बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ठाकुर गैरेलाई खुलापत्र

आइतबार, १८ माघ २०८२, १३ : ५१
आइतबार, १८ माघ २०८२

सारांश

  • पत्रकार मुक्ति गैरेले ठाकुर प्रसाद गैरेलाई लेखेको पत्रमा समसामयिक राजनीतिक विषय र निर्वाचनबारे चर्चा गरिएको छ।
  • पत्रमा गैरेको राजनीतिक यात्रा, पार्टीभित्रको अन्याय, र संसदीय निर्वाचनको सान्दर्भिकतामाथि प्रश्न उठाइएको छ।
  • पत्रमा निर्वाचन र राष्ट्रघातका मुद्दाहरूमाथि प्रकाश पार्दै 'राइट टु रिजेक्ट' को अधिकारको प्रयोगबारे प्रश्न गरिएको छ।

आदरणीय दाजु ठाकुर प्रसाद गैरे,

नमस्कार एवं अभिवादन !

चुनावी दौडधुप र धपेडीबीच पनि आरामै हुनुहुन्छ भन्ने आशा लिएको छु र पूर्ण स्वास्थ्यको कामना गर्छु। भाउजू र बाबुलगायत सपरिवारको समेत सञ्चो–सुविस्ताको कामना गर्छु।

तपाईंसँग भेट नभएको पनि मङ्सिरमा १ वर्ष पुगेर दुई महिना लागेछ। दाजु, भेट गरेर भलाकुसारी गर्ने मन धेरै नै थियो तर तपाईं एउटा अभियानमा र म अर्को अभियानमा भएकै कारणले सायद हाम्रो भेट यति लामो समयसम्म पनि नभएको होला !

फोनमा कहिलेकाहीँ संवाद भए पनि भेटलाई नजिक बनाउन सायद तपाईं र मेरो आ–आफ्नै अभियानको कार्यव्यस्तताले दिएन होला ! अहिले म पनि एउटा अभियान लिएर हिँडिरहेको छु र तपाईं पनि एउटा अभियानमा हुनुहुन्छ। यसै कारणले प्रत्यक्ष भेट हुन नसके पनि मनमा धेरै कुरा खेलिरहेकाले सार्वजनिक रूपमै तपाईंलाई यो पत्र लेख्दै छु।

यसलाई अन्यथा रूपमा लिनुहुने छैन र यसमा उठाइएका विषयलाई मनन गर्नुहुन्छ भन्ने आशा लिएको छु। साथै यसरी पत्र लेख्न बाध्य भएकोमा क्षमाप्रार्थी छु।

०६३ सालमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित भएर तपाईं परिचर्चामा आइरहँदा म भने त्यस विपरीतको विचारधारामा उभिएको थिएँ। किनभने तपाईं आबद्ध आन्दोलनले उत्पीडितहरूलाई न्याय दिन सकेको थिएन। त्यसै कारण म ०६१ सालदेखि न्यायका निम्ति जनयुद्धको जगमा खडा भएको सङ्गठन अखिल (क्रान्तिकारी) मा आबद्ध भएँ।

तपाईं नेतृत्वको अखिलले विद्यार्थीलाई यातायातमा सहुलियत भाडादर कायम हुनुपर्ने, कालापानी मार्च, सुस्ता बचाउ अभियानदेखि मेची–महाकालीसम्म भारतले गरेको सीमा अतिक्रमणका विरुद्धको अभियान सञ्चालन गरिरहेको थियो। पारस शाहले गायक प्रवीण गुरुङको हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै पाँच लाख २३ हजार हस्ताक्षर सङ्कलन गर्दैगर्दा मलाई हाम्रो परिवारभित्र पनि यति इमानदार राजनीतिज्ञ छन् भनी गर्व लाग्थ्यो।

०६३ सालको अन्तरिम सरकार र अन्तरिम संसद्ले स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा तपाईं सोमप्रसाद पाण्डेको चुनावी कमान्डर भएर लाग्नुभएको थियो। पछि ०७९ मा तपाईंले नै उनलाई पराजित गर्नुपर्ने दिन आयो। म भने त्यतिबेला नेकपा (माओवादी) की उम्मेदवार लीला सोमै बगाले मगरलाई जिताउन दुई नम्बर निर्वाचन क्षेत्रका चुनावी सह–कमान्डर कमरेड रोशन राउटेको स्टाफका रूपमा खटिएको थिएँ।

पछि लीला सोमै बगाले मगर नै विजयी हुनुभयो। अहिले तपाईं उनै छैटौँ पटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसर्थ यसपटकको पाल्पा क्षेत्र नम्बर– २ को चुनाव पनि रोमाञ्चक नै हुनेछ। एकातर्फ नेपाली कांग्रेसका जिल्ला सभापति तथा कुनै समयका नेपाल विद्यार्थी सङ्घका पूर्वनेता हिमालदत्त श्रेष्ठ र अर्कातर्फ चार पटक जितेका, दुई पटक पराजित भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेबीच त्रिपक्षीय भिन्तड सामान्य हुने छैन।

पार्टीभित्रको राजनीतिक यात्रा विभिन्न उकाली–ओराली हुँदै अघि बढिरहे तापनि संसदीय राजनीतिमा तपाईंमाथि अन्याय भएको कसैसामु छिपेको छैन। पाल्पाली जनताले स्पष्ट रूपमा महसुस गर्ने गरी नै अन्यायहरू देखिएका छन्। तपाईं पाल्पाबाट पहिलो पटक सांसद चुनिँदै गर्दा म भने चुनाव बहिष्कारको अभियानसहित नेकपा (बहुमत) को जिल्ला सचिव थिएँ।

यतिबेला नेकपा (एमाले) माथि तीव्र प्रहार भइरहेको छ र त्यसको केही अंश तपाईंले पनि भोग्नु परिरहेको छ। यतिबेला मलाई दिवंगत कम्युनिस्ट आन्दोलनका गुरु आरसी चापागाईंको कथन याद आइरहेछ। उहाँ भन्नुहुन्थ्यो– केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भए भने उनले पार्टी र देश दुवैलाई भड्खालोमा हाल्ने निश्चित छ। सायद उहाँको भनाइ सही थियो। उनकै कार्यकालमा देश सबैभन्दा ठूलो विध्वंसको सिकार हुनुपर्‍यो र पार्टीले यो हविगत बेहोर्नुपरेको छ।

०४९ र ०५१ मा स्ववियु सचिवमा निर्वाचित भएपछि तपाईंको राजनीतिको औपचारिक विजयी यात्रा सुरु भएको थियो। ०५१ सालमा अनेरास्ववियु पाल्पा जिल्ला अध्यक्ष, ०५३ मा केन्द्रीय कमिटी सदस्य, त्यसपछि केन्द्रीय कमिटीको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै ०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित हुनुभयो।

०६६ सालमा बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र दशौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा तपाईं भारी मतका साथ विजयी हुनुभयो। त्यसपछि ०७९ मा पाल्पा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ निर्वाचित हुनुभयो।

०८२ मङ्सिरमा काठमाडौँमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा सचिवमा पराजित भए पनि केन्द्रीय सदस्यमा अत्यधिक मतका साथ विजयी हुनुभयो। त्यसैले तपाईंले चुनावी टिकट पनि अन्तिम समयमा मात्रै पाउनुभयो। पार्टी अध्यक्षले तपाईंलाई टिकट दिन नपरे हुन्थ्यो जस्तो गर्दैगर्दा पाल्पाका तपाईंका पार्टीका नेता–कार्यकर्ता र मतदाताले तपाईंलाई नै रोजेको पाइयो।

तपाईंले प्रतिनिधिसभाको टिकट मागेर, याचना गरेर वा किनेर र गुटबन्दी गरेर पाएको होइन। त्यसैले आगामी दिनमा पनि आफ्नो पार्टी पङ्क्ति र जनताको विश्वासको सम्मान गरिराख्नुहोला।

तथापि नेपालका संसदीय निर्वाचनले जनतालाई राष्ट्रघाती सम्झौताबाहेक केही दिएका छैनन्। नेपालमा पहिलो पटक ०१५ सालमा निर्वाचन भयो। त्यो २००७ सालको राजा, राणा र दिल्लीको त्रिपक्षीय सम्झौताको परिणाम थियो। ०६५ सालको निर्वाचनले विद्रोही माओवादी र सात राजनीतिक दलको दिल्ली सम्झौतालाई संस्थागत गर्दै अङ्गीकृत नागरिकता दिने निर्णय गरेर पुनः राष्ट्रघात गर्‍यो।

०७१ सालमा भएको चुनावले ०६८ सालमा भएको बिप्पा सम्झौतालाई अनुमोदन गरेर अर्को राष्ट्रघाती कदमलाई संस्थागत गरिदियो। ०७४ सालमा भएको चुनावले एमसीसीलाई पास गरेर फेरि अर्को राष्ट्रघाती कदमलाई संसद्बाटै संस्थागत गरिदियो। त्यसैले यहाँ प्रश्न के हो भने यस्ता संसदीय निर्वाचनले जनतालाई के दियो त? यसको सान्दर्भिकता के?

जेन–जी आन्दोलनपछिको ०८२ को निर्वाचनले अमेरिकासँगको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) लाई लागू गराउन भूमिका खेल्ने हो कि भन्ने आशङ्का प्रबल छ। के त्यो अर्को राष्ट्रघात हुँदैन? त्यसैले यस्तो निर्वाचनलाई तपाईं आफैँ कत्तिको उपयुक्त निर्वाचन देख्नुहुन्छ? के हामीले ‘राइट टु रिजेक्ट’ (Right to Reject) को अधिकार प्रयोग गर्न सक्दैनौँ?

यस विषयमा गम्भीरतापूर्वक सोच्नका लागि आग्रह गर्दै आफ्नो कलमलाई यही विश्राम दिन चाहन्छु।

मुक्ति गैरे

बुटवल उप–महानगरपालिका, रूपन्देही।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति गैरे
मुक्ति गैरे
लेखकबाट थप