डिग्रीधारीहरूबिच प्रतिस्पर्धा, मत बदल्ने सुरमा ज्येष्ठ नागरिक
विराटनगर । मोरङको निर्वाचन क्षेत्र ३ बाट २०७४ सालमा एमालेका नेता भानुभक्त ढकालले नेपाली कांग्रेसका डा. सुनिल शर्मालाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरे । त्यसबेला एमालेका ढकाललाई तत्कालीन माओवादी केन्द्रसहितको वाम गठबन्धनले साथ दिएको थियो ।
२०७९ सालको निर्वाचनमा फेरि शर्मा र ढकालबिच नै प्रतिस्पर्धा भयो, गठबन्धन पनि फेरियो । शर्माले उनै ढकाललाई २२ हजारभन्दा बढी मतले पराजित गरे । एमालेका सचिवसमेत रहेका ढकाल हाल सो क्षेत्र छोडेर तेह्रथुम पुगेका छन् । उनको ठाउँमा एमालेले इरान राईलाई उम्मेदवार बनाएको छ ।
२०७९ सालको निर्वाचनमा ढकालको अलोकप्रियतासँगै कांग्रेसका शर्माको लोकप्रियता चुलिएको थियो । आफ्नो लोकप्रियता बढाउन शर्माले आफ्नो स्वामित्वमा रहेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई ५ वर्ष अगाडिदेखि उपयोग गरेका थिए । उक्त अस्पतालमा सो क्षेत्रका जोसुकैलाई नागरिकता देखाएर निःशुल्क उपचार गराए । निर्वाचन क्षेत्रभरमा सयौँ निःशुल्क स्वास्थ्य शिविर चलाए । त्यही बलमा उनले लोकप्रिय मत पाए ।
अहिले पनि डाक्टर शर्माले त्यस क्षेत्रका जनताका लागि त्यो सेवा कायमै राखेका छन् । उनको अहिले अरू एजेन्डा पनि छैन, स्वास्थ्य सेवा अझै सुदृढ गर्ने बताइरहेका छन् । तर मतदाता भने यसपटक शर्मा रोज्ने कि नयाँलाई भन्ने दोधार र विभाजित दुवै अवस्थामा छन् ।
_wNF6y2qDVX.jpg)
देशभर आफ्नो पक्षमा चुनावी लहर बढाउँदै लगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सो क्षेत्रबाट गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले सो क्षेत्रबाट डा. देउमान सम्बाहाम्फेलाई अघि सारेको छ ।
२०७९ सालको निर्वाचनको नतिजा र हालको समानुपातिक मतको अवस्थाले पनि यहाँको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका शर्मा ४८ हजार ६ सय ३१ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका ढकालले २५ हजार ८ सय ९५ मत प्राप्त गरेका थिए ।
तर यसपटकको परिस्थिति फरक छ । अघिल्लो पटक शर्मालाई सहयोग गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीले यसपटक आफ्नै उम्मेदवार डा. सम्बाहाम्फेलाई चुनावी मैदानमा उतारेका छन् । समानुपातिकतर्फको मतलाई आधार मान्दा यहाँ कांग्रेसको २९ हजार ८ सय ५९ र एमालेको २५ हजार २८ मत थियो भने रास्वपाले १४ हजार ४ सय ८ र राप्रपाले ९ हजार ३ सय ७२ मत पाएका थिए । माओवादी केन्द्र र नेकपा (एस) को गरी ८ हजार ६१६ मत समानुपातिकतर्फ यहाँ खसेको थियो ।
स्थानीय तहको निर्वाचनका आधारमा भन्ने हो भने यहाँ एमालेको बलियो पकड देखिन्छ । पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचा सबै पालिका एमालेले जितेको छ । बेलबारीमा उपप्रमुख मात्रै कांग्रेसले जितेको छ । क्षेत्रगत रूपमा पथरी बजार क्षेत्रमा रास्वपाका गणेश कार्कीको चर्चा निकै बलियो छ । नयाँ दल र युवा उम्मेदवार भएकाले रास्वपाले त्यहाँका मतदातालाई आकर्षित गरेको देखिन्छ । बेलबारी बजार क्षेत्रमा एमाले, रास्वपा र कांग्रेसबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ भने कानेपोखरीलाई एमालेले आफ्नो किल्ला मान्दै आएको छ । सुन्दरहरैँचाका केही वडाहरूमा अघिल्लो निर्वाचनमा एमाले, कांग्रेस र रास्वपाले बराबरीजस्तै मत पाएका थिए, त्यसैले यसपटक ती वडाहरू निर्णायक हुनेछन् ।
- नयाँप्रति आकर्षण बढ्दो
यस क्षेत्रमा पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि र नयाँ शक्तिप्रतिको बढ्दो आकर्षणले आगामी निर्वाचनको परिणामलाई निकै रोचक बनाउने सङ्केत देखिएको छ । विशेषगरी बेलबारी, सुन्दरहरैँचा, पथरी शनिश्चरे र कानेपोखरीका विभिन्न वडाहरूमा मतदाताको मनोविज्ञानमा ठूलो परिवर्तन आएको स्थानीयको अनुभव छ ।
बेलबारी–११ का पूर्वशिक्षक योगेन्द्र बाँस्तोलाका अनुसार यसपटक गाउँघरमा मत बदल्ने सोच बनाउनेहरूको सङ्ख्या विगतको तुलनामा अत्यधिक देखिएको छ । करिब ५० प्रतिशत मतदाता नयाँ पार्टीहरूतर्फ आकर्षित भएको दाबी गर्दै उनले पुराना दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा स्थानीयमा व्यापक असन्तुष्टि चुलिएको बताएका छन् ।
_HAmBuLwDp2.jpg)
यो बदलिँदो मनोविज्ञानको प्रभाव बेलबारीका पाका मतदाताहरूमा पनि प्रस्टै देखिन्छ । विगतमा एमालेलाई मतदान गर्दै आएका ८० वर्षीय भोजराज ढकाल यसपटक एमालेलाई मतदान नगर्ने मनस्थितिमा पुगेका छन् भने ८२ वर्षीय भैरव घले पनि अहिले नै कसलाई भोट दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । यद्यपि ८५ वर्षीय षडानन्द घिमिरेजस्ता केही मतदाता भने अझै पनि आफ्नो पुरानो दल कांग्रेसप्रति नै निष्ठावान् देखिएका छन् ।
सुन्दरहरैँचा–१ का श्रीनारायण खवास अबको प्रतिनिधिले पूर्वाधार, बाटो कालोपत्र र अस्पतालको सुधारमा केन्द्रित हुनुपर्ने माग राख्छन् । काम गरेर देखाउनेलाई मात्रै भोट दिने अडानमा रहेका यहाँका मतदाताहरू यसपटक दलीय ह्विपभन्दा पनि उम्मेदवारको योग्यता र नयाँ विकल्पको खोजीमा देखिएका छन् ।
निर्वाचन आयोगको आधिकारिक तथ्याङ्क केलाउँदा यस क्षेत्रको राजनीतिक समीकरण निकै जटिल देखिन्छ । यस क्षेत्रमा कुल १ लाख ५८ हजार ५७ मतदाता छन् । जसका लागि ५५ मतदानस्थल र १७९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । बेलबारी नगरपालिकाका १ देखि ४ र ८ देखि ११ सम्मका वडाहरूमा मतदाताको बाक्लो उपस्थिति छ । जहाँ वडा नम्बर ४ मा सबैभन्दा बढी ७ हजार ३ सय ८१ मतदाता छन् । त्यस्तै सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडामध्ये वडा नम्बर १० मा ८ हजार ५ सय ३० मतदाता छन् भने पथरी शनिश्चरे नगरपालिकाका ८ वटा वडाहरू र कानेपोखरी गाउँपालिकाका ४ वटा वडाहरू यही निर्वाचन क्षेत्रमा पर्छन् ।
_c1q79qyvT0.jpg)
- डाक्टर, पीएचडी र डिग्रीधारीबिच प्रतिस्पर्धा
यसपटक मोरङ–३ को प्रतिस्पर्धालाई उम्मेदवारहरूको शैक्षिक योग्यताले विशेष बनाएको छ । ५८ वर्षीय डा. देउमान सम्बाहाम्फे योग्यतामा सबैभन्दा अगाडि छन् । नेकपाका उम्मेदवार सम्बाहाम्फेले विद्यावारिधि गरेका छन् ।
उनीसँगै मुख्य प्रतिस्पर्धामा रहेका ४८ वर्षीय कांग्रेसका उम्मेदवार शर्माले एमबीबीएस डिग्री हासिल गरेका छन् । उच्च शिक्षा हासिल गरेका डिग्री होल्डरहरूको त यहाँ लर्को नै छ ।
एमालेका ५५ वर्षीय उम्मेदवार इरानकुमार राई (एमए बीएड), राष्ट्रिय ऊर्जाशील पार्टीका ४६ वर्षीय भुवनकुमार वाग्ले (स्नातकोत्तर), रास्वपाका ४० वर्षीय कार्की (स्नातकोत्तर) र संयुक्त नागरिक पार्टीका ४६ वर्षीय विदुर अधिकारी (एमए) ले चुनावी मैदानलाई बौद्धिक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण