।’

बाटो, नाला, सरसफाइको अभाव रहेको सुनाउँदै उनले थोरै जग्गा–जमिन भएकाले पशु चौपायादेखि मानिस एकै ठाउँमा बस्नुपर्ने बाध्यता रहेको बताए । मेहनत गरे अनुसारको आम्दानी हुन नसकेको उनको भनाइ छ ।
यस निर्वाचन क्षेत्रका अधिकांश बासिन्दाको मुख्य पेसा कृषि नै हो । पछिल्ला वर्षमा जङ्गली जनावर, विशेष गरी बँदेलको आतङ्क बढेको छ । सिँचाइ अभावका कारण धान र गहुँ जस्ता खाद्यान्न बालीको उत्पादन घटेको किसानहरू बताउँछन् ।
शहीदनगर नगरपालिका–३ का टोलवासीहरू सडक बाहेक अन्य विकासको काम नभएको गुनासो गर्छन् । केही सडक जीर्ण भए पनि व्यवस्थापन भएको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा भौतिक संरचना फेरिए पनि सेवाको गुणस्तरमा सुधार नभएको उनीहरूको भनाइ छ ।

कमला नगरपालिका निवासी सरिता देवी समाजमा धेरै समस्या रहेको बताउँछिन् । नवयुवाहरू लागु पदार्थको दुर्व्यसनीमा लागेको, शिक्षा तथा स्वास्थ्य सुविधा राम्रो हुन नसकेको उनको भनाइ छ ।
विगतका उम्मेदवारले जितेर गएपछि अपेक्षित काम नगर्दा मतदातामा आसन्न चुनावप्रति खासै उत्साह देखिँदैन । उम्मेदवारहरू भने घरदैलो तथा चुनावी कार्यक्रममा व्यस्त देखिन्छन् ।

धनुषा क्षेत्र नम्बर २ बाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका थिए । उनले २० हजार ११२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत प्राप्त गरेका थिए ।
विगतको मत परिणामलाई आधार मान्दा यो क्षेत्रमा पुराना दल बलियो देखिए पनि जनतामा देखिएको असन्तुष्टिले उनीहरूलाई चुनौती बढाउने प्रस्ट छ ।
धनुषा–२ मा सात पालिकाका विभिन्न ४४ वडा पर्छन् । कमला नगरपालिकाको ९ वटा वडा, जनकनन्दनी गाउँपालिकाको ६ वटा वडा, औरही गाउँपालिकाको ६ वटा वडा, विदेह नगरपालिकाको १ देखि ८ वडा, शहीदनगर नगरपालिकाको ९ वटा वडा, हंसपुर नगरपालिकाको वडा नं. १, ४, ६ र ९ तथा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ र १८ यस क्षेत्रमा पर्छन् ।
यसपालि धनुषा–२ बाट नेपाली कांग्रेसका दिनेश परसैला यादव, नेकपा एमालेका उमाशंकर अरगरिया, नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झा, जनता समाजवादी पार्टीका पशुपति यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रामविनोद साह लगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण